राष्ट्रिय ललितकला प्रदर्शनी : तीस हजार बढीले अवलोकन गरे

हिमाल प्रेस ३२ जेठ २०८१ १६:५२
6
SHARES
राष्ट्रिय ललितकला प्रदर्शनी : तीस हजार बढीले अवलोकन गरे

काठमाडौँ- गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सुरु गरेको राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१ मा ३० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्।

यही जेठ १५ गतेदेखि सुरु भएको प्रदर्शनीको अवधि जेठ ३० गतेसम्म तोकिएको थियो। दर्शकको भीड बढ्न थालेपछि ३२ गतेसम्म लम्ब्याइएको छ। आज नै अन्तिम दिन हाे।

यस अवधिमा ३० हजारभन्दा बढी दर्शकले प्रदर्शनीको अवलोकन गरेको प्रतिष्ठानका प्राज्ञ सदस्य एवं मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले जानकारी दिए। उनका अनुसार प्रदर्शनीमा चार सय ८२ कलाकारका पाँच सय २२ वटा कलाकृति राखिएको छ।

‘सामाजिक रुपान्तरण, ललितकलाको अभियान’ भन्ने नाराका साथ भएको प्रदर्शनीमा सातवटै प्रदेशबाट छानिएका कलाकृति समावेश गरिएकाे छ। गत फागुनदेखि सातै प्रदेशमा प्रदर्शनी गरिएको थियो । त्यसअघि सातवटै प्रदेशका कलाकृति छनोट गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रदर्शनीमा कार्टुन पनि राखिएको छ। साथै, देशको वर्तमान अवस्था झल्कने कलाकृतिको बाहुल्यता देख्न सकिन्छ। राहदानी बनाएर विदेश जान विमानस्थलमा लाम लाग्ने अवस्थालाई कलाकृतिका माध्यमबाट देखाइएको छ। नेपालको वर्तमान अवस्थालाई देखाइएका यस्ता कलाकृतिलाई अवलोकनकर्तालाई आकर्षित गरेको छ।

यस वर्षको प्रदर्शनीमा सुरेश लवट (तुलाधर) को २१ तारा शीर्षकको काठको मूर्ति पहिलो भएर सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार प्राप्त गरेको छ। एक सय आठ सेन्टिमिटर उचाइको उक्त कलाकृतिले धेरै दर्शकलाई आकर्षित गरेको थियो।

प्रदर्शनीमा आध्यात्मिक भाव झल्काउने कलाकृति पनि यथेष्ट मात्रामा राखिएका छन्। रसुवाका कलाकार सुवास आचार्यले सूर्य विष्फोट भएर ग्रह, तारा बनेको अवस्थालाई कलाका माध्यमबाट प्रस्तुत गरेका छन्।

प्रतिष्ठानले विसं २०६८ देखि नै गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनी गर्दै आएको छ। प्रदर्शनी अवलोकन गर्ने दर्शक प्रत्येक वर्ष बढ्न थालेका प्रतिष्ठानले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =