मोदीको शपथबाट फर्केलगत्तै प्रचण्डले भेटे पाकिस्तानी राजदूत

हिमाल प्रेस ३१ जेठ २०८१ २२:२४
40
SHARES
मोदीको शपथबाट फर्केलगत्तै प्रचण्डले भेटे पाकिस्तानी राजदूत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बिहीबार सिंहदरबारमा भेट गर्दै पाकिस्तानका राजदूत अबरार एच हास्मी। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी भएर फर्केलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीसँग वार्ता गरेका छन्।

हास्मी प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार अपराह्न सिंहदरबार पुगेका थिए। पाकिस्तान दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई चलायमान बनाउन लागिपरेको छ। सोही क्रममा राजदूत हास्मीले प्रधानमन्त्रीलाई भेटेको दूतावासका अधिकारीहरूले बताएका छन्।

उनीहरूबीच दुई मुलुकबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए। प्रधानमन्त्री प्रचण्ड मोदीको शपथ ग्रहण समारोहमा भाग लिएर सोमबार फर्किएका थिए।

प्रधानमन्त्री प्रचण्ड र राजदूत हास्मीबीच सार्कप्रति भारतीय चासो र आगामी दिनमा सार्कअन्तर्गत रहेर सहकार्य अघि बढाउने विषयमा छलफल भएको थियो।

भारत र पाकिस्तानको सम्बन्ध चिसिएका कारण सार्क शिखर सम्मेलन हुन सकेको छैन। पाकिस्तानले सन् २०१६ मा सार्क शिखर सम्मेलनको सबै तयारी गरेको थियो। भारतले पाकिस्तानको आक्रमणलाई लिएर सार्क शिखर सम्मेलनमा सहभागी हुन अस्वीकार गरेको थियो। यसमा माल्दिभ्स, बंगलादेश र श्रीलंकाले पनि साथ दिएपछि सम्मेलन स्थागित भएको थियो।

१० वर्षदेखि सार्क शिखर सम्मेलन हुन सकेको छैन। यसै विषयलाई लिएर पाकिस्तानले सार्क अध्यक्ष मुलुक नेपालसँग कुरा राखेको दूतावासका एक उच्च अधिकारीले बताए।

प्रचण्ड र हास्मीबीच सार्क, यस क्षेत्रको शान्ति, विकास, राजनीतिक अवस्थाका विषयमा पनि छलफल भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 6 =