श्रमाधान रोजगार मेला : आशावादी देखिएनन् युवा

रमेश भारती २९ जेठ २०८१ १९:०४
94
SHARES
श्रमाधान रोजगार मेला : आशावादी देखिएनन् युवा रोजगार मेलामा आएका युवाहरू।

ललितपुर- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलामा सहभागी युवाले काम पाउने आस नभएको बताएका छन्। मेलामा भेटिएका धेरै युवाले  मेलामा आफ्नो योग्यताअनुसारको काम नभएको गुनासो गरेका हुन्।

मन्त्रालयले ललितपुरमा मंगलबार ‘श्रमाधान रोजगार मेला’ आयोजना गरेको छ। दुई दिनसम्म चल्ने रोजगार मेलामा पहिलो दिन करिब ३ हजारभन्दा बढी युवाले कामका बारेमा जानकारी लिएका छन्।

ललितपुर पाटन क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत तनँहुकी सविता पौडेललाई रोजगार मेलाबाट काम पाइन्छ भन्ने विश्वास छैन। उनले मेलामा काम पाउनेभन्दा पनि रोजगारीका बारेमा बुझ्न मात्र आएको बताइन्। ‘रोजगार मेलामा राखिएका स्टलमा बेरोजगारीलाई भन्दा पनि दक्ष कामदार मात्र खोजिएको छ। सबै स्टलमा सीप भएका कामदार मात्र मागिएको छ। त्यही भएर काम पाउने आस छैन’, उनले भनिन्।

ललितपुरकै जीवन तामाङ पनि रोजगार मेलामा कामको खोजीमा आएका थिए। आईटीमा डिप्लो अध्ययन सके पनि आफू बेरोजगार रहेको उनी बताउँछन्। ‘रोजगार मेलामा दक्ष कामदारका लागि मात्र स्टल राखिएको रहेछ। हामी जस्तो इन्टर्न गर्ने युवाका लागि यहाँ अवसर रहेनछ’, उनले भने।

बालाजुका रवि श्रेष्ठले रोजगार मेलामा अदक्ष युवाका लागि अवसर नभएको गुनासो गरे। ‘मेलामा सबैलाई समेट्नुपर्ने हो तर यहाँ दक्षलाई महत्त्व दिइएको रहेछ। सबै स्टलमा सीप भएका युवालाई मात्र प्रथामिकतामा राखेको पाइयो’, उनले भने। मेलाका बारेमा जस्तो विज्ञापन गरियो, वास्तवमा त्यस्तो नभएको उनको आरोप छ।

भक्तपुरबाट श्रमाधान मेलामा आएकी अमृता मगर पनि विज्ञापनमा भनिए जस्तो मेलामा रोजगारीका अवसर नभएको आरोप लगाउँछिन्। मेलामा बेरोजगारीलाई भन्दा तालिम लिएका युवालाई अवसर रहेछ। हातमा सीप नभएका युवाले मेलाबाट रोजगारी पाउने आस गर्नु व्यर्थ हुने उनले बताइन्।

‘श्रमाधान मेलामा दक्ष, केही वर्ष काम गरेका, अनुभव भएका र तालिम लिएकाको मात्र माग छ। सीप नभएका युवालाई भ्रम छर्न मात्र विज्ञापन गरिएको रहेछ’, उनले भनिन्।
मेलामा रोजगारी पाइन्छ जस्तो नलागेपछि कामका लागि आवेदनसमेत नभरेको उनको भनाइ छ।

रोजगार मेलामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एसोसिएसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी र नेपाल घरेलु तथा साना उद्योग महासंघ सहभागी छन्। मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल रहेको श्रम मन्त्रालयले जनाएको छ।

मेला उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले गरिन्। उनले श्रमाधान मेलाले बेरोजगार युवालाई रोजगारदाता कम्पनीसँग जोड्न पुलको काम गर्ने बताइन्।

जेठ १७ गतेदेखि कोशी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला बागमती प्रदेशको ललितपुरमा भोलि सकिँदैछ। मेलाबाट १० हजारभन्दा बढीले रोजगारी पाएको श्रम मन्त्रालयले जनाएको छ। रोजगार मेलालाई सामी परियोजना, प्रदेश सामाजिक विकास मन्त्रालय र अन्य संस्था सहयोग गरेका छन्।

प्रकाशित: २९ जेठ २०८१ १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =