एफएनसीसीआईले काठमाडौँमा रोजगार मेला गर्ने

हिमाल प्रेस १३ जेठ २०८० १४:५९
2
SHARE
एफएनसीसीआईले काठमाडौँमा रोजगार मेला गर्ने

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले काठमाडौँमा रोजगार मेला गर्ने भएको छ। यही जेठ १६ र १७ गते एफएनसीसीआईको टेकुस्थित सचिवालयमा मेला गर्न लागेको हो।

नेपाल सरकार र अन्तर्राष्ट्रिय श्रम संगठनसँगको आयोजनामा मेला गरिने एफएनसीसीआईले जानकारी दिएको छ। जेठ १६ गते बिहान मेलाको उद्घाटन गरिनेछ।
मेलामा रोजगार सेवा केन्द्र एवं ‘मेरो जब’को प्राविधिक सहायता रहने बताइएको छ।

मेलामा काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहनेछ। कामको खोजीमा रहेका युवालाई प्रमुख कम्पनीहरूमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने उद्देश्यले मेला आयोजना गरिने महासंघको भनाइ छ।

त्यस्तै नयाँ अवसरहरूको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गर्न लागिएको महासंघको भनाइ छ।

मेलामा १०० भन्दा बढी कम्पनीको सहभागिता रहने र कामको खोजीमा रहेका ५ हजारभन्दा बढी युवालाई अवलोकन गराउने लक्ष्य राखिएको एफएनसीसीआईको भनाइ छ।

प्रकाशित: १३ जेठ २०८० १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 16 =