उद्धार गरिएको चित्तलको बच्चा बाँकेकाे वन कार्यालयमा

हिमाल प्रेस २९ जेठ २०८१ १४:३८
12
SHARES
उद्धार गरिएको चित्तलको बच्चा बाँकेकाे वन कार्यालयमा

जानकी (बाँके)- यही जेठ ११ गते वैजनाथ गाउँपालिका वडा नं २ मकैबारीस्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा उद्धार गरिएको चित्तलको बच्चालाई सशस्त्र वन रक्षकको निगरानीमा राखिएको छ।

चित्तलको बच्चालाई मकैबारी गाउँबाट कोहलपुर सव–डिभिजन वन कार्यालयका कर्मचारी र शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह प्रतिनिधिको संयुक्त सहकार्यमा उद्धार गरिएको थियो। सहायक वन अधिकृत नवराज शाहीका अनुसार उद्धार गर्दा उक्त चित्तलको बच्चा अन्दाजी डेढ महिनाको थियो।

बाटो बिर्सिएर सामुदायिक वन क्षेत्रबाट गाउँमा पसेको बच्चालाई वन कार्यालयका कर्मचारीले उद्धार गरेका थिए। उक्त चित्तलको बच्चाले दिनमा दुईदेखि तीन लिटरसम्म दूध खाने गर्दछ। खानाको परिमाण दिनानुदिन बढेको हुँदा उसले खाने दूधको मात्रा पनि बढिरहेको सहायक वन अधिकृत शाहीले बताए।

​‘यो मान्छेसँगै हिँडडुल गर्ने बानी परिसकेको छ, यसलाई पुनः निकुञ्जमा छाड्दा गाउँबस्तीमा आउने र मान्छेको पछि लागेर जानसक्ने सम्भावना रहन्छ’, उनले भने, ‘मान्छेसँग पछि लागेर जाँदा यसलाई खतरा हुनसक्छ। त्यसैले यसको सुरक्षा र संरक्षणका लागि यही नै राख्नुपर्ने देखिन्छ।’

डिभिजन वन कार्यालय अन्तर्गतको सशस्त्र वनसुरक्षा शाखाको प्रत्यक्ष हेरचाहमा रहेको चित्तलको बच्चालाई दैनिक खाना खुवाउने, डुलाउने र हेरचाह सोही शाखाले गर्दै आएको छ। बिहान र बेलुका गरी दिनमा दुई पटक उक्त चित्तलको बच्चालाई चरिचरणका लागि केजबाट बाहिर निकाल्ने गरिन्छ भने बाँकी समय केजमै राख्ने गरिएको छ। रासस

प्रकाशित: २९ जेठ २०८१ १४:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =