‘आईपीभी खोप’ लगाउन बालबालिकाको उत्साहजनक सहभागिता

हिमाल प्रेस २९ जेठ २०८१ ९:२९
2
SHARE
‘आईपीभी खोप’ लगाउन बालबालिकाको उत्साहजनक सहभागिता प्रतिनिधिमूलक तस्बिर।

पर्सा- पर्सामा पोलियो रोगविरुद्धको आईपीभी खोप शतप्रतिशतकै हाराहारीमा बालबालिकालाई लगाइएको दाबी गरिएको छ।

जिल्लास्तरीय खोप समन्वय समिति सचिवालय पर्साले गत यही जेठ १३ देखि २७ गतेसम्म पोलियो खोप अभियान सन्चालन गरेको थियो।

पर्सा स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले जिल्लामा पोलियो रोगविरुद्धको आईपीभी खोपमा बालबालिकाको उत्साहजनक सहभागिता रहेको बताए।

‘जिल्लाको १४ वटै पालिकामा आईपीभी खोपमा बालबालिकाको सहभागिता निकै उत्साहप्रद रह्यो’, उनले भने, ‘हामीले खोप लगाएका बालबालिकाको प्रारम्भिक तथ्यांकले पनि शतप्रतिशतकै हाराहारीमा पुग्ने देखिएको छ। अहिलेसम्म अन्तिम तथ्यांक भने आइसकेको छैन।’

विसं २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएर पनि आईपीभी खोप लगाउन बन्चित बालबालिकालाई लक्षित गरेर खोप अभियान सन्चालन गरिएको थियो। जिल्लास्तरीय खोप समन्वय समिति सचिवालयले पर्सा जिल्लाका ३१ हजार आठ सय १२ जना बालबालिकालाई आईपीभी खोप लगाउने लक्ष्यसहित अभियान सुरुआत गरेको थियो।

प्रमुख डा साहले खोप अभियानमा लक्ष्यभन्दा पनि केही प्रतिशत बढी बालबालिकामा खोप लगाइएको दाबी गरे।

‘वीरगन्जमा अन्य क्षेत्रबाट बालबालिका आउने क्रम धेरै हुने भएकाले पनि लक्ष्यभन्दा धेरै बालबालिकाले खोप लगाउन पाएका छन्’, उनले भने, ‘खोप अभियानका क्रममा कुनै पनि प्रकारको अवाञ्छित घटना भएन। सबै निकायको समन्वय र सहकार्यमा खोप अभियानलाई सफलतापूर्वक अघि बढाउन सक्यौँ।’

पर्सामा पहिलो चरणमा जेठ १३ देखि १६ गतेसम्म वीरगन्ज महानगरको १ देखि १६ सम्मको वडामा खोप अभियान सन्चालन गरिएको थियो। त्यस्तै सोही अभियानमा बहुदरमाई नगरपालिका सहित विन्ध्वासिनी , पकहामैनपुर, छिपहरमाई, कालिकामाई, धोबिनी र ठोरी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो।

त्यस्तै दोस्रो चरणमा भने जेठ २३ देखि २६ गतेसम्म सन्चालन गरिएको थियो। सोही अभियानमा पोखरिया र पर्सागढी नगरपालिकासहित जिराभवानी , जगरनाथपुर, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकाका बालबालिकाममा खोप लगाइएको थियो। सोही अभियानमा वीरगन्ज महानगरपालिका–१७ देखि ३२ नम्बर वडा क्षेत्रमा खोप लगाइएको थियो।

यस्तै, जेठ २७ गते छुटफुट भएका बालबालिकालाई खोप लगाइएको थियो। पोलियो रोगविरुद्धको खोप दुई प्रकारका रहेका हुन्छन्। मुखबाट खुवाइने पोलियो खोप (ओपीभी) सुईबाट दिइने पोलियो खोप (आईपीभी) भन्ने गरिन्छ।

प्रकाशित: २९ जेठ २०८१ ९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =