यसकारण देश छाड्न आतुर छन् नर्सहरू

रमेश भारती २९ जेठ २०८१ १५:१६
84
SHARES
यसकारण देश छाड्न आतुर छन् नर्सहरू

काठमाडौँ– नर्सिङ पेसामा सेवासुविधा नपाएपछि धेरै नेपाली नर्स वैदेशिक रोजगारीमा जान थालेका छन्। नाम चलेका अस्पतालमा कार्यरत नर्स पनि रोजगारी छाडेर वैदेशिक रोजगारीको खोजीमा लाग्न थालेका हुन्। यसरी देश छाड्ने तयारीमा रहेकामध्ये एक हुन् झापा झिलझिलेकी कविता लिम्बू।

उनी दुई वर्षयता झापास्थित बिर्तामोडको बिर्तासिटी हस्पिटलमा नर्सिङ काम गर्दै आएकी छिन्। उनलाई बिर्तासिटी हस्पिटलले मासिक १७ हजार तलब दिएको छ। यो तलबले सामान्य खर्चमात्र चल्ने गरेको लिम्बू बताउँछिन्।

ठूलो खर्च गरेर नर्सिङ अध्ययन पूरा गरी नेपालमै काम गर्छु भन्दा पनि न्यून पारिश्रमिकसमेत नपाउँदा वैदेशिक रोजगारीमै जानुपर्ने बाध्यता आइलागेको लिम्बूले बताइन्। ‘नर्सिङ अध्ययनका लागि १० लाख रुपैयाँसम्म खर्च हुन्छ। तलब भने १५–२० हजार मात्र हुन्छ। त्यही भएर पनि अहिले नर्सिङ पेसा छाडेर धेरै नर्स बिदेसिने थालेका छन्’, उनले भनिन्। काम पनि नातागोता र भनसुनमा मात्र पाइने भएका कारण बिदेसिनुको विकल्प नरहेको उनले सुनाइन्।

लिम्बूजस्तै राजधानीको नाम चलेकै एक अस्पतालमा कार्यरत धादिङकी सुनिता मगर वैदेशिक रोजगारीमा जाने तयारीमा छिन्। उनले नर्सिङ कामकै लागि यूएई जान म्यानपावर कम्पनीमा राहदानी बुझाएको जानकारी दिइन्। ‘नेपालमा मासिक २० हजार तलब छ। त्यति पैसा त घरभाडा र सामान्य खाजामै सकिन्छ। विदेश जाँदा मासिक ८० हजारमाथि कमाइ हुन्छ रे’, उनले भनिन्, ‘अब उतै जाने हो। दुःख भए पनि पैसा त कमाइन्छ।’

नर्सले धेरै काम गरे पनि सेवासुविधा थोरै मात्र पाउँछन्। यही समस्याका कारण धेरै नर्स वैदेशिक रोजगारीमा गइरहेको उनको भनाइ छ।

सरकारी अस्पतालमा कार्यरत नर्सले न्यूनतम तलब र सुविधा पाइरहे पनि निजी अस्पतालमा काम गर्ने नर्सहरूको अवस्था दयनीय भएको काठमाडौँकै एक निजी अस्पतालमा कार्यरत गोरखाकी कविता घिमिरे बताउँछिन्। ‘काम पाए पनि तलबसुविधा राम्रो नहुँदा सिनियर नर्सहरू पनि बिदेसिन थालेका हुन्। विदेशमा नेपालको भन्दा चार गुणा तलब, सेवासुविधा हुन्छ। त्यही भएर पनि नर्सिङ पढेका नर्स देश छाड्न आतुर छन्’, उनले भनिन्।

घिमिरे नर्सिङ रोजगारीका लागि बेलायत जाने तयारीमा छिन्। उनी गत कात्तिकमा बेलायतले लिएको परीक्षामा उत्तीर्ण भएकी हुन्।

नर्सिङ एसोसिएसन अफ नेपालकी अध्यक्ष मनाकुमारी राईले ठूलै खर्च गरेर नर्सिङ अध्ययन पूरा गरेका र न्यून पारिश्रमिकमा काम गर्दै आएका नर्सहरू धमाधम विदेश पलायन हुन थालेको बताइन्। दक्ष नर्सलाई विदेशमा प्रशस्तै अवसर हुने भए पनि नेपालमा भने अझै बेरोजगार नै बस्नुपर्ने अवस्था छ। त्यही भएर धेरै नेपाली नर्स काम छाडेर वैदेशिक रोजगारीमा गइरहेको राईले बताइन्। ‘पढाइ सक्नेबित्तिकै नेपाली नर्सहरू वैदेशिक रोजगारीमा जान थालेका छन्। कतिपय नर्स कामसमेत छाडेर विदेश गइरहेका छन्’, उनले भनिन्।

नेपाल नर्सिङ परिषद्‌मा १ लाख १३ हजार ३७६ जना नर्स दर्ता छन्। जसमा स्टाफ नर्स ७३ हजार ८८९ र अनमी ३७ हजार २३६ जना रहेको परिषद्को तथ्यांक छ। यीमध्ये ३० हजारभन्दा बढीले विदेश जान पाऊँ भन्दै परिषद्‌बाट ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिएका छन्।

परिषद्‌मा दर्ता भएकामध्ये तीन वर्षमा ३० हजारभन्दा बढी नर्स वैदेशिक रोजगारीमा गएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेल नर्सिङ पेसामा संलग्न नर्सहरु नेपालमा तलबसुविधाको समस्या भएपछि वैदेशिक रोजगारीमा जान थालेको बताउँछन्।

उनका अनुसार पछिल्लो समय नर्सहरूले खर्च गरेर पढेअनुसारको सेवासुविधा नपाएपछि काम छाडेर बिदेसिन थालेका छन्। पढाइअनुसारको आम्दानी हुनुपर्छ भन्ने मानसिकता पलाएका कारण विदेश जाने नर्सको संख्या वार्षिक रूपमै बढ्न थालेको उनले बताए। नेपालबाट वार्षिक ४ देखि ५ हजार नर्सहरु वैदेशिक रोजगारीमा जाने गरेको अनुमान भुर्तेलको छ। नेपालका अधिकांश नर्सहरू कामका लागि युरोप, अमेरिका, अस्ट्रेलिया, जापान, खाडी देश, मलेसिया, अफ्रिकालगायतका देशमा  जाने गरेका छन्।

प्रकाशित: २९ जेठ २०८१ १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =