प्रवासी नेपालीको अनुभव शृंखला : १

शासकले चाहँदैमा रोकिन्न युवा पलायन

दीपक पौड्याल २९ जेठ २०८१ ५:५२
2.1k
SHARES
शासकले चाहँदैमा रोकिन्न युवा पलायन

सन् २००० को सिड्नी ओलम्पिक्सपछि मात्र हो, नेपालमा मेरो पुस्ताले अस्ट्रेलियाप्रति चासो देखाएको। यद्यपि त्यसबेला नेपालबाट विदेश पढ्न जान चाहने धेरैजसोको रोजाइ अमेरिका नै हुन्थ्यो। त्यसपछि बेलायत थियो।

मैले विद्यालय शिक्षाचाहिँ स्याङ्जाबाट पूरा गरेको हुँ। त्यसपछि क्याम्पस पढ्न काठमाडौँ गइयो। पढाइ सकेपछि नेपालमै पनि करियर बनाउन त सकिन्थ्यो। किनभने त्यसबेला निजी क्षेत्रका ब्यांक खुल्ने र तिनका शाखा विस्तार हुने क्रम बढेको थियो।

एमबीएसपछि मैले पनि एउटा बैंकको जागिरका लगि आवेदन दिएको थिएँ। मलाई अझै सम्झना छ, आठ पदका लागि करिब सात-आठ सय मान्छे परीक्षा दिन आएका थिए। परीक्षा केन्द्र नयाँ बानेश्वरको एपेक्स कलेजमा थियो। मचाहिँ सफल भइनँ। जागिरका लागि थप प्रयास गरिएन। केही महिनापछि त अस्ट्रेलिया आइहालियो।

त्यसबेला र अहिले आउने विद्यार्थीबीच धेरै फरक छ। अस्ट्रेलिया नै पनि फरक हुने भइहाल्यो। हामीसँग इन्टरनेटको पहुँच थिएन। सामाजिक सञ्जाल त झन् के हुन्थ्यो। त्यसैले पनि हामीसँग यो देशबारे सीमित जानकारी थियो। जे जति थाहा पाइयो, जानियो त्यो कन्सल्टेन्सी र यहाँ भएका साथी, नातागोताबाट थियो।

अहिले आउने भाइबहिनीहरूलाई धेरै कुरा थाहा हुन्छ। उनीहरू अस्ट्रेलिया पुगेपछि ठ्याक्कै कुन गल्लीमा बस्ने हो, विश्वविद्यालय कता छ, कामको प्रकृति के हुनसक्छ मात्र होइन, भविष्यमा के गर्न सकिन्छ, पीआर कसरी पाइन्छ सबै जानकारी बटुलेर आएका हुन्छन्। सचेत हुन त ठिक हो। तर ‘ओभर इन्फरमेसन’ले घाटा पनि हुन्छ। धेरै कुरा थाहा हुँदा अपेक्षा बढ्छ र सबै अपेक्षा पूरा हुँदैनन्। त्यसपछि त युवा विद्यार्थीमा निराशा पैदा भइहाल्छ।

मैले सुरुवाती दिनहरू बिर्सिएको छैन। सिड्नी विमानस्थलमा गाउँकै एकजना दाइ लिन आउनुभएको थियो। लिड्कम भन्ने ठाउँमा बसाइ थियो, जहाँबाट ओलम्पिकपार्क खासै टाढा थिएन। त्यही ओलम्पिकपार्क जहाँ अस्ट्रेलियाले सन् २००० को विश्व खेलकुदको महाकुम्भ सफलतापूर्वक आयोजना गरेको थियो।

त्यसअघि अन्तर्राष्ट्रिय उडानमा यात्रा गरेको अनुभव थिएन। सिड्नी झर्दा अलौकिक ठाउँमा आइपुगे जस्तो लाग्यो। अस्ट्रेलिया अद्भूत भूमि नै हो कि भन्ने अनुभूति भयो। सिड्नी आइपुगेको दोस्रो दिन ओप्रा हाउस गइयो। अस्ट्रेलियाको क्रिकेट पछ्याउने भएकाले थोरबहुत ओप्रा हाउसजस्ता ‘आइकनिक’ ठाउँबारे थाहा थियो। भविष्यमा के हुन्छ थाहा थिएन। तर यहाँको सुरुवाती अनुभवले अवाक् बनाएको थियो।

दुईचार दिन घुमघाम गरे पनि त्यसपछि पढाइतिर लाग्नु नै थियो। सुरुवातका ती दिन कठिन थिए। हुन त हरेक पुस्ता, हरेक व्यक्तिको आफ्नै खालको संघर्ष हुन्छ। तर तुलनात्मक रूपमा अहिलेभन्दा त्यसबेला कठिन थियो। एक त हामीसँग सूचना कम थियो। काम पाउन यसै पनि गाह्रो हुने भइहाल्यो।

त्यसबेला एक्लै आउने चलन थियो। अहिले जस्तो पार्टनरसँग आउने भएको भए केही न केही सजिलो हुन्थ्यो। विश्वविद्यालयको पढाइ, कक्षा, असाइन्मेन्ट, काम, यी सबै कुरालाई व्यवस्थापन गर्न सजिलो थिएन। हुन त नेपाली विद्यार्थी भएर सोच्दा त्यसलाई त्यति धेरै दुःखका रूपमा लिइएन। तर अस्ट्रेलियाली नजरमा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि स्थिति सजिलो थिएन।

अचेल सोधिन्छ- किन यत्तिको संख्यामा नेपाली विद्यार्थी विदेश पलायन भइरहेका छन्? यसको कारण फगत शिक्षामात्र होइन, अवसरका लागि पनि हो। भूमण्डलीकरणको युग छ, मान्छेले विश्वभरको सूचना र जानकारीमा पहुँच राख्छ। आधुनिक विश्वमा आफू कहाँ छु भनेर खोज्छ। यो स्वाभाविक हो, मान्छे अवसर खोजेर हिँड्छ नै।

उतिबेला यहाँ आएका विद्यार्थी र अहिले आएकाहरूबीच मानसिकतामा फरकचाहिँ छ। त्यसबेला हाम्रो मस्तिष्कमा ‘माइग्रेसन’ हुँदैन थियो। पढ्ने हो, अनि करियर बनाउन प्रयास गर्ने हो भन्ने हुन्थ्यो। त्यसबेला पढाइ सकेर, त्यहीअनुसारको काम गरेपछि, अनुभव बटुलेपछि पीआरका लागि योग्य भइन्थ्यो। बाटो सीधा थियो। हामीलाई पीआर पाइन्छ कि पाइँदैन भन्दा पनि पढाइ पूरा गर्न सकिन्छ कि सकिँदैन भन्नेमा चिन्ता हुन्थ्यो। अहिले त विद्यार्थी उतैबाट पीआरको चिन्ता बोकेर आएका हुन्छन्।

अहिलेको पुस्ता महत्त्वाकांक्षा धेरै राख्छन्। यहाँ आउँदा उनीहरूसँग पूरा गर्नै नसकिने महत्त्वाकांक्षाको चाङ हुन्छ। कोभिड कालले त झन् यो देशको महत्त्व झनै बढायो। सामाजिक सञ्जालतिर मान्छेहरू अस्ट्रेलियामा त भाँडा माझेर पनि यति पैसा कमाउन सकिन्छ भन्थे। विद्यार्थीको अपेक्षा बढाउने एउटा कारण यो पनि हो। यहाँ के बुझ्न आवश्यक छ भने थोरैले मात्र भन्नेबित्तिकै चाहेको सफलता पाउन सक्छन्। बाँकीले त लामो संघर्षकाल पूरा गर्नु नै छ।

केही वर्षयता अस्ट्रेलियाली शिक्षा क्षेत्रमा निजी क्षेत्रको उपस्थिति बढेको छ। गल्लीगल्लीमा कलेज छन्। पहिले यस्तो थिएन। सरकारी विश्वविद्यालयका सीमित क्याम्पस र संकाय थिए। अहिलेचाहिँ विकल्प धेरै छन्, जे पढ्छु भन्यो त्यो पढ्न पाइन्छ। सँगसँगै कठिनाइ पनि छ, कुन विषय पढ्दा पीआर पाइन्छ भन्ने थाहा हुँदैन किनभने सरकारको रणनीति परिवर्तनशील हुन्छ।

अहिले विषयको विकल्प त बढ्यो तर पीआरको सम्भावना पातलियो। पहिले सीमित विषय पढ्न पाए पनि पढाइ पूरा गरेपछि पीआरको बाटो सजिलो थियो। यसकारण हाम्रो पुस्तालाई भाग्यमानी मान्नुपर्छ।

त्यसबेला मैले अकाउन्टिङ पढाइ सकिनासाथ काम पाइहालेँ। जसले मलाई पीआर लिन सहयोग गर्‍यो। अहिले मेडिकल साइन्स विषय पढेमात्र पीआरको बाटो सजिलो छ। अरूलाई त काम पाउन पनि गाह्रो छ। भारत, पाकिस्तान, बंगलादेशबाट आउने विद्यार्थीसँग नेपालीले कडा प्रतिस्पर्धा गर्नुपरिरहेको छ। उनीहरू कतिपय कुरामा हामीभन्दा अब्बल छन्।

दीपक पौड्याल

अस्ट्रेलियामा शुल्कअनुसारको शिक्षा छ। राम्रा विश्वविद्यालय स्वाभाविक रूपमा महँगा हुन्छन्। महँगा र सस्ता विश्वविद्यालयको पढाइ र पूर्वाधारमा फरक हुन्छ। प्रोफेसरको स्तरको कुरा आउँछ। विद्यार्थी सर्कलको कुरा आउँछ। राम्रो विश्वविद्यालयमा संगत राम्रो हुन्छ। रोजगार बजारमा एक स्तरको कनेक्सन स्थापित हुन्छ। विश्वविद्यालयको ब्रान्डको कुरा आउँछ नै। व्यापारिक र औद्योगिक क्षेत्रको नजर राम्रा विश्वविद्यालयमाथि हुन्छन्। फेरि यहाँ राम्रो जागिर पाउन सिफारिस पनि चाहिन्छ। यो देशमा सिफारिसको महत्त्व छ। यसका तीन कारण छन् : ‘कस्ट सेभिङ’, ‘रेस्पोन्सिबिलिटी’ र ‘हु यु नो’।

उसो त नेपाली विद्यार्थी पढाइअनुसारको जागिर पाउन प्रयास पनि कम गर्छन्। पढाइ सकेपछि जागिरका लागि मैले कम्तीमा १५० ठाउँमा आवेदन दिएको थिएँ। जागिर पाउन समय लाग्छ। आफू प्रतिबद्ध पनि हुनुपर्‍यो। डिग्री लिएर मात्र पनि हुँदैन, विभिन्न तालिम वा छोटा कोर्स पनि गर्नुपर्छ।

विद्यार्थी र युवा पलायन

पलायनका दुई कारण छन् : पुल फ्याक्टर  (आकर्षण) र पुस फ्याक्टर (आवश्यकता)। विकसित देशसँग पुल फ्याक्टर हुन्छ। उनीहरूसँग रोजगारी र अवसरको ठूलो बजार छ। पूर्वाधार छन्। उनीहरू भाषा जानेका, युवा उमेरका, काम गर्नसक्ने, शिक्षित मान्छेलाई आफ्नो देशमा ल्याउन खोज्छन् नै। नेपालले पनि त्यही गर्थ्यो धनी भएको भए। विकसित देशलाई सधैँ यस्ता मान्छे चाहिन्छ। अस्ट्रेलियालाई प्रत्येक वर्ष ३०-४० हजार युवा जनशक्ति आवश्यक पर्छ। युवा तथा स्वस्थ जनसंख्याबिना त विकसित देश राम्रोसँग सञ्चालन हुन सक्दैन।

नेपालसँग चाहिँ पुस फ्याक्टर छ। रोजगारीका अवसर कम छन्। त्यहाँ बसिरहेका युवाले विदेश गएका साथीभाइको प्रगति हेरेका हुन्छन्। कुरा आर्थिक सुरक्षाको मात्र पनि होइन, व्यक्तिगत वृत्ति विकास पनि हो। अहिलेको पुस्ता यी कुराले लोभिन्छ नै।

विकसित देशको जनसंख्या प्रौढ हुँदैछ। जबकि नेपालजस्ता देशसँग युवा जनसंख्या छ। कसैले हुर्काएर, पढाएर, तयार पारेर राखेको युवा आफूतिर तान्न सकिन्छ, काममा लगाउन सकिन्छ भने विकसित देशले तिनलाई आफूतिर तान्छन् नै। अस्ट्रेलियामात्र होइन, अमेरिका, बेलायत, क्यानडाले पनि त्यही त गरिरहेका छन्।

यसकारण नेपालबाट युवा पलायन रोकिँदैन। रोक्ने प्रयास भयो भने विद्रोह हुन्छ। भूमण्डलीकरणको युगमा मान्छे एक ठाउँबाट अर्को ठाउँमा जान चाहन्छ। विकसित देशका अनेकौँ पक्ष अनुभव गर्न चाहन्छ। हो, पलायन नियन्त्रण गर्न सरकारले कडाइ गर्नसक्छ, तर यसको फाइदा अल्पकालीन हुन्छ। कालान्तरसम्म पनि मान्छे देश छाडेर हिँड्छन् नै। रोक्न सम्भव छैन।

फेरि ‘रिभर्स ब्रेन ड्रेन’ नहुने भन्नेचाहिँ छैन। ‘रिभर्स ब्रेन ड्रेन’ हुन्छ। चीन यसको उदाहरण हो। भारत पनि त्यही बाटोमा छ। देशले वातावरण र अवसर सिर्जना गरेमा मान्छे फर्कन्छन्। तर यो स्वतः हुने प्रक्रिया हो। जबरजस्ती हुने कुरा होइन। जानकारी र सूचनाले भरिएको यो पुस्ता विदेश जान्छ, कुनै शासकले मान्छेको पलायन रोक्न सक्दैनन्। तर शासन चलाउनेले अवसर सिर्जना गरे, युवा पढाइ सकेर, विदेशी भूमिमा पाएको भौतिक सुविधा छाडेर देश फर्कन्छन्।

अहिले सामाजिक सञ्जालले पनि पलायनमा भूमिका खेलेको छ। साथी अस्ट्रेलिया पुगेको भोलिपल्ट बोन्डाई बिच घुमेको फोटो हाल्छ। उता नेपालमा हुने किशोरको मन त चसस्क भइहाल्छ। युवा मानसिकताको कुरा त हो। यद्यपि मानव मनोविज्ञानलाई नै पलायनको मुख्य कारण भने मान्न सकिँदैन मुख्य कारण त उही अवसरको खोजी, व्यक्तिगत वृत्ति विकास र आर्थिक सुरक्षा हुन्।

मान्छेले काम गरेपछि रिवार्ड खोज्छ। विदेशमा काम गरेपछि रिवार्ड पाइन्छ। भौतिक सुविधालाई रिवार्ड मान्न सकिन्छ। अरू कुरा पनि छन्। नेपालमा भन्छन्, यी बच्चाहरू विदेश गएपछि मात्र काम गर्छन्। नेपालमै अवसर पाए गर्छन् नि। हामी पनि गर्थ्यौँ होला। उनीहरूलाई स्तरअनुसारको काम नै लगाइँदैन। अवसर पाउने त काम गरिरहेका छन्। अवसर नपाएपछि बाहिरिन्छन्। नेपालमा करिब पाँच-छ लाखले कक्षा १२ पास गर्छन्। उनीहरूका लागि हुने खालको कति रोजगारीका अवसर हामी सिर्जना गरिरहेका छौँ? प्रश्न यहाँनेर छ। अतः अब कुनै नेता वा विद्वान्‌ले आह्वान गर्दैमा मान्छे देशभित्र अडिने समय छैन।

नेपालमा आफ्ना बच्चाहरुको एक वा दुई सेमेस्टरको फी तिरिदिनसक्ने धेरै परिवारको हैसियत छ। २०४६ पछि नेपालको सामाजिक र आर्थिक क्षेत्रमा केही न केही परिवर्तन भएकै छ। जग्गाको मोल बढेको छ। रोजगारीको सिलसिलामा धेरै मान्छे विदेश पुगेका छन्। उता कमाएको पैसा खर्च गरेर भए पनि बच्चालाई विदेश पठाउन सक्छन्। तर यहाँ आएपछि उनीहरूका बच्चाले पढिरहन सक्छन् वा सक्दैन, त्यो अलग कुरा हो।

यद्यपि अस्ट्रेलियामा समग्रमा नेपाली विद्यार्थीको अवस्था ठिक छ। केही संघर्षरत त हुन्छन् नै। शतप्रतिशतको राम्रो त हुँदैन। अप्ठ्यारामा परेका केहीलाई म पनि सकेको सहयोग गरिरहेको हुन्छु। म यतिचाहिँ भन्नसक्छु, अस्ट्रेलियामा समुदायका रूपमा नेपालीको इज्जत छ। डायस्पोरामा भएका नेपालीमध्ये अस्ट्रेलियामा हाम्रो स्थिति सबैभन्दा उत्तम अवस्था छ जस्तो लाग्छ। अमेरिकामा भएका नेपालीमध्ये सानो संख्याले असाध्यै प्रगति गरेको छ। तर यहाँ लगभग सबैले उही खालको प्रगति गरेका छन्।

अस्ट्रेलियामा सरकारी सुविधाको आश्रयमा रहेका नेपालीको संख्या कम हुन्छ। काम गर्ने जनशक्ति छ, काम गर्छन्। अस्ट्रेलिया सरकारका लागि यो सुखद हो। उसै पनि हाम्रो जनसंख्या युवा छ। यति भएपछि यहाँको सरकार खुसी भइहाल्छ। यी सबै पक्ष हेरेर पनि नेपालीलाई भिसा दिइरहेको हो। उनीहरू त तथ्यांक हेरेर निर्णय लिन्छन्। नेपालीको चरित्रमा खोट लगाउने ठाउँ छैन। हामी यहाँको उत्पादनशील जनसंख्या हौँ।

जुनै देशले पनि आफूलाई के चाहिन्छ भनेर नीति बनाउँछन्। यहाँ चर्को राजनीति छ। महँगी र हाउजिङको समस्या छ। नियम परिवर्तन भइरहँदा अन्तर्राष्ट्रिय विद्यार्थीलाई कठिनाइ बढेको छ। उनीहरुलाई जस्तो जनशक्ति चाहिन्छ, त्यस्तालाई मात्र पीआर दिने भएपछि बाँकी विद्यार्थीलाई त अवश्य पनि गाह्रो हुन्छ नै। फेरि देशमा भएका समस्याको अन्तिम कारण आप्रवासीलाई मान्छन्, यो घरेलु राजनीतिको उपज हो। हरेक विकसित देशको तीतो यथार्थ हो। हामी उनीहरूको नीतिअनुसार दौडिन सक्नुपर्छ।

तथापि यो देश अझ पनि सही गन्तव्य हो। सत्य यो पनि हो कि अस्ट्रेलियामा एकदम महँगो छ। आफ्नो आर्थिक अवस्था विचार गरेर आउनुपर्छ। आउनुअघि सही सूचना र जानकारी संकलन गर्नुपर्छ। सही व्यक्तिहरूसँग सुझाव लिनुपर्छ। कति कुरा त विश्वविद्यालयलाई सीधै सोधे पनि भनिदिन्छन्। यहाँ आइसकेपछि साथीभाइ वा आफन्तबाट सहयोग लिन सकिन्छ भने लिएको राम्रो। यति कुराचाहिँ सधैँ सम्झिनुपर्छ, हामी नेपालमा केके छाडेर आएका छौँ र यहाँ के पाउन चाहन्छौँ?

(सिड्नीस्थित मन्त्र एजुकेसन एन्ड माइग्रेसनका कार्यकारी निर्देशक पौड्यालसँग कुराकानीमा आधारित।)

प्रकाशित: २९ जेठ २०८१ ५:५२

प्रतिक्रिया

One thought on “शासकले चाहँदैमा रोकिन्न युवा पलायन

  1. देशको होइन विदेशको प्रगतिमा रमाउनेहरूले यस्तै भन्छन्, कुन अनौठो भो र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + five =