माग बढेपछि पर्वतमा जेठोबुढो धानको उन्नत बीउ उत्पादन गरिँदै

हिमाल प्रेस २६ जेठ २०८१ १७:१६
12
SHARES
माग बढेपछि पर्वतमा जेठोबुढो धानको उन्नत बीउ उत्पादन गरिँदै धानकाे बिउ। तस्बिर : अनस्प्लास

पर्वत- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङ एकाइ पर्वतले जिल्लाका पाँच स्थानमा जेठोबुढो धानको बीउ उत्पादन सुरु गरेको छ।

एकाइले धान उत्पादनको पकेट क्षेत्रका रुपमा रहेका कुश्मा नगरपालिका–१ पाङ, वडा नं २ खुर्कोट, वडा नं ११ पकुवा, फलेवास नगरपालिका-६ देवीस्थान र बिहादी गाउँपालिका-२ बर्राचौरमा जेठोबुढो जातको उन्नत बीउ उत्पादन गर्न सुरु गरेको हो।

पछिल्लो समय नेपाली भान्छामा जेठोबुढो चामलको माग अत्यधिक बढ्दै गएको छ। स्वदेशमा मात्र नभई विदेशमा रहेका नेपाली रेष्टुरेन्टमा पनि जेठोबुढो चामलको माग बढी हुन थालेकाले बीउ उत्पादन गर्न थालिएको परियोजना बागलुङका प्रमुख नारायण पौडेलले बताए।

उनका अनुसार स्वादिलो, बास्नादार र गुणस्तरको हिसाबले पनि उपयुक्त भएकाले पर्वतमा यसको विस्तारसँगै बीउ उत्पादन गर्न थालिएको हो।

विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा धानखेती हुँदै आए पनि यस वर्ष बीउ उत्पादन गर्न थालिएको परियोजना प्रमुख पौडेलकाे भनाइ छ।

कार्यालयले खेतमा धानको बीउ उमार्ने, रोप्ने, गोडमेल गर्ने, उत्पादित बीउ छनौट तथा भण्डारणसम्मका काममा प्राविधिक सहयोग गर्ने उनले जानकारी दिए।

बीउ उत्पादनका लागि यस वर्ष परियोजनाले पाँच सय ८० किलो मूल बीउ वितरण गरेको छ। अहिले उमार्न थालिएको मूल बीउबाट जिल्लाको सात सय हेक्टर क्षेत्रफलमा धानखेती गरिने परियोजना प्रमुख पौडेलले जानकारी दिए। यस वर्ष उत्पादित बीउबाट आगामी वर्ष जिल्लाका साथै अन्य जिल्लामा पनि बिक्री गर्ने उद्देश्यले उत्पादन थालिएको उनले बताए।

प्रकाशित: २६ जेठ २०८१ १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 3 =