नियात्रा

उपल्लो मुस्ताङदेखि पोखरासम्म

अमृतप्रसाद पौड्याल २६ जेठ २०८१ १७:५२
68
SHARES
उपल्लो मुस्ताङदेखि पोखरासम्म उपल्लो मुस्ताङ। तस्बिरहरू : अमृतप्रसाद पौडेल

खुट्टाले अब हिँड्न बन्द गरे हुन्थ्यो कि भन्ने भाव दिमागमा सञ्चार गर्न थालेको केही क्षणमै मुक्तिनाथ मन्दिर दर्शन गरी हामीले झोला बोक्न सहयोग गर्ने भाइहरूलाई सहृदय बिदाइ गर्‍यौँ। मुक्तिनाथधामको अलौकिक आनन्द प्राप्त गरेपछि हामी लाग्यौँ उपल्लो मुस्ताङतर्फ।

हामी कागबेनीको सुन्दर दृश्यलाई देब्रे पारेर गण्डकीको तीरैतीर उत्तरतर्फ अघि बढ्यौँ। अर्कै भूभागमा गएको आभास भयो। जताततै सुख्खा छ, मरुभूमितुल्य। कहीँ रातो कहीँ खैरो पहाड देखिन्छ। विभिन्न आकृति कुँदिएका शिलाजस्तो देखिने माटाका ढिस्काहरू साह्रै अनौठा लागे।

पहाड एवम् समथर जमिनसमेत रहेको हिमालपारिको अर्काे जिल्ला मुस्ताङलाई बहानबाटै अवलोकन गर्दै जाँदा करिब साँझको सात बजे लो मान्थाङ अर्थात् माथिल्लो मुस्ताङ पुगियो। स्थानीय भाषामा लो भनेको मुटु, मान भनेको इच्छा र थाङ भनेको जमिन रहेछ। करिब सात दिन लगाएर हिँड्दा मनाङ जिल्लामा हिउँ, खोला, जंगल, लेकलगायतका प्राकृतिक सम्पदासँग लुकामारी गर्न पाएका थियौँ। उपल्लो मुस्ताङ सेरोफेरोका अधिकांश भूभाग वरिपरिबाट हिमाली दृश्यको अवलोकन त गर्न पाइयो। जमिन भने उराठलाग्दो। अनि मान्छे नै उडाउला जसरी हावा लागिरहने।

साँझ सात बजे पुगेको होटल त्रिभद्रिकामा झोला बिसायौँ। तातो पानी र चिया खाएर केही बेर सुस्तायौँ। खाना खाएपछि थोराङ यात्राको समीक्षा गर्दै सुत्ने तर्खर गर्दा रातको नौ बजेको थियो। भोलिपल्ट बिहान छ बजे कोरोला नाका जाने योजना तय भयो।

बिहान पाँच बजे सुरु गरिएको थोराङ हाइक्याम्पदेखि मुक्तिनाथसम्म हिँडेको शरीर होटलको आरामदायी खाटमा बिसाएपछि निद्रा नलाग्ने त कुरै भएन।

भोलिपल्ट बिहान छ बजे चियाबिस्कुट खाइवरी जिपमा चढेर हामी कोरोला नाकातिर। फर्किएर आउँदा एतिहासिक लो मान्थान दरबार हेर्ने योजना बन्यो। करिब सवा सात बजेतिर हामी ४६०० मिटर उचाइमा रहेको कोरोला नाकामा पुग्यौँ। वरिपरि डम्म हुस्सु लागेको र बेतोेडको चिसो हावा बहिरहेको थियो। उक्त समयमा दसगजा पारी रहेको नेपाल-चीन सिमानाको पिलर नम्बर २४ लाई साक्षी राखी केही फोटा खिज्यौँ।

चीन अर्थात् तिब्बती भूभागमा व्यवस्थित र विशाल प्रशासनिक संरचनासहितको सरकारी उपस्थितिले सीमाको रेखदेख गरेको रहेछ। नेपालतर्फ भने एकदुईजना सुरक्षाकर्मी तैनाथ थिए। उनीहरूलाई खानेकुरा १४ किलोमिटर वर रहेको प्रहरी चौकीबाट लगिँदो रहेछ। सीमा क्षेत्रमा चीनले सहयोग गरेको प्रिफ्याब निर्मित अस्थायी संरचना थियो।

मुस्ताङका केही स्थानीयले पाल हालेर चिनियाँ सामानका अस्थायी पसल चलाएका छन्। चिनियाँ क्षेत्रमा मुस्ताङका स्थानीयलाई मात्रै प्रवेश अनुमति छ, त्यो पनि विशेष प्रकारको पास देखाएर। दुःखको कुरा, हाम्रो सीमा क्षेत्र शौचालय पनि छैन। भौतिक पूर्वाधारको दयनीय अवस्था रहे पनि चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा हावाले फहराइरहेको थियो। त्यो दृश्यले आफ्नो भूभागमा जेजस्तो कमी भए तापनि मन गर्वले उँचो भयो। धेरै खिन्नता अनि थोरै आशासहित हामी कोरलाबाट फर्कियौँ।

लो मान्थाङको अर्काे विशेषता भनेको गुफाको आकर्षण हो। यिनैमध्येको एक हो, झोसारको झोङ गुफा। झट्ट बाहिरबाट हेर्दा पहराको भित्तोमा चराहरु बस्ने ससाना प्वालझैँ देखिने गुफाको प्रवेशमार्गमा सिँढी बनाएर व्यवस्थित गरिएको रहेछ। कसरी यस्तो गुफा निर्माण भएको होला भनी सोच्दै भित्र छिर्‍यौँ।

झोङ गुफाको भित्री भाग।

सानो गोलो प्रवेशद्वारबाट छिरेपछि भर्‍याङ हुँदै माथि उक्लन पर्ने रहेछ। भर्‍याङको मुखमा खोल्न बन्द गर्न मिल्ने घोप्टेमा ताल्चा मारी सुरक्षित गरिएको रहेछ। एकजना वृद्धले हामीलाई भित्र गई घुम्न सक्नुहुन्छ भनी उक्त घोप्टे खोलिदिए। तलमाथि दायाँबायाँ गरी ४० भन्दा बढी कोठा रहेछन्। पाँच तलाको उक्त गुफाभित्र अवलोकन गर्न २० मिनेट लागेको थियो। भ्यालको काम गरेका प्वालको परिधिबाट बाहिर हेर्दा देखिन झोसर उपत्यका र आकर्षक हिमाली दृश्यले मोहित बनायो। कुनाकुनामा प्रकाश पुग्ने गरी बनाइएको गुफाको बनावटले कौतूहल सिर्जना गरेको थियो।

शत्रुहरूको आक्रमणबाट आफ्ना समुदायका व्यक्तिहरुलाई बचाउन बनाइएको भनिने त्यो गुफा कालान्तरमा साधना स्थलका रूपमा प्रयोग भएको अनुमान हामीले लगायौँ। कतै सीधासँग उभिन पनि नसक्ने उचाइ, घिस्रेर छिर्नुपर्ने बाटो, स-साना भर्‍याङ तथा कहीँ कतै ठुलै ठाउँहरुले सुसज्जित उक्त गुफा पदयात्री एवं पर्यटकका लागि अविस्मरणीय गन्तव्य बनेको रहेछ। प्रकृतिको काखमा बनेको उक्त गुफाको संरक्षणले कालान्तरसम्म पनि लो मान्थाङलाई विश्वमाझ परिचित गराउनेछ। स्थानीय सरकारले गुफा संरक्षणमा त्यति चासो देखाएको पाइएन।

३८०० मिटर उचाइसम्म फैलिएको लो मान्थाङका अधिकांश जमिन सुख्खा अनि बन्जर छन्। कुनै बेला नेपाल र भोट अर्थात् तिब्बत बीच हुने व्यापारको प्रमुख नाकाका रूपमा रहेको लो मान्थाङ प्रसिद्ध पर्यटकीय स्थान भएको छ। पोखराबाट बेनी जोमसोम कोरोला सडकले जोडेपछि भने यातायातको सुविधाले आवतजावत बाक्लो बनाएको छ। बाटोको उपलब्धतापछि स्थानीय उत्पादन, रहनसहन तथा स्थान विशेषको मौलिक पक्षहरु सबैतिर उजागर हुन सहयोग भए पनि क्रमशः मौलिकतामा समेत ह्राास आउन सक्ने जोखिम उत्तिकै रहेछ। युरेनियमको खानी रहेको औपचारिक सत्यताले पनि उपल्लो मुस्ताङ कौतूहलको विषय बनेर रहेको छ।

गुफाको अवलोकनपछि हामी लो मान्थाङको अर्काे आकर्षण ऐतिहासिक रूपमा पर्खालले घेरिएको राजधानीका रुपमा समेत प्रसिद्धि कमाएको लो मान्थाङ दरबार परिसरभित्र पस्यौँ। लगभग पन्ध्रौँ शताब्दीमा मुस्ताङ राज्यको शासकीय केन्द्रका रूपमा विकसित लोमान्थाङ दरबारमा २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको थियो। पुनःनिर्माण भएको दरबार परिसरमा मैत्रिय गुम्बा, छयोडेन गुम्बा, थुप्चेनलगायतका गुम्बा रहेछन्।

दरबार परिसरमा रहेका घरका भ्याल, छानो, दलिनमा देखिएको परम्परागत कला आकर्षक थियो। दरबार छिर्ने स्थान र भित्रसमेत अजंगका भोटे कुकुरहरु यत्रतत्र देखिन्थे। पाँच तलाको उक्त दरबार हामी पुगेको समयमा बन्द रहेकाले बाहिरबाट मात्रै अवलोकन गर्ने मौका मिलेको थियो। संरक्षणका दृष्टिकोणले राम्रो व्यवस्थापन भएको उक्त सम्पदाले नेपालको विशिष्ट चिनारी झल्काई पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्न सक्ने देखिन्छ। प्रायः हरेक गल्ली, घुम्ती एवं मोडमा ध्वजापताका, छ्योर्तेन, बौद्ध धर्मका अनेक अवयवहरु, ढुंगाका घरहरु, भेषभूषा, रहनसहन आदिले लो मान्थाङ विशेष बनाएको रहेछ।

बिहान करिब दस बजे नास्ता खाएपछि हामीलाई होटल त्रिभद्रिकाका सञ्चालकले हार्दिकतापूर्वक बिदाइ गरे। यस प्रकारको सहृदयी व्यवहारले पनि लो मान्थाङको महत्त्व बढाएको हुनुपर्छ। सांस्कृतिक रुपमा संरक्षित उक्त क्षेत्रको भ्रमण एवं अवलोकनका लागि धेरै मात्रामा आन्तरिक तथा बाह्य पर्यटक पुग्दा रहेछन्। अब हाम्रो यात्रा थियो पोखरातर्फ।

प्रशस्त मात्रामा सुख्खा माटो र गेग्रानले ढाकिएका जमिन, ठाउँठाउँमा केही बोटबिरुवा, झुप्पझुप्प परेका ससाना बस्तीसँगसँगै आकर्षक आकारहरुका पहाड एवं थुम्का मुस्ताङी भूगोलका विशेषता हुन्। त्यसमाथि नीलो आकाशलाई चुमिरहेका आकर्षक हिमाली दृश्यले जोकसैको पनि मन लोभ्याइरहेको हुन्छ। कतिपय स्थानका थुम्का एवं पहाडहरु ख्यातिप्राप्त कलाकारले कुँदेर बनाएका मन्दिर, द्वार वा अन्य आकर्षक आकृतिजस्तै देखिन्छन्।

डा. गेहराज दाहालले त्यस्ता आकृति भारतमा रहेका मन्दिरको शैलीसँग तुलना गर्नुभयो। बाटोमै भेटिएका गुम्बा एवं चैत्य, घरपालुवा जनावरका झुण्ड, खेतमा देखिएका विभिन्न बाली एवं गुफाका प्वालको दृश्यावलोकन भने जिपबाट ओर्लेर नै गर्‍यौँ। प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिकलगायतका पक्षहरुबाट चाहिँ माथिल्लो मुस्ताङ मुटुझँै प्यारो जमिनको एक भाग रहेको महसुस भयो। उचाइमा रहेको अवस्थिति, भौगोलिक विविधताका बीच अपार सम्भावना भएको उक्त स्थानका जनताको सेवासुविधामा भने राज्यले स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइलगायतका पूर्वाधारमा विशेष ध्यान दिनुपर्छ।

दामोदरकुण्ड हुँदै तल झरेकी कालीगण्डकीको सेरोफेरो छिचोल्दै हामी तीन बजेतिर जोमसोम आइपुग्यौँ। नीलगिरी हिमाल ठिंग अगाडि उभिएको, कालीगण्डकीले सिञ्चित गरेको एवं पक्की बाटो, सुविधासम्पन्न होटल, विमानस्थल, प्रसिद्ध कागबेनी तथा मुक्तिनाथधामको प्रवेशमार्ग आदिले सुसज्जित जोमसोम बजार हिमालपारिको सुविधासम्पन्न दर्शनीय स्थान हो।

बिहान खाएको नास्ता यात्राका पचिसकेकाले भोक लाग्नु स्वाभाविक थियो। जोमसोम बजारमा खानाको जोहो गर्ने क्रममा हामीमध्ये दुईजनाले एउटा होटलमा छिरेर खानाको बारे सोधपुछ अर्डर गर्‍यौँ। अरू साथीहरूले अर्काे खोजौँ न यसमा नखाऊँ भनेपछि दुईचार मिनटभित्रै पहिलेको अर्डर रद्द गरेर अर्काे होटलमा छिरी खाना खाने पक्का गर्‍यौँ। खाना तयारीमा कुर्दै गर्दा पहिलो अर्डर रद्दको असहमति आयो। सम्झाई-बुझाई गरी माफी माग्यौँ। हामीले त्यो घटनालाई सामान्य रूपमा लिएर समाधान भयो होला भनी ठान्यौँ। तर परिस्थितिले अर्कै मोड लियो। पछिल्लो अर्डर अनुसार खाना खाएर चुठ्दै गर्दा अचानक पहिला अर्डर गरेका होटेलका साहुजीले हामीलाई पैसा तिर्न बाध्य बनाए। नखाएको खानाको दुई हजार रुपैयाँ तिर्नुपरेपछि समूहमा यात्रा गर्दा व्यवस्थापन मिलाउन एकजना मूली चाहिने रहेछ भन्ने महसुस गर्दैले हामी जिप चढेर जोमसोमलाई बिदाइ गर्‍यौँ।

मार्फा पुग्न लाग्दा अगाडि सडकमा गाडीको लामो लाइन देख्यौँ। हामी पनि जाममा रोकियौँ। त्यही बेला जोमसोमको हावाको प्रत्यक्ष अनुभव गर्न पायौँ। हावा त गाडी नै हल्लिने गरी चलिरहेको थियो। प्रसिद्ध मुस्ताङी स्याउको उर्वर स्थान मार्फाको माथिल्लो भेगमा रहेको हिउँ पग्लेर आएको बाढीले उर्लिएको मार्फा खोलाले सडक अवरुद्ध बनाएको रहेछ। स्थानीय प्रशासनले बाटो खोल्ने प्रयास गरिरहेको थियो।

बाटो खुल्छ कि खुल्दैन भन्ने संशय थियो। विश्वव्यापी रुपमा तापक्रममा हुन थालेको वृद्धिले अनायास हिउँ पग्लने, बाढी आउने, अतिवृष्टि वा अनावृष्टिजस्ता प्रकोपहरु निम्तिइरहेका छन्। यो क्षेत्र पनि यसको प्रत्यक्ष मारमा हुँदा यसको निवारणका लागि हामीले बेलैमा अग्रसरता लिनुपर्छ।

कुर्दाकुर्दै करिब दुई घन्टा हुन आँटिसकेको थियो। सडक खुल्ने-नखुल्ने यकिन नहुँदा कतै त्यस रात जोमसोममा नै बस्नुपर्ने त होइन यदि बस्नुपरेमा यत्राविधि जामले रोकिएका यात्रुको चापले होटल पाइएला कि नपाइएला भन्ने चिन्ता हुन थाल्यो। सरोकारवालाहरुको अनवरत प्रयासले जसोतसो मोटर गुड्न सक्ने गरी बाटो खुल्यो। त्यति बेला रातको आठ बजेको थियो। बन्दै गरेको बेनी जमोसोम मार्गको केही भागमा कालोपत्रे पनि रहेछ।

बाक्लो हुस्सु लागेर अगाडि केही नदेखिने अवस्थामा पनि चालकले कुशलतापूर्वक हाँकिरहेका थिए। कठिन भूगोलमा अप्ठ्यारो भए पनि पनि स्तरोन्नति हुँदै गरेको बाटो र ठाउँठाउँमा भिरको बाटो भएकाले कतिबेला पोखरा पुगिन्छ भन्ने लगिरहेको थियो। होटल बुक भइसकेको थियो। कथंकदाचित त्यस रात होटलमा पुग्न ढिला भएमा चाहिँ नखाएको भातको पैसा तिरेजस्तै नसुतेको होटलको पनि पैसा तिनुपर्ला भनी गाडीभित्र्र गफिँदै हाम्रो यात्रा अगाडि बढेको थियो।

मध्यरातको १२ बजे म्याग्दीको तातोपानी नजिक एउटा होटलमा रोकियौँ। हामी सबैले चिया खायौ। विभिन्न कारणले ठाउँठाउँमा रोकिँदै गुडिरहे पनि बिहान ६ बजेदेखि स्टेयरिङ समाल्नुभएका चालकलाई निद्रा वा आलस्यरुपी कुनै तत्त्वले आक्रमण नगरोस् भन्ने हाम्रो कामना थियो। हामी पनि सकेसम्म इतिहास, भूगोल, धर्मदर्शनजस्ता गहनदेखि ख्यालठट्टाका अनेक विषयमा वातचित गर्दै समय कटाइरहेको थियौँ।

रातको दुई बजे पोखरास्थित होटलको आँगनमा पुगेपछि चालकलाई सहृदय बिदाइ गर्दै झोलीतुम्बा बोकी कोठामा पुग्यौँ। बिहान नेपाल-चीन सिमानामा रहेका हामी मध्यरातमा पोखरामा अवस्थित होटलको आरामदायी पलङमा पल्टियौँ। बेसिसहरबाट सुरु भएको नौ दिनको हिमालपारि जिल्लाको रोमाञ्चक यात्रालाई त्यसै दिन पूर्णविराम दियौँ। सोही यात्राका अविस्मरणीय स्मृति दिमागमा भण्डारण गर्दै हामी मिठो निद्रामा समाहित भयौँ।

प्रकाशित: २६ जेठ २०८१ १७:५२

प्रतिक्रिया

One thought on “उपल्लो मुस्ताङदेखि पोखरासम्म

  1. धन्न नखाएको पैसा तिरे जस्तै गरि नसुतेको पनि पैसा तिर्नु परेनछ l तर गुफाको कुरा चाई बिशेष र कौतुहलपूर्ण लाग्यो l यात्राको बर्णन रोचक र विस्तारमा छ जुन प्रोफेसनल लेखकले मात्र गर्न सक्छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =