काठमाडौँ- सरकारले जेठ १९ देखि असोज १९ सम्म मनसुनजन्य जोखिमको समय तोकेको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बुधबार प्रतिनिधिसभाको शून्य समय र विशेष समयमा उठेका प्रश्नको जबाफ दिँदै यस्तो जानकारी दिएका हुन्।
उनले भने, ‘जेठ १९ देखि असोज १९ सम्मलाई हामीले मनसुनजइन जोखिमको समय तोकेका छौँ।’ उनले मनसुन सुरु भएदेखि अन्त्य नभएसम्मका लागि गृह मन्त्रालयको विपत् व्यवस्थापन तथा द्वन्द्व व्यवस्थापन महाशाखा सहसचिवको नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्ट स्थापना गरिएको जानकारी दिए।
पोस्टमा सबै सुरक्षा निकाय र विपत् व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न मन्त्रालय र विभागका प्रथम श्रेणीका अधिकारीहरू कार्य गर्ने जिम्मेवारी तोकिएको मन्त्री लामिछानेले बताए।
कमान्ड पोस्टले मौसम पूर्वानुमानको जानकारी लिई, जोखिमको आकलन गरी प्रभावका आधारमा पूर्वतयारी र विपत्का घटनापछिको प्रतिकार्यको योजनाको प्रभावकारी कार्यान्वयन गर्न गराउनका लागि संयोजनकारी भूमिका खेल्ने मन्त्री लामिछानेले बताए।
यसैगरी पोस्टले विपत्का बेला सरकारी, गैरसकारी र वैदेशिक सहयोगबाट प्राप्त सामग्रीको परिचालनमा समेत समन्वयकारी भूमिका खेल्नेछ। कमान्ड पोस्टको टोलीले बुधबारदेखि काम थालेको छ।
विपत्का घटनासम्बन्धी कुनै जानकारी भएमा वा अन्य सूचना लिन परेमा ११४९ नम्बरको टोलफ्री फोनमा सम्पर्क गर्न सकिने लामिछानेले बताए। यो फोन २४ सै घण्टा खुला रहनेछ। यसैगरी देशका १० ठाउँलाई जोखिमयुक्त घोषणा गरी टोली परिचालन भइसकेको पनि उनले बताए।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनालाई जेठ २२ गते पारित गरिएको र सोही आधारमा कार्यान्वयन गर्न सबै संयन्त्रलाई परिपत्र गरिएको मन्त्री लामिछानेले बताए। गृहमन्त्रीका अनुसाधार गृहमन्त्रालयले एक महिनादेखि मनुसनी वर्षाबाट नागरिकलाई कसरी जोगाउने योजनामा समय खर्च गरिएको छ।