एकल गजल गायनमा यसरी गुञ्जिए सन्तोष

हिमाल प्रेस २० जेठ २०८१ ११:२८
24
SHARES
एकल गजल गायनमा यसरी गुञ्जिए सन्तोष

मलाई नसोधी छुने यही झरी हो
सधैँ साथ मेरो हुने यही झरी हो।

गजलकार राधा कणेलका शब्दमा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको धून र आवाज सर्वनाम थिएटरमा गुञ्जिँदा खचाखच हल ‘वाह! वाह!!’ र तालीमय बनेको थियो।

आँखा जुधाउने पो बानी रहेछ तिम्रो
मान्छे भुलाउने पो बानी रहेछ तिम्रो।

घनेन्द्र ओझाका यी शब्द गायक श्रेष्ठको मुखबाट झर्नेबित्तिकै बज्न थालेको ताली पाँचै शेर पूरा हुन्जेल बजिरहेकै थियो। उपस्थित श्रोताहरू मुग्ध मात्र थिएनन्, मस्त पनि थिए गजल सुनेर। कोही भन्दै थिए, ‘साँच्चै गजलमै रमाउन पाइयो। यस्ता कार्यक्रम भइरहनुपर्छ।’

गजलकारद्वय राधा कणेल र घनेन्द्र ओझाका शब्दमा शनिबार सन्तोष श्रेष्ठले छ वटा गजल गाए। आफ्नै संगीत र स्वरमा गजलहरू प्रस्तुत गरेका सन्तोष अबको नेपाली गजल गायन तीव्र र व्यावसायिक हुनुपर्ने बताउँछन्। यही समय नेपाली गजल गायनलाई उठाउने र विस्तृत बनाउने उपयुक्त समय भएकाले सन्तोष र आफूले यो दशकलाई नेपाली गजल गायनको स्वर्ण दशक बनाउने घोषणा गरेको गजलकार ओझाले बताए।

कार्यक्रममा गजलकार ओझा र संगीतकार र गायक श्रेष्ठको गजल एल्बम ‘शुभेच्छा’माथि चर्चासमेत गरिएको थियो। संगीतकार राजु सिंहले ‘शुभेच्छा’ शास्त्रीय बहरमा लेखिएका गजलहरूको एल्बम भएको भन्दै नपाली गजल गायनका चार पुस्ता ज्ञानु राणा, आनन्द कार्की, शिव परियार, निशा देशार, सन्तोष श्रेष्ठ र अस्मिता अधसकारीको स्वर समेटिएको बताए। नेपाली गजल गायनका क्षेत्रमा ‘शुभेच्छा’ ऐतिहासिक र उदाहरणीय एल्बम भएको उनको दाबी थियो।

गजलविज्ञ डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले ओझा र कणेलका सुन्दर गजलमा संगीत र स्वरसहित प्रस्तुत गरेकामा श्रेष्ठको प्रशंसा गर्दै नेपाली गजल गायनलाई तीव्र बनाउन आग्रह गरे।

साहित्य अभियन्ता बाबु त्रिपाठीले नपाली गजलमा विवाद नभएको र कसैले गराइदिएको विवादलाई गजल स्रष्टाहरूले बुझिसकेका भन्दै गजल स्रष्टाहरू अब गजलका पक्षमा मात्र रहेका प्रस्ट पारे।

कार्यक्रमको अभिभावकत्व ग्रहण गरेका गजलकार डा. भोजराज घिमिरेले नेपाली गजल लेखन परिष्कारको बाटोमा हिँडिसकेको र अब गायनमा पनि परिष्कारसँगै तीव्रता र विस्तार जरुरी रहेको बताए। उनले चण्डीप्रसाद काफ्ले, लालकाजी श्रेष्ठ, सन्तोष श्रेष्ठ जस्ता जुझारु र प्रतिबद्ध संगीतकार र गायक नेपाली गजलले पाउनु खुसीको कुरा भएको सुनाए।

गजलकारद्वय कणेल र ओझाले १५ वर्षअघि विवाहकै दिन ‘बाटो अझै छ बाँकी’ संयुक्त गजल कृति प्रकाशनसहित जीवनको सहयात्रा सुरु गरेको १६औँ वर्षमा गायनमा पनि सहयात्रा सुरु भएको भन्दै यसका लागि संगीतकार र गायक श्रेष्ठ र अभिभावक डा. घिमिरेप्रति कृतज्ञता प्रकट गरे।

कार्यक्रम गोल्डेन क्रिएसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको आयोजना र नेपाल गजल प्रतिष्ठान, यशश्वी प्रज्ञाप्रतिष्ठान, कलरक्राफ्टको सहकार्यमा भएको हो।

प्रकाशित: २० जेठ २०८१ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =