राजनीतिप्रति जसराजको असन्तुष्टि : ‘अब हामीले युद्ध गर्नुपर्नेछ’

विवेक विवश रेग्मी १९ जेठ २०८१ १९:५६
80
SHARES
राजनीतिप्रति जसराजको असन्तुष्टि : ‘अब हामीले युद्ध गर्नुपर्नेछ’ क्यानभास साहित्य समाजले शनिबार इटहरीमा आयोजना गरेको ‘क्यानभासमा गगन’ कार्यक्रममा सम्बोधन गर्दै कवि जसराज किराती। तस्बिर : विवेक विवश रेग्मी

इटहरी- सुप्रसिद्ध कवि, नेपाली वाङ्‌मयका शिखर पुरुष जसराज किरातीले वर्तमान राजनीतिक नेतृत्वप्रति तीव्र असन्तुष्टि पोखेका छन्। इटहरीस्थित क्यानभास साहित्य समाजले शनिबार आयोजना गरेको ‘क्यानभासमा गगन’ कार्यक्रममा उनले दलका नेतृत्वकर्ताहरूप्रति तितो पोखेका हुन्।

‘अब हामीले युद्ध गर्नुपर्नेछ। नेताहरूले गरेको युद्ध हामीलाई काम दिने खालको होइन,’ किरातीले भने, ‘नेताहरूले गर्ने युद्ध भनेको धनी हुनका लागि हो। सम्पत्ति कमाउनको लागि हो। चाहे उनीहरूले जतिसुकै ठूलो र आदर्शको कुरा गरून्।’ नेताहरूले जनतालाई झुक्याइरहेको उनले बताए।

‘हामीले राजनीतिमा ठूलो–ठूलो भाषण मात्रै सुन्छौँ, त्यहाँबाट केही पाएका छैनौँ। जनता भन्ने वस्तुलाई नेताहरूले खेलाउने, धम्क्याउने र हर्काने काम मात्रै गरिरहेका छन्,’ उनले वर्तमान राजनीतिक नेतृत्वप्रति चरम असन्तुष्टि रहेको संकेत गर्दै भने, ‘जनताबाटै लाभ पनि लिने तर तिनीहरूलाई खेलौना बनाउने शासन हाम्रो मुलुकमा छ।’

लेखककविहरूले चेतना र विचारबाट नेतृत्वलाई सचेत गराउन आवश्यक रहेको उनको भनाइ छ।

अचेल लेखिने कविताको विषय बरालिएको भन्दै उनले चिन्ता व्यक्त गरे। ‘पहिला कविता नै लेखेर कवि हुने सोच पनि राख्दथ्यौँ,’ उनले भने, ‘हामी कवितामा कसलाई के भन्नुपर्ने हो, के भन्न खोजिएको हो त्यो स्पष्ट पार्दैनौँ।’

उनले पछिल्लो समय आममानिस राजनीतिको मात्रै कुरा गर्ने तर त्यहाँबाट केही प्राप्त गर्न नसकिरहेको समेत बताए। कवि किरातीले पछिल्लो समय लेखिने कवितामा प्रेमको विषय मात्रै समेटिए पनि त्यसले भन्न खोजेको कुरा नबुझिने सुनाए।

‘हामीले एउटा केटीको बारेमात्रै, केटाको बारेमात्रै, प्रेमको बारेमात्रै लेखिरहेका छौँ कि!’ किरातीले भने, ‘कविता लेखेर हामीले के पायौँ होइन, कविताले समाजलाई के दियो भन्ने चेत कविहरूमा हुनुपर्छ।’ उनले कविता लेखनमा नयाँ पुस्ता सचेत हुनुपर्ने उनले सुनाए। काव्य सिर्जनाको कुरा गर्दा पनि उनले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरिरहे।

‘तपाईँहरू नेताहरूलाई नपछ्याउनुहोस्। एकदुई गाँस मासु र भात, जाँडरक्सी खुवायो भन्दैमा उनीहरूका पछि नलागौँ,’ किरातीले भने, ‘नपछ्याऊँ क्या नपछ्याऊँ। तिनीहरूबाट यो मुलुकमा अब केही बन्छ भन्ने आशा नगरौँ।’

राजनीतिक नेतृत्वले जनतालाई चुनावका बेलामात्रै प्रयोग गरिरहेको उनको भनाइ छ। चुनावको बेला मात्रै हाम्रो उपस्थिति हुन नहुनेमा उनको जोड छ। ‘नेतालाई बचाउनका निमित्त, नेतालाई माथि उठाउनका निमित्त, नेताको जीवन र उसको परिवार र उसको आफन्तलाई मात्रै माथि उठाउन हामी प्रयोग हुनु हुँदैन,’ किरातीले भने, ‘नेताका नजिक हुनेहरूको मात्रै यो देश होइन। यो देश तपाईँ हामीजस्तो भुइँमान्छेको पनि हो।’

उनले ग्रामीण क्षेत्रमा धेरै कष्टपूर्ण जीवन बाँचिरहनुपरेको सुनाए। गाउँले जीवनमा कष्टपूर्ण जीवन रहेको भए पनि नेताको नजर अझै पर्न नसकेको उनी बताउँछन्।
‘बरु हामी पछि नै पर्‍यौँ भने पनि केही हुँदैन। सरकारले के दिएको छ र हामीलाई? हामीले एकसरो लगाउन पाएकै छौँ। जसले नेतालाई पछ्याउन सक्छ ऊ मात्रै माथि पुग्ने हो। बरु हामी माथि पुग्न नपरोस्’, किरातीले भने।

क्यानभासमा गगनका एक दर्जन कविता

कार्यक्रममा कवि गगन योक्पाङ्देनले आफ्नो कविता संग्रह ‘केवाफुङ्को गीत’ बाट एक दर्जन कविता वाचन गरे। उनले ‘आमाप्रति’, ‘उपहार’, ‘साइँली सोल्टीनीको बैँस’, ‘छोरीको चकचक’, ‘भरियाको कथा’, ‘छिमेकीलाई’, ‘बाटोको आयु’, ‘एउटा घरको दिनचर्या’लगायतका कविता वाचन गरेका थिए।

कविता वाचन गर्नुअघि उनले आफू गाउँमा बसेर साहित्य साधना गर्दै आएको र यस कविता सङ्ग्रहमा पनि गाउँका थुप्रै बिम्बको प्रयोग गरिएको बताए। कवितामाथि लेखक तथा उपप्राध्यापक राजेश विद्रोहीले टिप्पणी गरेका थिए।

‘यो संग्रहभित्र राजनीतिक विडम्बना, आधुनिकता, गाउँको चिन्तनलगायत विषयगत विविधता समेटिएको छ,’ विद्रोहीले भने, ‘मिथक भनेको कथा मात्रै होइन। संग्रहका कविताहरूमा मातृभाषाको प्रयोगले नेपाली भाषालाई पनि समृद्व बनाउँदै लगेको छ।’

गगनका कविताले समकालीन जीवनको समयलाई व्यक्त गरेको उनले सुनाए। ‘अहिलेका कविहरूमा समय चेत हुन आवश्यक छ। जुन चेत गगनका कवितामा पाइन्छ,’ उनले भने।

कार्यक्रमका सभाध्यक्ष प्रसिद्ध कवि मनु मञ्जिलले कविले प्रत्येक वाक्यमा नवीन कुरा दिनुपर्ने बताए। ‘सुन्दर कुरो सुन्दर होइन, नवीन कुरा सुन्दर हो,’ मञ्जिलले भने, ‘कविले प्रत्येक वाक्य सिर्जना गर्ने भएकाले कविहरूलाई सिर्जनात्मक भनिएको हो। कविले प्रत्येक वाक्यमा नवीन कुरा दिन आवश्यक छ।’

क्यानभास साहित्य समाजका अध्यक्ष भरत दाहालले आफूहरूले इटहरी क्षेत्रमा रहेर विभिन्न समयमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको र आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताए।

प्रकाशित: १९ जेठ २०८१ १९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =