कक्षा ११ र १२ : सिकाइमा ठग्दैछन् ‘नाम चलेका’ निजी स्कुल

माधवप्रसाद नेपाल १९ जेठ २०८१ १६:१३
1.9k
SHARES
कक्षा ११ र १२ : सिकाइमा ठग्दैछन् ‘नाम चलेका’ निजी स्कुल काठमाडौँ उपत्यकामा रहेको एउटा निजी स्कुलको कम्प्युटर ल्याबमा कक्षा ११ का विद्यार्थी।

काठमाडौँ- काठमाडौँ उपत्यकामा निजी कलेजहरूले कक्षा ११ र १२ का केही विषयमा क्रेडिट आवर (पाठ्यघण्टा) अनुसार नपढाएर विद्यार्थीलाई ठगिरहेको पाइएको छ। अभिभावकसँग मोटो रकम शुल्क लिएर पठनपाठन गराइरहेका यस्ता कलेजको दैनिक कक्षातालिका (क्लास रुटिन) बारे कुनै निकायले अनुगमन गरेको पाइँदैन। क्रेडिट आवरअनुसार पढाइ नहुँदा विद्यार्थीले धेरै कुरा सिक्न छुटाएका छन् भने शिक्षक पनि ठगिएका छन्।

नेपाली, अंग्रेजी, सामाजिकजस्ता अनिवार्य विषयलाई दोस्रो दर्जाका विषय बनाएर कम पाठ्यघण्टा दिइएको सम्बन्धित शिक्षकहरूको गुनासो छ।  ऐच्छिक विषयको पनि अवस्था त्यस्तै छ।

गत शैक्षिक सत्रको रुटिनअनुसार काठमाडौँको लाजिम्पाटस्थित जेभियर एकेडेमीको कक्षा ११ र १२ मा अनिवार्य नेपाली सातामा तीन घण्टी (४५ मिनेटको घण्टी) पढाउने गरिएको छ। यसैगरी काठमाडौँ मोडेल कलेज बागबजारमा पनि अनिवार्य नेपाली सातामा तीन घण्टी मात्रै पठनपाठन हुने गरेको कक्षा रुटिनमा उल्लेख छ।

पाठ्यक्रम विकास केन्द्रले नेपालीका लागि ३ क्रेडिट आवर छुट्ट्याएको छ। त्यो भनेको सातामा १८० मिनेट हो। यसअनुसार अनिवार्य नेपालीका लागि सातामा ४५ मिनेटको चार घण्टी पढाउनुपर्ने हो। अधिकांश कलेजले सातामा नेपालीका लागि १३५ मिनेट मात्रै छुट्ट्याएका छन्। कुनै पिरियड त ४० मिनेटको मात्रै हुन्छ।

विद्यार्थीले कक्षा १० सम्म हरेक विषय सातामा ६ पिरियड पढेको हुन्छ। त्यतिले नपुगेर अलग्गै ट्युसन र कोचिङ क्लास पनि पढाउने गरिन्छ। एक त पाठ्यक्रम विकास केन्द्रले  नै पाठ्यघण्टा घटाइदिएको छ। अर्को कुरा निजी स्कुलहरूले  ११ मा गएपछि तोकिएको क्रेडिट आवरअनुसार पढाउँदैनन्। यसरी शिक्षक र विद्यार्थीलाई बढी भार थपेर निजी स्कुल मोटाउने काम मात्रै भएको छ।

मानभवनस्थित प्रसादी एकेडेमीले पनि तीन क्रेडिट आवर भएको विषय सातामा तीन घण्टीमात्रै पढाउँदै आएको त्यहाँका एक शिक्षकले बताए। डिल्लीबजारस्थित ट्रिनिटी, कमलादीस्थित युनिग्लोब, तीनकुनेका नासा, ट्रिटोन बत्तीसपुतलीस्थित गोल्डेन गेट, प्रिमियर, डीएभीलगायतका कलेजको अवस्था पनि त्यस्तै रहेको सम्बद्ध शिक्षकहरू बताउँछन्।

राजधानीमा अधिकांश कक्षा ११ र १२ पढाइ हुने निजी कलेजमा अंग्रेजीमा साताको चार घण्टी अर्थात् १८० मिनेट पढाइ हुन्छ। केन्द्रले अंग्रेजीका लागि ४ क्रेडिट आवर अर्थात् २४० मिनेट तोकेको छ। निजी कलेजले सामाजिक अध्ययन सातामा पाँच घण्टी (२२५ मिनेट) पढाउने गरेका छन्। पाठ्यक्रममा सामाजिक अध्ययनको पाठ्यभार ५ क्रेडिट आवर छ। त्यो भनेको ३०० मिनेट हो। पाठ्यक्रमअनुसार ऐच्छिक विषयको क्रेडिट आवर पनि ५ (३०० मिनेट) छ। जेभियरले कार्यालय सञ्चालन र लेखा (एकाउन्ट) का लागि सातामा २७० मिनेट छुट्ट्याएको छ।

काठमाडौँकै मध्यबानेश्वरस्थित ग्लोबल कलेजले कक्षा ११ र १२ मा नेपालीका लागि तीन घण्टी (४५ मिनेटको) छुट्ट्याएको छ। कलेजको कक्षा ११  र १२ मा अनिवार्य अंग्रेजी सातामा चार घण्टी अर्थात् १८० मात्रै पढाइ हुन्छ। एकाउन्टका लागि छुट्ट्याइएको ३०० मिनेट विद्यार्थीले पढ्न पाउँदैनन्। कलेजमा एकाउन्ट ६ घण्टी अर्थात् २७० मिनेट पढाइ हुन्छ।

वसुन्धरास्थित हृत एकेडेमीको कक्षा ११ मा अनिवार्य नेपाली सातामा चार दिन पढाइ हुन्छ।  एकेडेमीमा नेपाली विषयका लागि १६० मिनेट छुट्ट्याइएको छ। अंग्रेजीका लागि उक्त एकडेमीमा क्रेडिट आवरअनुसार पढाइ हुन्छ। उक्त कलेजमा एकाउन्ट र होटल म्यानेजमेन्टका लागि ६/६ घण्टी अर्थात् २७० मिनेट पढाइ हुन्छ।

थापागाउँस्थित पाठशाला स्कुलमा पनि तोकिएको क्रेडिट आवरअनुसार पढाइ हुँदैन। उक्त विद्यालयमा कक्षा ११ को आमसञ्चार विषय सातामा बढीमा तीन घण्टी मात्रै पढाइ हुन्छ। ऐच्छिक विषयको क्रेडिट आवर सातामा पाँच घण्टा अर्थात् ३०० मिनेट हो।

कतिपय विद्यालयले त कक्षा ११ मा पढाउँदै नपढाउने अनि कक्षा १२ मा गएपछि विद्यार्थीलाई दबाब दिने प्रवृत्ति पनि देखिएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरू बताउँछन्। उनीहरूका अनुसार यसबारेमा शिक्षक र अभिभावकले बोर्डमा गुनासो गर्दै आएका छन्।

कलेज सञ्चालकहरू भने क्रेडिट आवरअनुसार पढाइ भइरहेको दाबी गर्छन्। ऐच्छिक विषयलाई बढी समय दिनुपर्दा अनिवार्य विषयमा केही समय घटाइएको उनीहरूको स्पष्टोक्ति छ।

ग्लोबल कजेलका प्रिन्सिपल अम्बादत्त जोशीले तोकिएको क्रेडिट आवरअनुसार नै कक्षा तालिका बनाएर पठनपाठन गराइरहेको बताए। उनले भने, ‘विज्ञान समूहका केही विषयमा भने तोकिएभन्दा बढी नै क्रेडिट आवर दिएका छौँ। कतिपय विषयमा सातामा ९ पिरियडसम्म पठनपाठन हुने गरेको छ।’

नेपाली, अंग्रेजीजस्ता विषयमा भने सातामा चार घण्टी पढाइ हुने गरेको उनको दाबी छ। कलेजले गत शैक्षिक सत्रमा कक्षा ११ र १२ विद्यार्थीलाई उपलब्ध गराएको कक्षा तालिकामा भने नेपाली सातामा तीन पिरियड (१३५ मिनेट) र अंग्रेजी सातामा चार पिरियड (१८० मिनेट) पढाइ हुने उल्लेख छ।

जानकारहरूका अनुसार कक्षा ११ मा जनशक्ति र समय भएन भनेर नपढाउने अनि परीक्षामा सबै उत्तीर्ण गराउने गरी दबाब दिने निजी स्कुल धेरै छन्। यस्ता स्कुलमा कक्षा १२ मा सोचेजति विद्यार्थी उत्तीर्ण नभएपछि विद्यालय सञ्चालकहरू हाम्रा विद्यार्थी फेल गराइयो भनेर बोर्डमा गुनासो गर्न पुग्छन्।

बोर्डका अध्यक्ष महाश्रम शर्मा विद्यार्थीलाई तोकिएको क्रेडिट आवरअनुसार पढाउनैपर्ने बताउँछन्। उनले भने, ‘बोर्डले यति समयदेखि यति समयसम्म पढाउँदा कोर्स सकिन्छ भनेर कार्यतालिका बनाएको छ। सोहीअनुसार पढाइ हुनुपर्छ। विद्यार्थीलाई ठग्न पाइँदैन।’

किन कम क्रेडिट आवर?

नाम चलेको भनिएका कलेजले भाषा विषयलाई त्यति प्राथमिकता दिएको पाइँदैन। कक्षा ११/१२ मा विज्ञान समूह र व्यवस्थापन समूहका विषय मात्रै पढाइ हुने कलेजमा यस्तो समस्या बढी छ। एक त पाठ्यक्रम विकास केन्द्रले हरेक विषयलाई कम क्रेडिट आवर दिएको छ भने अर्कातिर निजी कलेजहरूले त्यसमा घटाएर पढाउने गरेका छन्।

शिक्षाविद्हरू निजी शिक्षण संस्था नाफामुखी भएका कारण यस्तो प्रवृत्ति मौलाएको बताउँछन्। भाषाका यी विषयमा बढी क्रेडिट आवर पढाउँदा कलेजलाई आर्थिक रूपमा फाइदा हुँदैन। शिक्षक पनि बढी परिचालन गर्नुपर्छ। शिक्षामा नाफा बढी खोज्न थालिएकाले यस्तो समस्या भएको उनीहरूको बुझाइ छ।

शिक्षाविद् प्रा.डा. बालचन्द्र लुइँटेल निजी शिक्षण संस्थामा क्रेडिट आवरअनुसार कक्षातालिका व्यवस्थापन नगर्ने दीर्घरोग रहेको बताउँछन्। उनले भने, ‘आफ्नो स्वार्थ पूरा हुने किसिमले रुटिन बनाउनु गलत हो। यस्तो पद्धतिले विद्यार्थी ठगिएका छन्। सम्बन्धित निकायले अनुगमन नगर्ने हो भने निजी क्षेत्रको मनपरी बढ्दै जानेछ।’

उनका अनुसार केही निजी शिक्षण संस्थाले पाठ्यक्रमलाई सही ढंगमा कार्यान्वयन नल्याएको गुनासो पहिलादेखि आइरहेको छ। ‘यहाँनेर शिक्षा के हो भन्ने प्रश्न उठ्छ। विद्यालय शिक्षा निजी हो कि सरकारी हो? विद्यालय शिक्षा कस्तो हो भन्ने प्रश्न आउँछ’, उनले भने।

अनुगमन कसले गर्ने?

प्रचलित कानुनअनुसार विद्यालय तहको शिक्षाको व्यवस्थापन र अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहको हो। साथै केन्द्रबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनुगमन गर्नुपर्ने व्यवस्था छ। दुवै निकायले अनुगमन नगर्दा निजी विद्यालयले मनपरी गरिरहेको आरोप लुइँटेलको छ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्नुअघि विद्यालयहरूले क्रेडिट आवर पूरा गरे कि गरेनन् भनेर अनुगमन गर्दै आए पनि त्यो प्रभावकारी भएको पाइँदैन। विद्यालयको कक्षातालिका, शिक्षक व्यवस्थापन, सिकाइ गतिविधिजस्ता विषयको अनुगमन स्थानीय तहले गर्नुपर्ने कानुनी प्रावधान छ। यसैगरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पनि अनुगमन गर्नुपर्ने दायित्व हो।

बोर्डका अध्यक्ष शर्मा भन्छन्, ‘अनुगमन हाम्रो क्षेत्राधिकारभित्र पर्दैन। स्थानीय तहले अनुगमन गर्नुपर्‍यो, जसले क्रेडिट आवरअनुसार पढाउँदैन उनीहरूमाथि कारबाही हुनुपर्छ। बोर्डले पनि आफ्नो तरिकाले अनुगमन गर्दै आएको छ। हाम्रो जिम्मेवारी परीक्षा केन्द्रित भएकाले हामी कक्षाकोठासम्म पुग्ने कुरा भएन।’

शिक्षा तथा मानव विकास स्रोत केन्द्रका अधिकारीहरू पनि विद्यालय शिक्षाको सबै अनुगमनको जिम्मेवारी स्थानीय सरकारकै रहेको बताउँछन्। अनुगमनपछि सुधारका लागि कठिन भएमा मात्रै केन्द्रले सहजीकरण गर्दै आएको छ।

केन्द्रका उपमहानिर्देशक एवम् प्रवक्ता वसन्तप्रसाद कोइराला भन्छन्, ‘देशभरका सबै विद्यालयको सूचना हामीसँग हुँदैन। त्यसैले स्थानीय तहले अनुगमन गर्नुपर्छ। सुधारका लागि निर्देशन दिनुपर्छ। त्यसमा कठिनाइ भयो भने मात्रै केन्द्रले सहजीकरण गर्ने व्यवस्था छ।

केन्द्रले केही विद्यालयमा नमुनाका रूपमा भने अनुगमन गर्दै आएको छ। आधारभूत तथा माध्यमिक तहका पढाइमा केन्द्रले सहजीकरण गर्ने र नमुनाका रूपमा अनुगमन गर्दै आए पनि कुनै एउटा विद्यालयमा यस्तो भएको छ भन्ने सूचनाका आधारमा अनुगमन गर्न सम्भव नभएको कोइराला बताउँछन्। उनले भने, ‘पाठ्यभार अनुसार पढाइ भयो या भएन भनेर अनुगमन स्थानीय सरकारबाट हुनुपर्छ। जानकारीमा आएमा हामीले पनि अनुगमन संयन्त्र परिचालन गर्छौँ।’

स्थानीय तहका शिक्षा प्रमुख पनि निजी विद्यालयले क्रेडिट आवरलाई ख्याल नगरेको विषयमा जानकार छन्। ‘हरेक विद्यालयले आआफ्नै तरिकाले पढाउँदै आएको सत्य हो। हामीले त्यस्तो गर्न पाइँदैन पाठ्यक्रमअनुसार पठनपाठन हुनुपर्छ भनेर निर्देशन दिँदै आएका छौँ’, काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुख गोविन्द शर्मा पौडेलले भने। उनका अनुसार महानगरभित्र स्रोत केन्द्र र विद्यालय निरीक्षकहरूबाट अनुगमन भइरहेको छ। ‘क्रेडिट आवरअनुसार पढाइ भएन भने विद्यार्थीले परीक्षामा उत्तर दिनै सक्दैन। हामीले अनुगमन गर्दै आएका छौँ। अबका दिनमा थप प्रभावकारी बनाउनेछौँ’, पौडेलले भने।

क्रेडिट आवरअनुसार पढाइ हुने स्कुल पनि छन्

काठमाडौँको बुद्धनगरमा रहेको रोजबड स्कुल अन्य स्कुलभन्दा फरक छ। उक्त स्कुलमा हरेक विषयलाई समान घण्टी दिइँदै आएको प्रिन्सिपल दामोदर ढुंगानाले बताए। उनले भने, ‘कुनै विषयमा कम, कुनै विषयमा बढी समय दिँदा विद्यार्थीको सिकाइ गतिविधिमा समस्या उत्पन्न हुन्छ। त्यसैले हामीले सबै विषयलाई समान महत्त्व दिने गरेका छौँ।’ उनका अनुसार विद्यालयमा नेपाली विषय सातामा ६ दिन पढाइ हुने गरेको छ।

सामुदायिक विद्यालयमा पनि क्रेडिट आवरअनुसार पढाइ हुने गरेको छ। काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक नारायण गौतम विद्यालयमा पाठ्यक्रम विकास केन्द्रले तोकेअनुसार क्रेडिट आवर पूरा हुने गरी पढाइ भइरहेको बताउँछन्।

विज्ञान विषय समूहमा भने अनिवार्य नेपाली चार घण्टीमात्रै पढाउने गरिएको उनले बताए। गौतमले भने, ‘विज्ञान विषय समूहमा चाहिँ अनिवार्य नेपाली सातामा ४ घण्टी पढाइ हुन्छ। अन्य विषय समूहमा तोकिएभन्दा बढी नै पढाइ हुने दाबी उनको छ।

गौतमले भने, ‘कानुन, व्यवस्थापन, शिक्षा, मानविकी विषय समूहमा अनिवार्य नेपाली ६ घण्टीसम्म पढाइ हुने गरेको छ। विज्ञानको आठ पिरियडसम्म चल्ने भएकाले समस्या भएको हो।’ उनका अनुसार विद्यालयमा अन्य विषय समूह ६ पिरियड पढाइ हुन्छ।

बसुन्धरास्थित साउथ वेस्टर्न कलेजका सञ्चालक राजेन्द्र लामिछाने निजी क्षेत्रका अधिकांश कलेजले कक्षा ११ र १२ मा क्रेडिट आवरअनुसार नपढाएको बताउँछन्। उनले भने, ‘कतिपयले तीन पिरियड मात्रै पढाए पनि कोर्स सक्ने गरी योजना बनाएका हुन्छन्। हामीले पनि यसै गरेका छौँ। त्यसैले कोर्स सक्न समस्या छैन।’ नाम चलेका भनिएका केही कलेजले थोरै पिरियड दिँदा सिकाइको गुणस्तरमाथि प्रश्न उठ्ने उनको भनाइ छ।

कक्षा ११-१२ को पाठ्यक्रममा तोकिएको विषयगत पाठ्यघण्टा

स्रोत : पाठ्यक्रम विकास केन्द्र 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =