२५ मेगावाट क्षमताको दरबाङ- म्याग्दीखोला जलविद्युत्‌को सुरुङको काम सुरु

हिमाल प्रेस १ असार २०८१ ८:०४ | Saturday, June 15, 2024
२५ मेगावाट क्षमताको दरबाङ- म्याग्दीखोला जलविद्युत्‌को सुरुङको काम सुरु

गलेश्वर- पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङको काम सुरु भएको छ।

गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको सो आयोजनाको सुरुङ खन्ने काम पाँच महिनादेखि रोकिएको थियो। विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको करिब एक किलोमिटर लम्बाइको पहिलो अडिटको काम सकिएको आयोजनाका प्रमुख गोपाल रेग्मीले जानकारी दिए।

‘सुरुङ खन्ने जिम्मा लिएका ठेकेदार काम छोडेर माघमा बेपत्ता भएपछि काम रोकिएको थियो’, आयोजना प्रमुख रेग्मीले भने, ‘अहिले आयोजनाले नै कामदार खोजेर अडिट नं २ को काम काम सुरु गरेका छौँ।’

मालिका गाउँपालिका–६ को गोचाखोलादेखि पूर्वतर्फ पाँच सय मिटर र गोजुवा (इल्पु)तर्फ पाँच सय मिटर गरी एक किमी सुरुङ खनिसकिएको उनले बताए। आयोजना प्रमुख रेग्मीका अनुसार जेठ मसान्तसम्म जलविद्युत् आयोजनाको कूल १५ प्रतिशत र सुरुङ खन्ने काम ४२ प्रतिशत पूरा भएको छ।

उनका अनुसार जम्मा दुई हजार नौ सय मिटर सुरुङ निर्माण गर्नुपर्नेमा अहिलेसम्म एक हजार मिटर मात्र खनिएको छ। मालिका– ५ देवीस्थान, ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ।

पाँच अर्ब १५ करोड कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहनेछ। न्यू लगानी वित्तीय संस्थाबाट ऋण लगानी हुने आयोजनाले जनाएको छ।

मालिका गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद रोकाले म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणका क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन निर्माणाधीन अवस्थामा रहेको डाँडाखेत–राहुघाट प्रसारण लाइन र सवस्टेसनको काम सम्पन्न भएपछि निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाले पनि धमाधम गति लिने बताए।

नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माण थालेको छ। सवस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माण सुरु भएसँगै अनुमति लिएर बसेका प्रवर्द्धक सक्रिय भएका छन्।

सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो ९एलएनटी०सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। आयोजनाको ठेक्का अवधि ३० महिनाको छ।

ठेक्का अवधि समाप्त हुनै लाग्दासमेत सवस्टेशन र प्रसारण लाइनको निर्माणले भने गति लिन सकेको छैन। कूल २५ किमी दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ७७ वटा टावर निर्माण हुनेछन्। टावर निर्माण हुने जग्गाको पहिचान र नापजाँच तथा अधिग्रहणका लागि मुआब्जा वितरणको काम सकिएको छ।

प्रकाशित: १ असार २०८१ ८:०४ | Saturday, June 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast