वृद्ध भत्ताको रकम हिनामिना : वडाअध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा

हिमाल प्रेस ३२ जेठ २०८१ १७:३५ | Friday, June 14, 2024
वृद्ध भत्ताको रकम हिनामिना : वडाअध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा

काठमाडौँ- मोरङको रतुवामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तुलाराम लुइटेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा वडाअध्यक्ष लुइटेल लगायत विरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारल रतुवामाई नगरपालिका वडा नं. ६ का तत्कालीन वडा सचिव कल्पना बास्कोटा, ईलाका प्रशासन कार्यालय रंगेलीका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल र सोही कार्यालयका तत्कालीन नासु रमेश कोइराला, रतुवामाई नगरपालिका वडा नं. ६ का मेगदिप पोखरेल, तारा देवी पोखरेल र भक्त कुमारी लुईटेलविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

वडा कार्यालयबाट वितरण गरिदैँ आएको सामाजिक सुरक्षा भत्तामा विवरण किर्ते गरी, सामाजिक सुरक्षा भत्ता वापतको रकम अपचलन गरी भ्रष्टाचार गरेको उनीहरूमाथि आरोप छ।

अख्तियारका अनुसार सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता प्रदान गर्दा वडाध्यक्षसमेतको मिलेमतोमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नरहेको व्यक्तिलाई लाभग्राहीको सूचिमा प्रविष्ट गरी/गराइ सामाजिक सुरक्षा भत्ता कार्ड जारी गरेको पाइएको छ।

यस्तै, नागरिकतामा भएको साविकको जन्म मितिमा फेरबदल गरी सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता प्राप्त गर्न उमेर नै नपुगेका व्यक्तिलाई भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा प्रविष्ट गराउनको निमित्त नागरिकताको प्रथम प्रतिलिपिको लागि वडा कार्यालयबाट गरिने सिफारिसको व्यहोरामा जन्म मितिको उमेर बढाएर बदनियतपूर्ण ढंगले गलत लिखत तयार गरीरगराई सिफारिस गरेको अख्तियारको ठहर छ।

साथै ईलाका प्रशासन कार्यालय रंगेली मोरङले नागरिकताको प्रथम प्रतिलिपि जारी गर्नको निमित्त पेस भएको अनुसूचीको विवरण एकिन नगरी प्रथम प्रतिलिपिका लागि विवरण रहेको कार्यालयबाट विवरण माग तथा रुजु समेत नगरी जन्म मिति फरक पारी प्रतिलिपि नागरिकता जारी गरिदिई बदनियतपूर्ण ढंगले गलत लिखत तयार गर्ने कार्य गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

प्रकाशित: ३२ जेठ २०८१ १७:३५ | Friday, June 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast