मदिराबाट बर्सेनि २६ लाख मानिसको मृत्यु हुन्छ : डब्लूएचओ

हिमाल प्रेस १२ असार २०८१ ७:३४ | Wednesday, June 26, 2024
मदिराबाट बर्सेनि २६ लाख मानिसको मृत्यु हुन्छ : डब्लूएचओ

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मदिराबाट बर्सेनि करिब २६ लाख मानिसको मृत्यु हुने गरेको बताएको छ।

हालैका वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्यरूपमा उच्च’ रहेको संगठनको भनाइ छ।

मदिरा र स्वास्थ्यसम्बन्धी राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा मदिरा सेवन गरेर सवारी चलाउने, मदिरा–प्रेरित हिंसा र दुर्व्यवहार तथा धेरै रोग र विकारका कारण प्रत्येक वर्ष वैश्विकस्तरमा हुने २० मृत्युमा करिब एकको मृत्यु मदिराका कारण हुने बताइएको छ।

उपलब्ध पछिल्लो आँकडाअनुसार सन् २०१९ मा २६ लाख मृत्यु मदिरा सेवनका कारण भएको प्रतिवेदनमा उल्लेख छ। यो सो वर्ष विश्वभरमा भएका सबै मृत्युको चार दशमलव सात प्रतिशत थियो । यसमा करिब तीन–चौथाई मृत्यु पुरुषहरूको भएको थियो।

‘मादक पदार्थको प्रयोगले व्यक्तिगत स्वास्थ्यलाई गम्भीररूपमा क्षति पुर्याउँछ, दीर्घकालीन रोग, मानसिक स्वास्थ्य अवस्थाको जोखिम बढाउँछ र दुःखदरूपमा हरेक वर्ष लाखौँ मानिसको मृत्यु हुन्छ जसलाई रोक्न सकिन्छ’, डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भने।

सन् २०१० पछि विश्वभरमा मदिराको खपत र सम्बन्धित हानिमा केही कमी आएको उनले बताए। युवाहरू असमानरूपमा प्रभावित भएको उल्लेख गर्दै उनले भने, ‘तर मदिराको प्रयोगका कारण स्वास्थ्य र सामाजिक बोझ अस्वीकार्यरूपमा उच्च बनेको छ।’

सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा मदिराका कारण हुने मृत्युको उच्चतम अनुपात १३ प्रतिशत रहेको डब्लूएचओले बताएको छ।

प्रकाशित: १२ असार २०८१ ७:३४ | Wednesday, June 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast