बुद्धिजीवीलाई प्रधानमन्त्रीले भने : परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुस्

हिमाल प्रेस ७ असार २०८१ १२:३० | Friday, June 21, 2024
बुद्धिजीवीलाई प्रधानमन्त्रीले भने : परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुस्

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेले देश र जनतालाई माया नगर्ने दाबी गरेका छन्।

नेपाल बुद्धिजीवी संगठन छैटौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए।

‘सबै नेता उस्तै हुन्,यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो,जसले नकारात्मक भाष्य बनाएका छन्,उनीहरूमा देश र जनताप्रति माया छैन रहँदैन’, प्रधानमन्त्री दाहालले भने,‘इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ,गर्नुपर्छ। तपाईँ बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्,डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नुपर्दैन।’

नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै प्रधानमन्त्रीले संसारभर जनतालाई कतापट्टि डोर्‍याउने भन्ने सवालमा बुद्धिजीवी निर्णायक हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए। उनले भने,‘क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान रहेको छ। हिजो विचार निर्माण र संगठन निर्माणमा बुद्धिजीवीको सक्रियता थियो, आज पनि उत्तिकै छ।’

क्रान्तिपछि भएका महत्त्वपूर्ण कामहरूलाई नजरअन्दाज गरेर परिवर्तनविरोधी भाष्य निर्माण गर्न खोजिएको भन्दै प्रधानमन्त्री दाहालले त्यस्ता गतिविधिको खुलेर विरोध गर्न र प्रतिवाद गर्नुपर्ने आवश्यकता औँल्याए। उनले बुद्धिजीवीहरूको जिम्मेवारी समाजमा सकारात्मक भाष्य निर्माण गरेर आशाको सन्देश प्रवाह गर्नु रहेको पनि बताए।

प्रकाशित: ७ असार २०८१ १२:३० | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast