प्रधानमन्त्रीलाई गगनले भने : नटेर्ने मन्त्री फेर्नू, फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्नू

हिमाल प्रेस ९ असार २०८१ १३:३८ | Sunday, June 23, 2024
प्रधानमन्त्रीलाई गगनले भने : नटेर्ने मन्त्री फेर्नू, फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्नू

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीलाई मन्त्री नफेर्न नसके तत्काल बालुवाटार र सिंहदरबार छोड्न आग्रह गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई मन्त्रीले नटेरेको अभिव्यक्ति दिएका थिए। आज आइतबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै थापाले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि टिप्पणी गरेका हुन्।

‘समानीकरण अनुदानको विषयमा स्थानीय सरकारका प्रमुखहरूले प्रधानमन्त्रीलाई भेट्दा सय प्रतिशत चाहिन्छ भन्नुभएछ। प्रधानमन्त्रीले मेरो त मन छ तर, मन्त्रीले मानेनन् भन्नुभएछ,’ थापाले भने, ‘कति पटक भन्ने यो संसदीय व्यवस्था हो, नटेर्ने भए मन्त्री फेर्ने अनि मन्त्री फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने।’

उनले समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक र संघ सरकारको संवैधानिक दायित्व भएको बताए।

तर, संघीय सरकारले स्थानीय सरकारलाई वकस दिने जस्तो ढंगबाट व्यवहार गेरेको उनको भनाइ छ। ‘तर, यो तजबिजी अधिकार हो। यसपालि पनि यस्तै भयो, सरकारले सात प्रतिशत जति अनुदान घटाउने अरे भन्ने सुनियो स्रोत छैन भन्ने कुरा आयो,’ उनले थपे, ‘वडाको क्षेत्राधिकारभित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने ! स्रोत छैन भनेर अनुदान कटौती गर्ने ? यो अस्वीकार्य र असंवैधानिक छ।’

संसद्‌मा सांसद र मन्त्रीबीच बजेटमाथिको प्रश्नोत्तर कार्यक्रम जारी छ।

प्रकाशित: ९ असार २०८१ १३:३८ | Sunday, June 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast