‘डान्सिङ इन फायर’

हिमाल प्रेस १७ जेठ २०८१ २१:०२
24
SHARES
‘डान्सिङ इन फायर’

काठमाडौँ- नेपाली समाजमा रहेको वायु उतार्ने र खली खाने परम्परामा आधारित वृत्तचित्र ‘डान्सिङ इन फायर’ काठमाडौँमा जारी २१औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा आज (बिहीबार) प्रदर्शन गरिएको छ।

नेपालको खलीखाने चलन र जनस्वास्थ्यका विषयमा चार दशकदेखि अध्ययन गरिरहेका अमेरिकी मानवशास्त्री अल्फ्रेड पार्कले निर्माण गरेको यो वृत्तचित्रलाई रमेश खड्काले निर्देशन गरेका हुन्।

आफ्नो घर तथा कुलमा अकालमा मृत्यु भएका व्यक्तिहरु ‘काँचो वायु’ भएर रहन्छन् र उनीहरूको आत्मालाई पूजाको विधिद्वारा ‘वायु उतार्ने’ जनविश्वास काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा छ।

सोही प्रचलनलाई आधार बनाएर चाँगुनारायण नगरपालिकाको जीतपुरफेदी खड्का गाउँमा भएको वायु उतार्ने र खली खाने चलनलाई समेटिएको वृत्तचित्र ‘डान्सिङ इन फायर’ विश्वका विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ।

एक महिना लामो वायु उतार्ने प्रक्रिया, उनीहरूको सामाजिक माहोल र मृत्युको दुःखबाट छुट्कारा पाउन परिवार र सिंगो समाजले गरेका गतिविधिमा केन्द्रित वृत्तचित्रलाई किम्फमा मन पराइएको छ।

‘यहाँको प्रदर्शनमा पनि राम्रो प्रतिक्रिया पाएका छौँ। विश्वकै लागि नौलो र फरक विषयवस्तु भएकाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यसलाई सहभागी गराइएको छ। यसले पाइरहेको अन्तर्राष्ट्रिय सफलताप्रति हामी खुसी छौँ,’ निर्देशक खड्काले भने।

गत चैतमा फ्रान्सस्थित पेरिसमा सम्पन्न इथ्नो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी ९प्रिमियर० गरिएको वृत्तचित्र फ्रान्सकै कान्स विश्व चलचित्र महोत्सव, जर्मनीको ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ।

उनका अनुसार वृत्तचित्र सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र मेलामा ‘आउटस्ट्यान्डिङ डकुमेन्ट्री’ पुरस्कार, स्वीडिस अन्तर्राष्ट्रिय मोसन पिक्चर अवार्ड र फुकेट अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट वृत्तचित्र’को पुरस्कार जित्नुका साथै डक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भुटान, दुबई अन्तर्राष्ट्रिय चलचित्र कार्निभल, साउथ एसियन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फ्लोरिडामा प्रदर्शन भइसकेको छ।

यसका साथै यही जेठमा अमेरिकामा हुने फिल्म सोसाइटी अफ समिट २०२४ र अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ।

प्रकाशित: १७ जेठ २०८१ २१:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =