दुई पटक राष्ट्रपति भएकी विद्या ‘सक्रिय राजनीतिमा’

किरण पौडेल १७ जेठ २०८१ १६:५६
76
SHARES
दुई पटक राष्ट्रपति भएकी विद्या ‘सक्रिय राजनीतिमा’ नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रद्वारा बुधबार राजधानीमा आयोजित राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति वि द्यादेवी भण्डारी र भेलामा सहभागीहरू। तस्बिर : रासस

काठमाडौँ– नेकपा एमालेको ‘राष्ट्रिय महिला भेला’ को प्रमुख अतिथि बनेकी पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्कन लागेको चर्चा हुन थालेको छ। भण्डारी राष्ट्रपति पदबाट अवकाश भएपछि पहिलोपटक बुधबार प्रमुख अतिथिका रूपमा एमाले ब्यानरको कार्यक्रममा सहभागी भएकी हुन्।

भेला उद्घाटन समारोहमा भण्डारी प्रमुख अतिथि बन्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली विशेष अतिथि बनेका थिए। सांगठनिक कार्यक्रममा ओली प्रमुख अतिथि बन्दै आएका छन्। पार्टी अध्यक्ष भएकाले प्रमुख अतिथि बन्नु स्वाभाविकै हो।

भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा भएको भने यो पहिलोपटक होइन। राष्ट्रपति पदमै रहँदा पनि भण्डारी पूर्ववर्ती पार्टी एमालेसँग जोडिएको आरोप लागेको थियो। शीतलनिवासमा बसेर मन्त्रिपरिषद्मा भाग खोजेको र एमालेका आफूनिकट नेताहरूलाई काखी च्यापेको आरोप उनीमाथि थियो। भण्डारी दुई कार्यकाल राष्ट्रपति भएर २०७९ फागुनमा अवकाश भएकी हुन्। उनीभन्दा अघिका राष्ट्रपति रामवरण यादव भने निष्क्रिय छन्।

राष्ट्रपति रहेका बेला संसद् विघटनजस्तो असंवैधानिक काममा ओलीलाई साथ दिएका कारण भण्डारी विवादमा तानिएकी थिइन्। त्यति बेलादेखि भण्डारीले एमाले नेतृत्व सम्हाल्न सक्ने आकलन गरिएको थियो। बुधबारको कार्यक्रमपछि भने भण्डारी सक्रिय राजनीतिमा फर्किने बलियो सम्भावना देखिएको एमाले नेताहरू बताउँछन्। भण्डारीले भने सक्रिय राजनीतिमा लाग्ने विषयमा केही बोलेकी छैनन्।

भण्डारीको राजनीतिक सक्रियताप्रति एमाले नेताहरूबीच भिन्नभिन्न मत छ। एकथरी नेता भण्डारी सक्रिय राजनीतिमा आउनुपर्ने जोड दिन्छन्। राष्ट्रपति रहँदा कुशलतापूर्वक पदीय जिम्मेवारी निर्वाह गरेकाले राजनीतिमा आउनुपर्ने तर्क उनीहरूको छ। अर्काथरी नेता भने भण्डारी एमालेमा फर्किन नसक्ने दाबी गर्छन्। उनीहरू भण्डारी अभिभावक भएकाले मात्र प्रमुख अतिथि बनेको सुनाउँछन्।

भण्डारी राष्ट्रपतिबाट अवकाश भएपछि एमाले निकट संगठनका कार्यक्रममा देखिँदै आएकी छन्। गत वैशाख १० मा एमालेले भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ले सम्मान गरेको थियो। कार्यक्रममा पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीसमेतको उपस्थिति थियो।

एमालेले कम्युनिस्ट पार्टी गठनको ७५ वर्ष पुगेको अवसरमा भण्डारीलाई सम्मान गरेको थियो। एमाले उपमहासचिव विष्णु रिमालले राष्ट्रपति रहँदा खेलेको भूमिकालाई मूल्यांकन गर्दै भण्डारीलाई सम्मान गरिएको बताएका थिए। ‘हाम्रो गौरव गर्नै व्यक्ति उहाँ (विद्या भण्डारी) हुनुहुन्छ। उहाँले खेलेको भूमिका महत्त्वपूर्ण छ’, रिमालले भनेका थिए।

गत जेठ ३ मा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको मदन-आश्रित स्मृति कार्यक्रममा पनि भण्डारी उपस्थित थिइन्। उनले कार्यक्रममा मदन-आश्रितका विषयमा बोलेकी थिइन्। मदन भण्डारी राष्ट्रपति भण्डारीका पति हुन्।

मदन भण्डारी फाउन्डेसन पनि विद्या भण्डारी माताहतबाटै चल्ने गरेको छ। यसअघि फाउन्डेसन अध्यक्षमा भण्डारीकी छोरी उषाकिरण थिइन्। उषाले राजीनामा दिएपछि अध्यक्षमा महेन्द्रबहादुर पाण्डे आएका छन्। पाण्डे पनि भण्डारी निकट मानिन्छन्।

राष्ट्रपतिमा चुनिएपछि भण्डारी पार्टी जिम्मेवारीबाट अलग भइन्। औपचारिक रूपमा उनी पार्टीको कुनै पदमा नरहे पनि एमालेका कार्यक्रममा महिला नेत्री, पूर्वउपाध्यक्ष एवम् प्रथम महिला राष्ट्रपतिजस्ता शब्दले सम्बोधन गरिन्छ।

एमालेका नेताहरू सक्रिय राजनीतिमा प्रवेश गर्दा कसरी गर्ने भनेर भण्डारीले योजना बनाइरहेको दाबी गर्छन्। ‘उहाँ एमालेको कार्यक्रममा आउन थाल्नुभयो। कुन पद दिने भन्न सकिने अवस्था छैन’, एमालेका एक पदाधिकारी भन्छन्, ‘अध्यक्ष बन्ने वा अरू कुनै पद ठ्याक्कै योजना बनेको छैन।’

एमालेका ती नेताका अनुसार भण्डारीलाई एमालेको नेतृत्व सम्हाल्ने इच्छा छ। तर कहिले र कसरी भन्न सकिने अवस्था छैन। उनी एमालेकी दुई कार्यकालकी उपाध्यक्ष हुन्। उनी झलनाथ खनाल र पहिलोपटक ओली अध्यक्ष बन्दा उपाध्यक्ष थिइन्।

भण्डारीसँग पटकपटक मन्त्री भएको अनुभव पनि छ। उनी महिला, बालबालिका र रक्षामन्त्रीसम्म बनेकी छन्। राष्ट्रपति चुनिएपछि पनि भण्डारी ‘उमेरमै’ जिम्मेवारीविहीन पदमा पुगेको गुनासो गर्थिन्। अझै पनि सक्रिय राजनीति गर्ने समय रहेको बुझाइ भण्डारीको थियो। ‘उहाँ नेतृत्वमा आउँदा कसैको केही बिग्रिँदैन। संविधानले पनि छेक्दैन,’ एमाले नेता गोकुल बास्कोटा भन्छन्, ‘उहाँमा के कमी छ? आउनुहुन्छ त म भन्दिनँ तर आउँदा केही बिग्रिँदैन।’

ओली ‘सकारात्मक’

केही समयअघिसम्म एमाले अध्यक्ष ओली भण्डारीको सक्रियताप्रति सन्तुष्ट थिएनन्। भण्डारी पूर्वराष्ट्र प्रमुखकै रूपमा बस्नुपर्ने पक्षमा थिए ओली। ओलीले औपचारिक कार्यक्रममा पनि भण्डारी पूर्वप्रमुख रहेको बताउँदै आएका थिए। पछिल्ला दिनमा भण्डारीको सक्रियताप्रति ओली सकारात्मक देखिएका छन्।

एमालेका एक नेता भण्डारीसँग ओलीको सम्बन्ध राम्रो रहेको दाबी गर्छन्। ‘दोस्रो स्तरका नेताहरूले सम्बन्ध बिगारेका हुन्। उहाँहरूबीच त्यस्तो छैन’, ती नेताले भने। ओली पनि आफूले नेतृत्व छाड्नुपरे भण्डारीलाई अघि बढाउने पक्षमा रहेको दाबी ती नेताको छ।

कतिपयको बुझाइमा ओलीले यसो भन्नुको कारण एमालेको वर्तमान पदाधिकारी कमजोर हुनु हो। ओलीले उत्तराधिकारीका रूपमा अघि बढाएका शंकर पोखरेलको सांगठनिक गतिविधि फितलो देखेका छन्। १० औँ महाधिवेशनबाट महासचिव चुनिएका पोखरेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए। प्रदेश र जिल्लाको गुटमा पनि उनी कमजोर देखिएका छन्। सोही कारण पोखरेलसँग ओली सन्तुष्ट छैनन्।

भण्डारी ६३ वर्षकी भइन् भने ओली ७० कटिसके। उत्तराधिकारी सक्रिय नबन्दा ओली नै भण्डारीलाई सक्रिय बनाउन लागेको चर्चा एमाले वृत्तमा छ। ‘भण्डारी एमोलेको राजनीतिमा सक्रिय रहन सक्नुहुन्छ’, एमाले नेता विशाल भट्टराई भन्छन्, ‘उहाँ पहिलेको राष्ट्रपतिजस्तो निष्क्रिय रहनुहुन्न।’ भट्टराई एमालेलाई नेतृत्व दिनुपरेमा पनि भण्डारी तयार रहेको सुनाउँछन्।

भण्डारीले पनि एमालेमा सक्रियता देखाउन सकिने बताउने गरेकी छन्। राष्ट्रपति रहँदैको एक टेलिभिजन अन्तर्वार्तामा भण्डारीले अकस्मात् ‘राष्ट्रपति बन्नुपरेको’ बताएकी थिइन्। अबको राजनीतिक भविष्य पनि ‘घटनाक्रमले देखाउने’ बताएकी थिइन्।

प्रकाशित: १७ जेठ २०८१ १६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =