सगरमाथा आरोहणबाट फर्किंदा पोखराका पर्यटन व्यवसायी बस्ताकोटीको निधन

हिमाल प्रेस १७ जेठ २०८१ १३:०५
52
SHARES
सगरमाथा आरोहणबाट फर्किंदा पोखराका पर्यटन व्यवसायी बस्ताकोटीको निधन

पोखरा- पोखराका एक जना युवा पर्यटन व्यवसायीको सगरमाथा आरोहण गरेर फर्किने क्रममा मृत्यु भएपछि यहाँका पर्यटन व्यवसायी दुखित भएका छन्। पोखरा २६, खराने फाँटका ३७ वर्षीय विनोदबाबु बस्ताकोटीले गत जेठ ९ गते बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए। उनको आरोहणले यहाँका पर्यटन व्यवसायी उत्साहित थिए। सबैले खुसी साटासाट गरे पनि आखिर त्यो खुसी धेरैबेर टिकेन।

आरोहणबाट फर्किने क्रममा जेठ ११ गते साँझ करिब ५ बजे सगरमाथाको चौंथो शिविरको माथि सोलुखुम्बु खुम्बु पासाङ ल्हामु गाउँपालिका ४, बालकुनीको तल करिब ८ हजार २ सय ५० मिटरमा आइपुग्दा उनी अचानक बिरामी भई ज्यान गुमाएका हुन्।

उनले घरका सदस्यलाई समेत सरप्राइज दिने भनी आफू सगरमाथा आरोहणबारे यसअघि बताइसकेका थिएनन्। एक्कासि मृत्युको खबरले घरपरिवार समेत शोकमा छ।

गत वैशाख २१ गते उनले पर्यटन विभागबाट आरोहणका लागि अनुमति लिएका थिए। उनी पायोनियर एभरेस्ट एक्सिडिसन २०२४ नामक आरोहणदलमार्फत आरोहणमा गएका हुन्।

आधार शिविर व्यवस्थापन गर्ने उनी गएको कम्पनीको क्याम्प म्यानेजर कोही नहुँदा उनले प्रयोग गरेको झोला किचनका स्टाफमार्फत् आधार शिविरमा अवस्थित पर्यटन विभाग अस्थायी फिल्ड कार्यालय, सगरमाथा आधार शिविरमा बुझाएको इन्जिनियर खिमलाल गौतमले बताए।

स्व. बस्ताकोटीको शव उनका दाजु रामबाबु बस्ताकोटीले बुधबारमात्र बुझेका छन्। यसैबीच, पोखराका मेयर धनराज आचार्यले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना दिएका छन्। उनले बस्ताकोटीको सम्मानजनक बिदाइमा सहभागी हुने आग्रह गरेका छन्।

प्रकाशित: १७ जेठ २०८१ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =