राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ देखि

हिमाल प्रेस १४ जेठ २०८१ १२:४४
4
SHARES
राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ देखि

काठमाडौँ- गणतन्त्र दिवसका अवसरमा जेठ १५ देखि (मंगलबार)देखि राष्ट्रिय ललितकला प्रदर्शनी- २०८१ सुरु हुने भएको छ। गत फागुन १७ गतेदेखि चैत १६ गतेसम्म भएको प्रादेशिक ललितकला प्रदर्शनी-२०८० मार्फत छानिएका कलाकृति समावेश गरेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ गर्न लागिएको हो।

यसवर्ष प्रदर्शनीमा चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति राखिने प्रदर्शनीका संयोजक एवं प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताए।

उनका अनुसार प्रदर्शनीमा कोसी प्रदेशबाट ४२ कलाकारका ४३, मधेसबाट ५७ कलाकारका ६१, बागमतीबाट दुई सय ३३ कलाकारका दुई सय ६७, गण्डकीबाट ४२ कलाकारका ४६, लुम्बिनीबाट ७० कलाकारका ७०, कर्णालीबाट २३ कलाकारका २८ तथा सुदूरपश्चिमबाट ४२ कलाकारका ४३ कलाकृति राखिने छ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीले राज्यको संघीय अवधारणाअनुसार सुरुमा प्रादेशिक ललितकला प्रदर्शनी–२०८० गरी त्यहाँबाट छानिएका कलाकृति राष्ट्रिय प्रदर्शनीमा समेटिएको तथा दुई चरणको छनोटले उत्कृष्ट कृति समावेश गर्न लागिएको बताए।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीमा देशका सातै प्रदेशबाट छानिएका उत्कृष्ट कलाकृति देख्न पाइने बताए। कला क्षेत्रको पुनर्जागरणका लागि प्रतिष्ठानले स्थानीय तहमै पुगेर काम गरिरहेको उनको भनाइ छ।

 

मानन्धर र श्रेष्ठलाई अरनिको सम्मान

यसवर्षको अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान प्राज्ञ किरण मानन्धर (पूर्वकुलपति) र अग्रज कलाकार श्यामवदन श्रेष्ठ (वरिष्ठ हस्तकलाकार) लाई प्रदान गरिने भएको छ। उक्त पुरस्कारको राशि जनही रु एक लाख ५० हजार छ।

सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरिने छ। उक्त पुरस्कारको राशि रु एक लाख छ। प्रतिष्ठानले यसपटक ६६ पुरस्कार प्रदान गर्न लागेको छ। यसपटक प्रदेशगत रुपमा कलाकारले हरेक विधाबाट पुरस्कार पाउने छन्।

प्रदर्शनीमा रु ६० हजार राशिको राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक मूर्तिकलातर्फ श्रवणकुमार महर्जन, परम्परागत चित्रकलातर्फ महेश्वर डङ्गोल, परम्परागत मूर्तिकलातर्फ सुमन शाक्य, हस्तकलातर्फ विनोदकुमार बज्राचार्य, लोककलातर्फ विजयकुमार दत्त कायस्थ, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत प्रतिस्थापन कलातर्फ टासी सलाका र फोटोग्राफीतर्फ रामगोपाल वैद्यलाई प्रदान गरिने छ।

ललितकला लेखन पुरस्कार प्राज्ञ ज्ञानेन्द्र विवश, ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्रका पत्रकार सुकृत नेपाल र द राइजिङ नेपालकी रेनुका ढकाललाई प्रदान गरिने भएको छ। ललितकला लेखन पुरस्कारको राशि रु ६० हजार र ललितकला पत्रकारिता पुरस्कारको राशि रु ३०/३० हजार रहेको छ। कला प्रवद्र्धन सम्मान भने नेपाल व्यावसायिक कलाकार संघलाई प्रदान गरिने छ।

यस वर्ष थपिएको विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट अभिषा घिमिरे (इलाम), मधेस प्रदेशबाट आरतीकुमारी साह (महोत्तरी), बागमती प्रदेशबाट रमिता तामाङ (काभ्रे), गण्डकी प्रदेशबाट सपना नेपाली (कास्की), लुम्बिनीबाट सोनु हरिजन (रुपन्देही) र सुदूरपश्चिम प्रदेशबाट रोशन भण्डारी (धनगढी)लाई प्रदान गरिने भएको छ। पुरस्कारको राशि जनही रु ३० हजार रहेको छ।

यस वर्षदेखि सुरु गरिएको ‘सहिद कलाकार अनिल लामा स्मृति पुरस्कार २०८०’ लक्ष्मण भुजेल र ‘सहिद कलाकार बाबुराम लामा स्मृति पुरस्कार २०८०’ प्राज्ञ भुवन थापालाई प्रदान गरिने छ। पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ।
–––

प्रकाशित: १४ जेठ २०८१ १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =