काठमाडौँ- पिपल्स क्याम्पसले आयोजना गरेको दुई दिने व्यवस्थापन सम्मेलन समापन भएको छ। प्राज्ञिक अनुसन्धानलाई निरन्तरता दिने उद्देश्यले राष्ट्रिय व्यवस्थापन सम्मेलन आयोजना गरिएको हो।
कार्यक्रममा विशेष प्रवचन दिँदै प्राध्यापक डा.अह्रन स्थापितले अर्काको कुरा सुन्ने अभ्यास र धैर्यको अभावमा सक्रिय सिकाइ विकास हुन नसक्ने बताए।
‘कुनै पनि कामलाई परिणाममुखी बनाउन र लक्ष्य हासिल गर्न हामीले सेवाग्राहीको कुरा सुन्नुपर्छ,’ स्थापितले भने,‘शिक्षकले विद्यार्थीको,सेवा प्रदायकले लाभग्राहीको,उत्पादकले उपभोक्ताको कुरा सुन्नुपर्छ। कुरा नसुन्दा दिन खोजिएको सन्देश नपुग्ने मात्र होइन, बरु गलत सन्देश जाने डर हुन्छ।’
प्रविधिको विकासले आजकल सुन्ने/सुनाउने माध्यम सहज भएको छ। अब प्राज्ञिक कर्ममा सुन्ने/सुनाउने काममा प्रविधिको उपयोग हुनुपर्नेमा पनि उनले जोड दिए।
सम्मेलनका अर्का सहभागी शंकरनाथ अधिकारीले साना तथा मझौला उद्योगहरूमा डिजिटल रूपान्तरणको प्रभावबारेको आफ्नो अनुसन्धानका निष्कर्ष सुनाएका थिए भने शंकर ढोडारीले गरिबी निवारणमा लघुवित्तको भूमिका शीर्षकको अनुसन्धानमा धादिङको चरौंदीको अनुभव सुनाएका थिए।
अनुसन्धाता राजकुमार श्रेष्ठले काठमाडौँका शैक्षिक संस्थाहरूमा कार्यरत शिक्षकहरूको रोजगार सन्तुष्टिबारेको अनुसन्धान निष्कर्ष सुनाएका थिए। अर्का अनुसन्धानकर्मी निश्चल रिसालले नेपालका १० जीवन बिमा कम्पनीहरूको १६ वर्ष अवधिको तथ्यांक केलाएर तिनीहरूको कार्यव्यापारलाई विश्लेषण गरेका थिए।
सम्मेलनमा अर्का अनुसन्धानकर्मी प्रज्वलसिंह थापाले नागरिकलाई सशक्त बनाउन भनेर निर्माण गरिएको पाठ्यक्रममा सांस्कृतिक पक्षको ठूलो महत्त्व हुने बताए। पाठ्यक्रम निर्माणमा संलग्नहरूको सामाजिक चेत तथा स्वार्थले पनि गहिरो अर्थ राख्ने हुँदा प्रविधिको विकाससँगै ‘आलोचनात्मक चेत’ विकास गर्ने पाठ्यक्रम बन्नुपर्ने धारणा व्यक्त गरेका थिए।
क्याम्पसले आगामी दिनमा पनि यस्ता सम्मेलनलाई निरन्तरता दिने पिपल्स क्याम्पसका क्याम्पस प्रमुख मनोजबहादुर कुँवरले बताए। ‘शिक्षणमा संलग्न सहकर्मीहरूलाई अनुसन्धानको अभिमुखीकरणमा सहायता होस् भन्ने हेतुले यो सम्मेलन आयोजना गरिएको हो,’ क्याम्पस प्रमुख कुँवरले भने,‘साथै विद्यार्थीहरूलाई पनि अनुसन्धान अभिमुखीकरण गर्ने उद्देश्य हो।’
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा गत साता भएको सम्मेलनमा विद्यार्थी तथा शिक्षकहरूको सक्रिय र उत्साहजनक सहभागिता रहेको उनले बताए।
सम्मेलनमा पिएचडी तथा एमफिल गरिरहेका अनुसन्धानकर्मीहरूले आफ्नो शोधमा आधारित रहेर प्रस्तुति दिएका थिए। सम्मेलनमा १९ वटा कार्यपत्र प्रस्तुत भएको थियो।