तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्क रहन आग्रह

हिमाल प्रेस १३ जेठ २०८१ १७:०२
72
SHARES
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्क रहन आग्रह फाइल तस्बिर।

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाले आइतबार ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन प्रकाशन गर्दै आगामी तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सोको असरबाट बच्न आवश्यक तयारीसहित सतर्कता अपनाउन अनुरोध गरेको हो।

महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, माङ्सपेशीहरू दुख्ने, बान्ता हुनेलगायत समस्या आउने भन्दै सर्तकता अपनाउन अनुरोध गरेको हो।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिड्ने, हल्का तथा सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, पानीका साथै झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरिएको छ

प्रकाशित: १३ जेठ २०८१ १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =