जंगलमा फोहोर डढाएर समृद्धि खोज्दै मेयर हर्क साम्पाङ

विवेक विवश रेग्मी १३ जेठ २०८१ १७:३२
220
SHARES
जंगलमा फोहोर डढाएर समृद्धि खोज्दै मेयर हर्क साम्पाङ धरान क्षेत्रमा पर्ने चारकोसे क्षेत्रमा डढाइएको फोहोर। तस्बिरहरू : विवेक विवश रेग्मी

इटहरी– धरान बाहिरबाट सुन्दा जति सुन्दर लाग्छ, यसको कुरूप दृश्यचाहिँ कोशी राजमार्गको पानीपिया क्षेत्रमा पाइला राख्नेबित्तिकै देखिन्छ। चारकोसे लाग्नासाथ मानिस निस्सासिन्छन्। यसको कारण हो, धरान क्षेत्रमा फोहोर जंगलमा डढाउनु।

सेउती पुलनजिकै चारकोसे फोहोर डढाउँदा वायु प्रदूषण त बढेको छ नै जंगल क्षेत्रका जीवजन्तु पनि संकटमा परेका छन्। बिहान र बेलुकाको समयमा यहाँ डढाएको फोहोरका कारण हिँडिनसक्नु हुन्छ। यात्रुमात्रै होइन, यहाँ डढाइएको फोहोरका कारण इटहरी र सुनसरीको रामधुनी क्षेत्रसमेत प्रत्यक्ष रूपमा प्रभावित बन्दै आएको छ।

यसबारे न वन कार्यालय बोल्छ, न सम्बन्धित पालिकाका जिम्मेवार व्यक्तिहरूले नै चासो दिएका छन्।

धरान उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका नाममा जंगल क्षेत्रमा वर्षौँअघिदेखि फोहोर डढाउँदा मानवीय रूपमा मात्रै नभई पर्यावरणीय दृष्टिकोणमा समेत असर परिरहेको छ। फोहोर डढाउँदा त्यसबाट निस्किएको धुवाँले विभिन्न रोग संक्रमण हुने डर उत्तिकै रहेको स्वास्थ्यविज्ञहरू बताउँछन्।

धरान उपमहानगरपालिका त्यही सहर हो, जुन कुनै बेला देशभर चर्चा पाएको थियो। चर्चा पाउनुको एउटै कारण हो, स्वतन्त्रबाट उम्मेदवारी दिएर उपमहानगरको मेयर बनेका हर्क साम्पाङ। साम्पाङको सहर यतिसम्म कुरूप छ कि त्यहाँभित्रको वास्तविक कथा बुझेकाहरूले मात्रै महसुस गरेका छन्। जानकारहरू धरानले ‘जंगलमा फोहोर डढाएर समृद्धि खोजेको’ भन्दै व्यंग्य गर्छन्।

मेयर साम्पाङ र नगरपालिकाको कार्यशैली पनि विरोधाभासपूर्ण छ। साम्पाङ हरेक नागरिकले श्रमदान गनुपर्छ भन्ने पक्षमा छन्। यस क्रममा उनले जंगलमा बोटबिरुवा रोप्न पनि उत्प्रेरणा गरिरहेका छन्। उपमहानगरले भने फोहोर व्यवस्थापनका नाममा चारकोसे क्षेत्रमा फोहोर डढाएर रोग उत्पादन गरिरहेको स्थानीय बासिन्दा बताउँछन्।

फोहोर डढाउँदा पर्यावरण, वन्यजन्तु र बोटबिरुवासमेत मासिने जानकारहरू बताउँछन्। यही बाटो भएर हरेक दिनजसो ओहोरदोहोर गर्ने रोसन भुजेलले यहाँ डढाएको फोहोरको धुवाँका कारण आफूहरूलाई सास फेर्न असर परिरहेको बताए।

‘फोहोरबाट निस्किएको धुवाँले पिरो खारका कारण निस्सासिएर बस्नुपर्छ,’ उनी भन्छन्, ‘यहाँबाट हरेक दिन धुवाँ निस्किन्छ। फोहोरको डंगुर जंगलमा थुपारेर धरानले समृद्धि कहाँ पाउँछ?’

उनले धरानबाट उत्पादन हुने फोहोर चारकोसे क्षेत्रमा थुपार्नु र डढाउनुले आममानिसको जीवनमाथि खेलवाड भइरहेको बताए। ‘यहाँ यसरी फोहोर फाल्नु र डढाउनुले आममानिसको स्वास्थ्यमाथि जिम्मेवार निकाय गैरजिम्मेवार छ भन्ने पनि बुझ्न सकिन्छ,’ उनले भने। वर्षात्को समयमा सेउती खोलामा आएको बाढीले यहाँको फोहोर बगाएर रामधुनी क्षेत्रमा पुर्‍याउने गरेको छ।

रामधुनी क्षेत्र खेतीयोग्य जमिन भए पनि धरानको फोहोरसँगै सिरिन्जहरूसमेत बाढीले खेतसम्म पुर्‍याउँदा वर्षौँदेखि उस्तै समस्यामा समय गुजार्नुपरेको रामधुनी क्षेत्रका बासिन्दाको दुःखेसो छ।

धरान उपमहानगरपालिकाका पूर्वमेयर तिलक राई भन्छन्, ‘सहरीकरणसँगै बढ्दो जनसंख्याका कारण र व्यापारिक सहरका रूपमा स्थापित भएपछि धरानमा फोहोर थुप्रिने क्रम लामो समयदेखि भइरहेको हो। अझैसम्म फोहोर व्यवस्थापन हुन सकेको छैन।’

उनले आफू निर्वाचित भएर आउनुअगाडिकै कार्यकालमा धरान ६ स्थित पानबारीमा फोहोरमैला व्यवस्थापन र प्राकृतिक ग्यास उत्पादन गर्ने भनेर एक निजी कम्पनीसँग फोहोरमैला प्रशोधन केन्द्र निर्माणको सम्झौता भएको बताए।

केन्द्रीय सरकारसँगकै सहकार्यमा फोहोरमैला प्रशोधन केन्द्र निर्माण गरी २० वर्षपछि पुनः उपमहानगरलाई हस्तान्तरण गर्ने गरी तयारी गरिए पनि हालसम्म पनि चारकोसे क्षेत्रमै फोहोर फालिएको राईले बताए।

‘चारकोसे झाडीमा फोहोरमैला डढाएको विषयमा विगतदेखि नै जनमानसले खबरदारी गर्नुभएको थियो। हामीले प्राकृतिक ग्यास निर्माण सम्पन्न गनुपर्छ भन्ने विषयमा निरन्तर चासो पनि राखेका थियौँ,’ उनले हिमाल प्रेससँग भने, ‘हाम्रो कार्यकालमा उपमहानगरले फोहोर डढाउने कार्य त गरेको थिएन। फोहोर डढाएको पाइए नियमन गर्नुपर्ने हो।’

पछिल्लोपटक धरानमा नगर प्रहरीसमेत थप भए पनि त्यस क्षेत्रमा नगर प्रहरीको उपस्थितिचाहिँ छैन। नगर प्रहरी परिचालन गरेर फोहोर डढाउने कार्य नगर्न उनले सुझाव दिए। राईले भने, ‘नगर प्रहरी परिचालन गर्नुपर्छ। फोहोरको विषयभन्दा अन्य काममा मात्रै नगर प्रहरी परिचालित छन्।’

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका छाती तथा फोक्सो रोग विभागमा कार्यरत डा. अग्रज उप्रेतीले धुवाँ, धुलोले हरेक प्राणीलाई असर गर्ने बताए।

धुवाँ, धुलोबाट आएका कणहरूले मानिसको शरीरका विभिन्न क्षेत्रमा प्रत्यक्ष असर पार्ने डा. उप्रेती बताउँछन्। ‘त्यसबाट आएका कणहरूले मानव स्वासनलीमै अड्किने, आँखामा समस्या हुनेजस्ता असर देखिन्छ,’ उनले भने, ‘सूक्ष्म कणका कारण रगतको माध्यमबाट अरू ठाउँमा जाने र मुटुमा समेत समस्या हुन्छ।’

यसैगरी प्लास्टिकको धुवाँले सबैभन्दा बढी असर गर्नेे उनको भनाइ छ। यसकारण खोकी लाग्छ र फोक्सोको रोगी बढ्दै जान्छन्।

‘धुलोधुवाँले दमका बिरामीलाई बढी गाह्रो पार्छ,’ डा. उप्रेती भन्छन्। उनले वन क्षेत्रमा फोहोर डढाउनुको सट्टा डम्पिङ साइट निर्माण गरी त्यहाँ व्यवस्थापन गर्दा मानव स्वास्थ्यलाई असर नपर्ने बताए।

धरान उपमहानगरपालिकाका वातावरण अधिकृत भेषराज घिमिरेले फोहोर प्रशोधन केन्द्र निर्माण चरणमा रहेकाले हाल चारकोसे क्षेत्रमै फोहोर व्यवस्थापन गरिएको बताए। उनका अनुसार धरानबाट हरेक दिन ४५ टन फोहोर निष्कासन हुन्छ। त्यसमध्ये हरेक दिन ३५ टन संकलन हुँदै आएको छ। जसमध्ये हाल १५ टन फोहोर प्रशोधन केन्द्रमा पठाइने र बाँकी २० टन फोहोर चारकोसे क्षेत्रमै व्यवस्थापन गरिँदै आएको घिमिरे बताउँछन्।

‘फोहोर डढाउने हाम्रो नीति होइन। कतिपय सडक मानवहरूले फोहोरमा तामा, फलामजस्ता धातु खोज्नका निम्ति रातको समयमा आएर आगो लगाउने गरेका रहेछन्,’ उनको दाबी छ, ‘त्यस्तो थाहा पाएको अवस्थामा हामी कारबाहीसमेत गर्छौँ। नियमन पनि गरिरहेका छौँ।’

फोहोरमैलाको थुप्रोमा गएर सडक मानवले धातु हात पार्ने उद्देश्यले आगो लगाएको उनले दाबी गरे। फोहोर चारकोसे क्षेत्रमा फाल्ने कार्य धरानले मात्रै नगरेको बताए। ‘जंगल क्षेत्रमा फोहोर व्यवस्थापन धरानको मात्रै होइन। मोरङको बेलबारी र सुन्दरहरैँचा नगरपालिकाले पनि वन क्षेत्र नै प्रयोग गरेर फोहोर व्यवस्थापन गर्दै आएका छन्,’ उनले भने, ‘फोहोर व्यवस्थापन गर्ने सन्दर्भमा एक ठाउँको फोहोर अर्को ठाउँमा फाल्नु व्यवस्थापन होइन, वन क्षेत्रमा नफाल्नका लागि कसरी घटाउने भन्नेबारे हामी अध्ययन पनि गरिरहेका छौँ।’

उनले पछिल्लो समय प्लास्टिकजन्य फोहोरको मात्रा बढेको सुनाए। धरानको सहरी क्षेत्रमा फोहोरको प्रकृति हेर्दा प्लास्टिकको फोहोर २५ प्रतिशत पुगेको उनको भनाइ छ।
यही तथ्यांक १० वर्षअघि भने १० प्रतिशत मात्रै रहे पनि पछिल्लोपटक २५ प्रतिशतसम्म प्लास्टिकजन्य फोहोर उत्पादन हुने वातावरण अधिकृत घिमिरे बताउँछन्। ‘प्रयोकर्ताले पनि कसरी कम गर्ने भन्ने जानकार हुन जरुरी छ,’ उनले भने, ‘हामीले पनि प्लास्टिकजन्य फोहोर कम गर्ने प्रयास गरिरहेका छौँ।’

प्रकाशित: १३ जेठ २०८१ १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =