नियात्रा

लगलगेको उकालो र अनाम पहाड

राजाराम बर्तौला १२ जेठ २०८१ १५:१४
104
SHARES
लगलगेको उकालो र अनाम पहाड

थानकोटको दक्षिण पश्चिम पाखोलाई लगलगे पाखो भन्दछन्। काठमाडौँबाट त्यहाँसम्म जान कुनै समस्या छैन। साझा यातायातको बस चल्छ। थानकोट पुलिस चौकीबाट नागढुंगापट्टि लागेपछि त्रिभुवनपार्क आउँछ र त्यहाँभन्दा अलिक पश्चिम गएपछि पुरानो थानकोट बजार आउँछ। त्यहाँबाट दक्षिणपश्चिमको बाटो उकालो लागेपछि लगलगे पाखो प्रवेशद्वारमा पुगिन्छ। पर्यटन केन्द्रबाट सूचना पाटीहरूसमेत राखिएको छ यहाँ।

सामुदायिक जंगल हो भन्ने यसको व्यवस्थापकीय ढाँचाबाट प्रस्ट देखिन्छ। यो चन्द्रागिरि नगरपालिकाअन्तर्गत लगलगेपाखा सामुदायिक वन उपभोक्ता समूहद्वारा संरक्षित वन हो। वनजंगलको उचित संरक्षण गरिएको देखिन्छ।

काठमाडौँबाट पश्चिम नागढुंगातर्फ हेर्दा त्यहाँबाट बिस्तारै उचाइ लिँदै गएको र तरेली परेको डाँडापाखा देखिन्छ। काठमाडौँको सूर्य यही डाँडाबाट ओझेल परेर अस्त हुन्छ। सहज उचाइ लिँदै र यदाकदा ससाना थुम्काहरूमा सुस्ताउँदै यो पहाडी रेखा एकातिर काठमाडौँ र अर्कोतिर धादिङ तथा मकवानपुर हेर्दै यात्रा अघि बढ्छ। कतैकतै करिब दस मिटरको फराकिलो धार हुँदै भन्ज्याङमा पुगेर रोकिन्छ। भन्ज्याङ कटेर पूर्वी उकालो लागेपछि पुगिन्छ २५५० मिटर अग्लो चन्द्रागिरि।

बिहान ठिक आठ बजे लगलगे पाखोको प्रवेशद्वारबाट जंगल प्रवेश गर्‍यौँ। पदयात्रा समूहमा ३२ जना थियौँ। पदयात्रा सुरु गर्नुअघि आयोजक हाइक फर नेपालले यो पदयात्रा औसत गाह्रोको स्तर भनी सूचनामा उल्लेख गरेको थियो। सोहीबमोजिम मनस्थिति बनाएर पदयात्रामा सामेल भइएको थियो। पदयात्राको सुरु प्रस्थान बिन्दुमा लगलगे सामुदायिक वनका सूचना अधिकारीले शिखरमा पुग्न तीन तहको पहाडको थुम्का पार गर्नुपर्ने बताए। उनले पहिलो स्तरको उकालोमा पूरै ढुंगाको सिँढी बनाइएको, दोस्रोमा सिँढी नभएको र तेस्रोमा पुनः सिँढी निर्माण गरिएको सूचना दिए। अनि हामी उकालो लाग्यौँ।

प्रवेशविन्दुमा लेखिएको छ कि यो जंगलमा ३९ प्रजातिका बोटबिरुवा, ७७ प्रजातिका चरा र १० प्रजातिका स्तनधारी जनावर पाइन्छन्। यहाँ बँदेल त पाइन्छ नै यदाकदा चितुवासमेत देख्ने गरिएको छ। साँझबिहान एक्लैदुक्लै हिँड्दा सावधानी अपनाउनुपर्ने हुन्छ।

जसै पदयात्राका लागि पाइला अगाडि बढाइयो कति सिँढी चढियो त्यसको गन्ती भएन। गनेर हिसाब राख्न सम्भव पनि थिएन। एकनासको उकालो, मात्र उकालो। कतै नाक ठोक्किने उकालो, कतै रूखका हाँगा, लहरा र बोटबुट्यानको सहारा लिएर चढ्नुपर्ने।

थली आइपुग्यो। अब केहीबेर समथर बाटो हिँड्न पाइन्छ भनेर नसोचे पनि भयो। थली भनेको थकाइ मेट्न बस्नेसम्मको लागिमात्र हो। उहिले धेरै समयअघि तानासर्माको ‘घनघस्याको उकालो’ पढिएको थियो। अहिले त्यसको सम्झना हुँदैछ। तानासर्मा उकालो चढ्न त्यति टाढा जानै नपर्ने रहेछ। काठमाडाैँको काँठमा नै रहेको लगलगे पाखो चढेको भए ‘घनघस्या’को ठाउँमा “लगलगेको उकालो र लगलगाउँदो खुट्टा”भन्ने यात्रा स्मरण लेख्ने थिए होलान्।

कति ठाउँमा पत्कारमा चिप्लिएर लडेको। अलिकति होस् नगरी टेक्दा चिप्लिएर उत्तानो टाङ हुने सम्भावना त्यतिकै प्रबल थियो। चाहे उकालो चढ्दा होस् या ओरालो सम्हालिएर नै पाइला चाल्नुपर्ने रहेछ जिन्दगीमा जस्तै पदयात्राहरुमा पनि। बाटोमा पत्करहरु यति थुप्रिएका थिएकी पन्छाएर हिँड्दा पनि पन्छाइसक्नु थिएन।

एकातर्फ यो वन संरक्षणका लागि लिइएको उचित नीति हो। जंगल आरक्षणका लागि जंगलका जति पनि रुख, बोटबिरुवा जेजस्तो अवस्थामा छन् त्यसैगरी प्राकृतिक अवस्थामा छोडिदिनु प्रकृति संरक्षणप्रतिको न्यायोचित प्रबन्ध हो भन्ने मान्यता छ। यसरी हेर्दा यहाँको सामुदायिक वनको संरक्षण उचित तरिकाले भइरहेको भन्न सकिन्छ।

यसको अर्को नकारात्मक पक्ष पनि छ। वनमा भएको पातपतिंगर उठाएर सोत्तरका रूपमा संकलन गरेर गाउँलेले गोठमा प्रयोग गर्ने र त्यसबाट प्रांगारिक मल उत्पादन गरी खेतबारीमा हाल्ने प्रचलन हराएर जाँदा यसले रासायनिक खादको परनिर्भरता बढाउँदो छ। जंगलमा सुकेका पातपतिंगरका कारण गर्मीयाममा आगलागीका घटना पनि बढ्न गएको देखिएको छ। यसतर्फ पनि प्रकृति संरक्षणविद्हरूले यथोचित ध्यान दिन आवश्यक देखिन्छ।

वसन्त ऋतु सकिएर गृष्म लागिसकेको अवस्था थियो। गुराँसको दर्शन पाउनु त गाह्रै थियो। तर काफलको दर्शन पाउनु सुगम र सहज थियो। बाटैमा भेटिएका काफलका रुखमा सहयात्री युवा झुत्तिन थाले। कुनैकुनै बलवानचाहिँ रूखको हाँगाहाँगाका काफलको स्वाद लिन व्यस्त थिए भने निरिह आसेहरू भने फेदमा बसेर काफलको हाँगो माग्दै थिए। काफलको स्वादलाई सम्झनाको कन्तुरमा बन्द गरेर अगाडि बढियो। ढुंगाका सिँढीहरु सकिएपछि निगालोघारीको प्रवेश भयो। निगालोघारीको यात्रा पनि अविस्मरणीय रह्यो। रहस्य, डर र रोमाञ्चकतामिश्रित यात्राको सार।

पसिनाको धारा कति बगाइयो कति! लगाएको कपडा निथ्रुक्क भिजेर ज्यानमा च्यापच्याप लाग्दै थियो। शिरबाट बगेको पसिना आँखाको परेली भिजाउँदै झरिरहे। पसिना नुनिलो हुन्छ, त्यो थाहा थियो। पसिना यतिपिरो हुन्छ भन्ने अनुभव नबिर्सने गरी संगालियो। पसिनानुनिलो र पिरो दुवै रहेछ। तर पसिनाको तृप्ति भने अनमोल हुने रहेछ। आनन्द खोजेर मात्र पाइने भए सबैले खोज्दा हुन् र पाउँदा हुन्। जसरी अथक परिश्रमले बगाएका पसिनाले सिञ्चितभूमि उर्वर हुन्छ त्यसैगरी परिश्रमले दिएको सन्तुष्टि र सुख आनन्ददायक हुने रहेछ। त्यस्तै अनुभूति हुँदै थियो पदयात्रामा।

बिहान आठ बजेबाट हिँड्न सुरु गरेको आँखा तन्काएर हेर्दा चन्द्रागिरि नजिकै जस्तो लाग्छ। १२ बजिसदा पनि लगलगे पाखाको पदयात्रा सकिएको होइन। अर्को शिखरको यात्रा गर्न बाँकी थियो। पहाडको धारबाट हिँड्दै गर्दा दक्षिण पाखोमा चित्लाङ देखियो।

रमणीय चित्लाङ! बल्लतल्ल टुप्लुक्क शिखर आइपुग्यो। यो शिखरको उचाइ २४०६ मिटर रहेछ। भन्ज्याङपारिको २५५० मिटर अग्लो चन्द्रागिरिको आफ्नै परिचय छ, नाम छ। तर यति अग्लो भएर पनि यसको आफ्नै छुट्टै परिचय छैन, नाम छैन। चलनचल्तीको बोलाउने नाम उही लगलगे पाखो। पाखो त पाखो भइहाल्यो शिखरको आफ्नो छुट्टै नाम हुनुपर्ने थियो। काठमाडौँका शिखरहरुको नाम हुने भन्ज्याङहरुको नाम हुने तर यही शिखरचाहिँ कसरी नामविहीन हुन पुग्यो?

शिखरबाट तल झरेर भन्ज्याङ पुगियो। यही भन्ज्याङको बाटो चित्लाङ गइन्छ। पूर्वतर्फको बाटो उकालो लागेपछि चन्द्रागिरि शिखर पुगिन्छ। शिखर पुगेर भालेश्वर परिक्रमा गर्दा दिनको तीन बजेको थियो। जसरी उकालो उक्लिएको हो त्यसैगरी ठाडो भिरको ओरालो ओर्लनु कम चुनौतीपूर्ण थिएन। लगलगेको उकालो उक्लँदा खुट्टा गले, सास फुल्यो। ओरालो झर्दा भने खुट्टा कामे। लगलगेको अर्थ खुट्टाले झुत्ती खेल्दा अनुभव गरियो।

उकालो उक्लिनभन्दा ओरालो हिँड्न सजिलो लाग्ने जस्तो देखिए पनि मानिसलाई अन्ततः ओरालो लाग्नु शारीरको लागि बोझिलो हुने रहेछ। जीवनको हिँडाइ र पदयात्राको हिँडाइ उस्तैउस्तै रहेछन्। उकालो लाग्दा पनि सास्ती ओरालो झर्न झनै कठिन। चन्द्रगिरिको केबलकारका गोन्डोलामा बसेर कोही फटाफट उकालो लाग्दै गर्दा हामी भने उनीहरुको आकाश सयरलाई हात हल्लाएर स्वागत गर्दै ओरालो लाग्दै थियौँ।

काठमाडौँ उपत्यकाभित्रका उपलब्ध पदयात्राको रुटमा यो रुट लगलगे पाखो हुँदै चन्द्रगिरि र त्यहाँबाट केबलकारको मुनिमुनि हुँदै गोदामसम्मको पदयात्रा अतिसय रोमाञ्चक र साहसिकसमेत छ। पदयात्रामा चाख हुनेहरुले यहाँको पदयात्रा नगरी उपत्यकाबाहिरका पहाडहरुको पदयात्रा पूरा गरेको मान्न सकिन्न। अरु जंगलमा भन्दा पन्छीहरुको चिरबिर धेरै सुन्न पाइन्छ।

पहाडको धारैधार हिँड्दा सिरसिरे बतासको आनन्द पनि लिन पाइन्छ। यहीँबाट काठमाडाैँलाई चाहिने हावा भित्रिने र बाहिरिने गर्ने रहेछ। त्यसको प्रत्यक्ष भोगेर अनुभव गर्न पाइन्छ। यहाँको पदयात्रामा ऐकान्तिक परिवेशको मेडिटेसन र शारीरिक स्वस्थ्यताका लागि चाहिने स्वच्छ हावा, अक्सिजन र व्यायामको रूपमा मेडिटेसन दुवैको अलौकिक संगम भेटिन्छ।

बिहान आठ बजे सुरु गरेको पदयात्रा अपराह्न पाँच बजे चुनदेवी आएर पूरा भयो।

प्रकाशित: १२ जेठ २०८१ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =