पत्रकार महासंघ कास्कीमा खुल्यो इ–लाइब्रेरी

हिमाल प्रेस ११ जेठ २०८१ १९:४६
26
SHARES
पत्रकार महासंघ कास्कीमा खुल्यो इ–लाइब्रेरी

पोखरा- नेपाल पत्रकार महासंघ कास्कीले इ–लाइब्रेरी र स्रोत केन्द्र सञ्चालन गरेको छ। करिब ५५ लाख रुपैयाँ लागतमा खोलिएको यो पुस्तकालय मुस्ताङचोकस्थित पत्रकार महासंघ कार्यालयभित्र खोलिएको हो। पुस्तकालय निर्माणमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आर्थिक रहेको पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले बताइन्। उनका अनुसार पुस्तकालयमा करिब १५ सय पुस्तक संग्रहित छन्।

पुस्तकालयको शुक्रबार एक समारोहबीच नेपाल सरकारका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समुद्घाटन गरे। उनले मुलुकको आर्थिक संकटको बेलामा पनि महासंघले पुस्तकालय खोलेर महत्वपूर्ण कार्य गरेको भनी प्रशंसा गरे। उनलाई पुस्तकालय पत्रकारका लागि ज्ञान गुन कुरा सिकाउन मद्दत मिल्ने बताए।

प्रथम राष्ट्रपति डा. यादवले मानिसको जसरी ३ मिनेटसम्म श्वासप्रश्वास बन्द भए मानिसको मृत्यु हुन्छ, त्यस्तै प्रेस स्वतन्त्रबिना लोकतन्त्र बाँच्न नसक्ने बताए। गण्डकी प्रदेश पूर्व सञ्चारमन्त्री एवं प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले पुस्तकालय स्थापना गरेर महासंघले उदाहरणीय कार्य गरेको बताए।

महासंघ शाखा अध्यक्ष विमला भण्डारीले पत्रकारको क्षमता अभिवृद्धिसँगै ज्ञान र सूचनामा सहज पहुँचका लागि यो स्थापना गरिएको बताइन्। उनले भनिन्, ‘लामो समयदेखिको हाम्रो सपना पूरा हुनु गौरवको विषय हो। महासंघ कास्कीमा अग्रजले देखेको सपना पूरा गर्न पहिलो पल्ट थालिएको यो अभ्यास हाम्रो ३ वर्षे कार्यकालको सबैभन्दा ठूलो र महत्वपूर्ण उपलब्धि हो भन्ने हामीले ठानेका छौं।’

यसलाई डिटिजल पुस्तकालय बनाउँदै आगामी दिनमा सार्वजनिक पुस्तकालयकै रुपमा सञ्चालन गर्ने महासंघको भावी योजना रहेको उनले सुनाइन्। घट्दै गएको पठन संस्कृति विकासमा सघाउ पुग्ने विश्वास गर्दै उनले भनिन्, ‘जिल्ला–जिल्लामा रहेका पत्रकार महासंघका कार्यालयमा पनि पुस्तकालय स्थापनाको क्रम बढ्दो छ। हाम्रा पूर्वजबाट सुरु पुस्तकालय निर्माणको वर्षौ पुरानो लहरोमा जोडिन पाएकोमा हामी गर्व पनि गर्छौं।’

उनले आफ्नो कार्यकालमा सुरु गरिएको यो इ–लाइब्रेरी सम्पूर्ण नै होइन, यो सुरुवातमात्र हो भन्दै अझै सम्बृद्ध बनाउँदै लैजाने काम अबको नेतृत्वबाट हुनेछ विश्वास गरिन्। उद्घाटन अवसरमा पुस्तकालय सञ्चालनमा सघाउ पुर्याउनेहरुलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो।

प्रकाशित: ११ जेठ २०८१ १९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 18 =