कांग्रेसले बुझायो लिखित प्रस्ताव : गृहमन्त्रीको नाम किटान गर्ने, समस्याग्रस्त सहकारीबारे अध्ययन गर्ने

हिमाल प्रेस ११ जेठ २०८१ १३:२१
62
SHARES
कांग्रेसले बुझायो लिखित प्रस्ताव : गृहमन्त्रीको नाम किटान गर्ने, समस्याग्रस्त सहकारीबारे अध्ययन गर्ने जीवन परियार

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम किटान नै गरी अनुसन्धान अघि बढाउन संसदीय छानबिन समिति बनाउनु पर्ने अडानसहित प्रस्ताव पेस गरेको छ। शुक्रबार संसदीय समितिको टी‌ओआर टुंग्याउने भन्दै बसेको कार्यदलको बैठकमा कांग्रेसका तर्फबाट सहमहामन्त्री जीवन परियारले लिखित प्रस्ताव पेस गरेका हुन्।

‘आजको बैठकले पनि कुनै ठोस निर्णय गरेको छैन। हामीले उठाउँदै आएको विषय आज पनि राखेका छौँ,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै परियारले भने, ‘सत्तापक्षबाट हिजो एउटा ड्राफ्ट प्राप्त भएको छ। त्यसबारे आज हाम्रो पार्टीको तर्फबाट लिखित धारणा पेस गरेका हौँ।’

उनले छानबिन समितिको टीओआरमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान कायमै रहेको बताए। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने कांग्रेसले गृहमन्त्री लामिछानेको नाम किटान नगर्ने भए उनी संलग्न भनिएका सहकारीको नाम राख्ने प्रस्ताव गरेको बताएका थिए।

विभिन्न सहकारीबाट गोर्खा मिडियामा रकम गएको र त्यो अपचलनमा गृहमन्त्री समेतको संलग्नता रहेको भन्ने कुरामा आफूहरूको अडान यथावत् रहेको परियारको भनाइ छ। ‘हामीले उठाएको विषयलाई समेटेर गृहमन्त्रीको नामसहित छानबिन गर्नको लागि संसदीय समिति बनाउने भन्ने कुरा राखेका छौँ,’ उनले भने, ‘सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीको बारेमा आवश्यक अध्ययन गरेर सुझाव दिने कुरा पनि राखेका छौँ। हामीले सुरुदेखि नै यही भन्दै आइरहेका छौँ।’

उनले गोर्खा मिडियाहरूमा सहरकारीको रकम अपचलन भएको विषयमा आवश्यक अनुसन्धान गरेर सहकारीको सञ्चालक, गोर्खा मिडियाका सञ्चालक, प्रबन्ध निर्देशक व्यवस्थापक लगायतका संलग्न देखिएका व्यक्तिलाई कानून बमोजिम कारबाही गरिनुपर्छ भन्ने माग राखेको बताए।

‘सरकारले पक्षले गृहमन्त्रीको नाम राख्नु हुँदैन भन्ने अडान राखेको छ। तर, गोर्खा मिडियामा हुँदा गृहमन्त्रीले रकम अपचलन गरेको विषयमा छानबिन नहुने गरी सहमति हुँदैन। हाम्रो पार्टीको अडान स्पष्ट राखेका छौँ’उनले भने।

प्रकाशित: ११ जेठ २०८१ १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =