व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित

हिमाल प्रेस ११ जेठ २०८१ १३:०६
6
SHARES
व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित

भोजपुर- टेम्केमैयुङ गाउँपालिका-३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो। बुबा शरमान गिरीले सुरु गरेकाे चियाखेतीलाई अगाडि बढाएका उनको दैनिकी चियाका बोट हेरचार, स्याहार र प्रशोधनमै बित्छ।

असी रोपनी क्षेत्रफलमा फैलिएको चियाबगानलाई उनले यतिबेला पर्यटकीय गन्तव्य बनाउन सक्रिय भएकाे भएका छन्। ‘यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर चिया बगानभित्रै टेम्के फनपार्क तथा रिसोर्ट सञ्चालन सुरु गरेको छु’, रञ्जित गिरीले भने,‘रिसोर्ट निर्माणपछि पर्यटकहरू बिस्तारै बढ्न थालेका छन्।’

करिब एक वर्षअघिबाट सञ्चालनमा आएको रिसोर्टमा ९० लाख लगानी गरेका छन्। चियाखेतीबाट आम्दानीसँगै बगानमा पर्यटक बढाउन पनि सकिने उनको विश्वास छ। वि.सं. २०७६ देखि गुराँस चिया उद्योग सञ्चालन गरिरहेका उनको यो उद्योग भोजपुरमा एक्लो हो।

हालसम्म चियाका लागि करिब दुई करोड ५० लाख लगानी गरेकाले आफूले उत्पादन गरेको चियाले नेपाल चिया तथा कफी विकास बोर्डबाट ट्रेडमार्कसमेत पाइसकेको उनले जानकारी दिए।

‘अर्ग्यानिक चिया भएकाले देशका ठूला सहरसँगै विदेशसम्म जान थालेकाले चिया बजारीकरणमा कुनै समस्या छैन’, उनले भने। गिरीले चियाले उचित मूल्य पाएमा वार्षिक २५ देखि ३० लाखसम्म आम्दानी गर्न सकिने उनले बताए।

उनले हाल अर्ग्यानिक हरियो चिया (ग्रिनटी) प्रतिकेजी एक हजार आठ सय, कालो चिया एक हजार दुई सय र सिल्भर चिया ३० हजारमा बिक्री गर्दै आएका छन्। उनले चिया उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप १७ लाख ५० हजार अनुदान पनि पाइसकेका छन्।

‘अर्ग्यानिक चियाखेतीबाट आम्दानी राम्रो छ,अब पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘चियाखेती हुने क्षेत्रफल बढाउने पनि योजना छ।’ हाल उनको उद्योगमा पाँच जनाले रोजगारी पाएका छन्।

बगानमा उत्पादन भएको चिया एक महिनामा चार पटकसम्म टिप्न सकिने गिरीले जानकारी दिए। उनले चियाको नर्सरीसमेत आफैँ गर्दै आएका छन् भने किसानलाई आवश्यक परामर्श पनि दिन्छन्।

युवा व्यवसायी गिरीलाई प्रोत्साहन गर्नका लागि वडा कार्यालयका तर्फबाट सडक मर्मतका लागि तीन लाख उपलब्ध गराइएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए।

प्रकाशित: ११ जेठ २०८१ १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =