बुद्धको शिक्षा झनै सान्दर्भिक हुँदै गएको छ : प्रधानमन्त्री

हिमाल प्रेस ९ जेठ २०८१ २१:५०
14
SHARES
बुद्धको शिक्षा झनै सान्दर्भिक हुँदै गएको छ : प्रधानमन्त्री

लुम्बिनी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गौतम बुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबिच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताएका छन्।

बुधबार २५६८औँ बुद्धजयन्तीको पूर्वसन्ध्यामा आयोजित चित्रकला प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बुद्धका शाश्वत वाणी विश्वमा झनै सान्दर्भिक हुँदै गएको बताए।

‘बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘म विश्वस्त छु, बुद्धको शिक्षाको विश्वासपूर्ण अनुसरणले व्यक्ति, समुदाय र राष्ट्रहरूबिच विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत गर्नेछ।’

लुम्बिनी आउँदा आफूलाई सधैँ खुसी अनुभूत हुने बताउँदै प्रधानमन्त्री प्रचण्डले लुम्बिनीले विश्वका सम्पूर्ण मानवका लागि शान्तिको केन्द्रका रूपमा ऐतिहासिक र सांस्कृतिक महत्त्व राख्ने बताए।

उनले भने,‘नेपाल सरकारले लुम्बिनीलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिकस्थलका रूपमा मात्र नभई बुद्ध धर्मको स्रोत र शिक्षा र बौद्धिक खोजको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता पटकपटक व्यक्त गरेको छ।’

सांस्कृतिक सम्पदाको प्रदर्शनका लागि गरिएका अथक प्रयासहरूप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विशिष्ट कलाकारहरूको सिर्जनशीलता र जोश प्रेरणादायी भएको बताए।

नेपाल–भारत सम्बन्धको सन्दर्भमा सांस्कृतिक आयामले विशेष स्थान ओगटेको बताउँदै प्रधानमन्त्रीले दुई देशका जनतालाई प्राचीनकालदेखि नै सांस्कृतिक आयामले नजिक राखेको बताए। रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =