सुर्खेतको ‘हङकङ बजार’ अब राजमार्ग छेउमा

हिमाल प्रेस ३१ वैशाख २०८१ १९:१७
42
SHARES
सुर्खेतको ‘हङकङ बजार’ अब राजमार्ग छेउमा

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यसअघि सञ्चालनमा रहेको ‘हङकङ बजार’ अब राजमार्ग छेउमा सञ्चालन हुने भएको छ। केही समयअघि वीरेन्द्रनगर–६ स्थित हटियालाइन आसपासबाट सञ्चालन हुँदै आएको हङकङ बजार अबदेखि मुख्य राजमार्ग जुम्ला रोडमा पुनःस्थापना हुन लागेको हो।

बजाज शो–रुमको आडमा संरचना निर्माण गरी थप सेवासुविधासहित सञ्चालनमा आउन लागेको व्यवसायीहरूले बताएका छन्। बजार सञ्चालनका लागि चाहिने संरचना निर्माणको काम सुरु भएको छ। करिब १५ करोड लगानीमा नयाँ व्यवस्थापनसहित हङकङ बजार सञ्चालन गर्न थालिएको हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिए। यसका लागि साढे ६ कट्ठा जमिनमा संरचना निर्माण सुरु गरिएको उनले जानकारी दिए।

‘हामी पहिलेको ठाउँबाट उठ्नु परेपछि कतिपय व्यवसायी पीडामा छौँ, हङकङ बजारमा सर्वसुलभ दरमा सामान किनिरहेका ग्राहक वर्ग सस्तो सामान किन्नबाट वञ्चित हुनुभएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘निर्माणको काम सुरु भइसकेको छ, असार महिना अघि नै नयाँ ठाउँमा नयाँ व्यवस्थापनसहित बजार सञ्चालनमा आउनेछ।’

उनका अनुसार नयाँ ठाउँमा ५० वटा सटर रहनेछन्। ५० जना व्यवसायीसहित २५० जनाले नयाँ सञ्चालन हुने बजारबाट प्रत्यक्ष रोजगारी पाउने श्रेष्ठको दाबी छ।

अब नयाँ व्यवस्थापनसहित सञ्चालनमा आउने हङकङ बजारमा फेन्सी पसलका साथै साकाहारी तथा मांसाहारी एक/एक वटा रेष्टुरेण्ट पनि हुनेछन्। बजार क्षेत्रभित्रै पार्किङको पनि व्यवस्था रहनेछ।

यसअघि सञ्चालनमा भएको क्षेत्र नगरपालिकाको स्वामित्वमा रहेकोले नगरपालिकाले सार्वजनिक संरचना बनाउन व्यवसायीहरूलाई खाली गर्न लगाएको थियो। विनाविकल्प व्यवसाय गरिरहेको ठाउँ छोड्नुपरेपछि व्यवसायीहरू मर्कामा पर्नुका साथै आक्रोशित पनि थिए।

प्रकाशित: ३१ वैशाख २०८१ १९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =