काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ।
आइतबार आकस्मिक रूपमा बसेको जसपा नेपाल कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो।
मधेश प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिए लगत्तै जसपा नेपालले केन्द्रीय सरकारबाट फिर्ता हुने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए।
मधेश प्रदेशमा जसपा नेपालले सरकारको नेतृत्व गरेको छ। सो सरकारबाट माओवादी र एमालेले आजै समर्थन फिर्ता लिएका छन्। संघीय सरकारमा जसपा नेपालबाट सो पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री छन्। जसपा नेपाल विभाजन भएपछि यसरी राजनीतिक घटनाक्रम अगाडि बढेको हो।
अध्यक्ष यादवले आजै सरकारका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए।