पोखरा- राष्ट्रिय मावि पोखराले हीरक महोत्सव अवसरमा आयोजना गरेको ५ किमी छात्रछात्रा सडक दौडमा छात्रतर्फ छोरेपाटनका तेञ्जेन रोका मगर प्रथम भए भने छात्रातर्फ गौरीशंकरकी कविता मगरले उपाधि जितिन्।
तेञ्जेनले ६ सय १३ जना धावकलाई पछि पार्दै निर्धारित दूरी १६.५७.६३ मिनेटमा पूरा गरेका हुन्। छोरेपाटनकै प्रकाश थिङ दोस्रो र अक्सफोर्डका ईश्वर ढकाल तेस्रो भए।
उनीहरूले निर्धारित दूरी १७.१२.१३ मिनेट र १७.४७.९४ मिनेटमा पूरा गरे। छात्रातर्फ प्रथम कविताले निर्धारित दूरी पार गर्न २२.३२.०१ मिनेट लगाइन्। उनले दौडमा २ सय ५३ जनालाई पछि पारेकी हुन्।
छात्रातर्फ मेघराज आधारभूत माविकी एन्जिला जिटी दोस्रो र छोरेपाटनकी साधना सेवा तेस्रो भइन्। छात्रछात्रा दुवैतर्फ प्रथम, दोस्रो र तेस्रोले क्रमश ७, ५ र ३ हजार साथमा पदक र प्रमाणपत्र पुरस्कार पाए।
दौडमा ४४ विद्यालयका ६ सय १४ छात्र र २ सय ५४ छात्रा गरी ८ सय ६८ जनाले भाग लिएका थिए। विजयीलाई गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ, पोखरा १ का अध्यक्ष शाहारा प्रधान, विद्यालय अध्यक्ष रामविक्रम राणा, प्रअ ईश्वरी सापकोटा, हीरक महोत्सव खेलकुद उपसमिति संयोजक एवं ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए।