जसराज किरातीले जब देवकोटाको नाम बिर्सिए …

विवेक विवश रेग्मी २९ वैशाख २०८१ ९:१३
686
SHARES
जसराज किरातीले जब देवकोटाको नाम बिर्सिए … ‘विराट वाङ्‌मय उत्सव २०८१’ मा कविद्वय जसराज किराती र मनु मञ्जिल। तस्बिर : विवेक विवश रेग्मी

इटहरी- ‘म कहिलेकाहीँ तपाईँलाई भेट्दा नाम बिर्सिजान्छु, मेरो भाइ। कहिलेकाहीँ आफ्नै छोराछोरीको पनि नाम बिर्सिहाल्छु। मेरो सम्झनाशक्ति हराउँदै गएको छ। नामहरू सम्झिँदै कापीमा टिप्छु र राख्छु। फेरि त्यो कापी कहाँ राखेँ बिर्सिहाल्छु।’

प्रसिद्व कवि जसराज किरातीले मञ्चमा उक्लनेबित्तिकै अर्का कवि मनु मञ्जिलसँग बात मार्नुअघि व्यक्त गरेको अभिव्यक्ति हो यो। किरातीको यस्तो भनाइपछि हाँसोले हल गुञ्जियो।

शुक्रबार आरोहण गुरुकुलको आयोजनामा विराटनगर ८ हाटखोलास्थित बालकृष्ण पोखरेल नाटक घरमा सुरु भएको ‘विराट वाङ्‌मय उत्सव २०८१’ मा प्रसिद्ध कवि कृष्णभूषण बललाई स्मरण गर्दै कविद्वय जसराज किराती र मनु मञ्जिलको बातचित चाखलाग्दो बनेको हो।

‘भोलि बास्ने कवि : सम्झनामा कृष्णभूषण बल’ नाम दिइएको उक्त सत्रमा कवि मञ्जिल जसराजसँग गफिएका थिए।

मञ्जिलले भने, ‘भूषण दाइको कविता संग्रह ‘भोलि बास्ने बिहान’ थियो। यो कार्यक्रम ‘भोलि बास्ने कवि’ भनेर राखियो। भोलि बास्ने बिहान आफैँमा एउटा शक्तिशाली र औँलामा गन्न मिल्ने संग्रह हो। भोलि बास्ने कवि भनेको भविष्यको पनि कवि हो भन्ने अर्थ दिन्छ।’

भूषणको ‘काठमाडौँ एक्लैले काठमाडौँ बोक्न सक्दैन’ भन्ने कविता देशका नामुद नेताहरूले दशकौँपछि मात्रै अनुभूत गरेको मञ्जिलले सुनाए।

कृष्णभूषणले आफ्नोबारे कविता र निबन्धमा लेखेको स्मरण गर्दै जसराजले थपे, ‘मैले साह्रै मन पराएको कृष्णभूषण बल भन्ने मान्छे हो। मैले जीवनमा उसलाई भेट्छु, कुरा गर्छु भनेर कहिल्यै सम्झेको पनि होइन। मैले उसबारे कहिले लेखेँ, उसले मेरोबारे कहिले लेख्यो, त्यो पनि बिर्सिएँ। ऊ त साँच्चैको मान्छे पो त।’

भूषणकी पत्नी शोभा बल तामाङ दर्शकदीर्घामा बसेर एकाग्र थिइन्। दुई कविहरूले भूषलाई स्मरण गर्दा उनी घरीघरी भावुक मुद्रामा देखिन्थिन्। उनै शोभाको भावकुतामा विभिन्न जिल्लाबाट आएका कवि, लेखक, साहित्यकार, राजनीतिज्ञ तथा उद्योगीहरू पनि घरीघरी उनीसँगै भावुकतामा मिसिन्थे।

आमन्त्रितहरू भावुकतामा मिसिएको देखेपछि लगत्तै सहजकर्ता मञ्जिलले कुरा मोडिहाल्थे। ‘मेरो लागि चैँ भूषण दाइ विश्वविद्यालय हो,’ मञ्जिल भन्छन्।

‘दाइहरूको स्कुलिङ कस्तो थियो?’ मञ्जिल जसराजलाई सोध्छन्। जबाफ आउँछ, ‘मैले जानेर लेखेको होइन। घाँस काट्दै गर्दा, गोरु जोत्दै गर्दा लेखेको हुँ। भारी बोकेर पनि लेखेको हुँ। त्यसबेला राईले पढेर केही हुँदैन भनिन्थ्यो। म झ्याउरे गीतहरू लेखिहिन्थेँ।’
झ्याउरे गीतको प्रसंग आउनेबित्तिकै जसराजले एक महान् कविको नाम सम्झने प्रयास गरे।

‘एकजना ठूलो कवि थिए नि? गीतहरू नि गीतहरू,’ जसराजले केही सम्झिन खोजे। त्यत्तिकैमा दर्शकदीर्घाबाट उनलाई सम्झाउने कोसिस भयो। ‘कसको रामेशको? माधव घिमिरे? लेखनाथ पौड्याल?’ जसराज आफ्नो स्मरण शक्ति हराउँदै गएकोमा आफैँ आजित बने। भने, ‘नाइँ, नाइँ त्यो भन्दा पनि ठूलो कवि क्या। हत्तेरी, नामै बिर्सिजान्छु। जीवन कहाँबाट कहाँ पुग्यो? म कसो गर्दैछु? त्यो पनि थाहा छैन।’

यसैबीच दर्शकदीर्घाबाट नाम आउँछ-  ‘देवकोटा?’

‘देवकोटा क्या देवकोटा’, जसराजले सम्झिए। फेरि हाँसो गुञ्जियो। यो हाँसोमा भावकुता मिसिएको थियो। किनभने जसराजले ठट्टाले ‘म त सबै कुरा बिर्सिहाल्छु’ भनेको कुरा अब साँचोमा प्रमाणित भएको थियो। जसराजको स्मरणशक्ति हराउँदै जानुले नेपाली साहित्य क्षेत्रमा निकै गम्भीर कुरा रहेको कवि, लेखकहरू एकापसमा गुनगुनाएको सुनिन्थ्यो।

‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन पढ्थेँ। कति मजाले कसरी लेख्न सकेको होला भन्ने लाग्थ्यो,’ जसराज भन्छन्, ‘हामी भाका नै हालेर पढ्थ्यौँ। त्यही मुनामदन पढेको हुँ। पछि अरु पनि पढ्न थालियो।’

उनले परशु प्रधानसँगको भेटपछि आफू ‘जसराज’ भएको बताए। कृष्णभूषण बलको स्मरण गर्दै जसराजले भने, ‘उनी धेरै नबोल्ने मान्छे हुन् तर उनी कविता लेख्थे। उनले लेखेका निकै लामा–लामा कविता पढ्दा टाउको निकै घुमाउनुपर्थ्यो।’

भूषण असल भएको बताउँदै जसराजले थपे, ‘अलिक ढिलो बोल्ने, थोरै बोल्ने मानिस हो। जति बोल्थे, साँचो बोल्थे।’ संसारभरकै मानिसमा बाँच्नका निम्ति साहस आवश्यक पर्ने जसराजले सुनाए।

कृष्णभूषण बलले धेरै लेखेर चर्चामा आएको नभई शैली नै परिवर्तन गरेको मञ्जिलले स्मरण गरे। उनले थपे, ‘गद्य कवितामा महाकाव्यिक हरफहरूजस्ता लेखेका कारण, कवितामा अर्थ नहुनु नै उहाँको विशेषता हुनुजस्ता कारण भूषण दाइ विशेष रूपमा हुनुहुन्छ।’

मञ्जिलका अनुसार भूषणलाई राष्ट्र बैँकले जागिरका लागि बोलाएछ। ‘बीकम’ पास गरेपछि जागिरका लागि बोलाए पनि भूषण जागिर खान मन नगर्ने गरेको उनले सुनाए। ‘जागिर खानुपर्छ भनेर उहाँ भाग्नुभएछ। भागेर भारतको जोगबनीमा गएर सिंगडा र तरकारी खाएर बसिरहनुभएको रहेछ। बैंकका सुरक्षा गार्डहरूले त्यहीँ गएर पक्रिएर ल्याएछन्,’ मञ्जिलले भने, ‘हामीलाई दाइले त्यसरी सुनाउनुहुन्थ्यो।’

राष्ट्र बैँकमा काम गर्दै भूषणले कविका रूपमा ठूलो परिचय बनाइसकेको उनले सुनाए।

कार्यक्रमको उत्तरार्धमा मञ्जिलले जसराजलाई सोधे, ‘अहिलेको लेखनमा समस्या देख्नुहुन्न? अहिलेका कवि लेखकहरूले खेलाँची गरेजस्तो लाग्दैन दाइ?’

जसराजको जबाफ छ, ‘हामीले जुन बेलामा कविता लेख्यौँ, त्यसबेला कविता लेख्छु भनेर लेखिएन। अचेल म पनि कविता लेख्न सक्ने मान्छे हुँ, किन लेख्न सक्न छाडेँ भन्ने सोच्छु ।’ उनले पछिल्लो समय कविता लेख्छु भनेर लेखिएका कारण कविता खास कविताजस्तो नभएको टिप्पणी गरे।

अग्रज कविहरूको अनुभव सबै सिद्धान्तको अगाडि पछि पर्ने मञ्जिल सुनाउँछन्। शब्दहरू एकदमै हलुका हुने भए पनि शब्दहरूलाई सही प्रयोग गर्न सके शताब्दीसम्म कसैले चलाउन नसक्ने उनले सुनाए।

‘वाङ्‌मय उत्सव’मा विविध कार्यक्रम

विराटनगर महानगरपालिकाको प्रवद्र्धन तथा आरोहण गुरुकुलको आयोजनामा दुईदिने विराट् वाङ्मय उत्सवमा विविध कार्यक्रम आयोजना गरिएको छ।

उत्सवको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरे। विराटनगरसहित कोशी प्रदेशको भाषा, साहित्य, संस्कृति र कलालाई जोड्ने उद्देश्यका साथ उत्सव सुरु भएको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य, संस्कृति र कलाको विकासमा महानगरपालिकाले काम गरिरहेको बताए। ‘विराटनगर महानगरपालिकाले भौतिक विकाससँगै भाषा, साहित्य, कला र संस्कृतिको विकासलाई पनि ध्यान दिएको छ,’ कोइरालाले भने, ‘भाषा, साहित्य, कला, संस्कृति सबै हेर्ने गरी प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। प्रतिष्ठान गठन भइसकेपछि महानगर क्षेत्रभित्रका सबै भाषा, साहित्य, कला र संस्कृतिको विकासमा सहयोग पुग्ने मैले विश्वास लिएको छु।’

उद्घाटनसत्रमा वरिष्ठ कवि कुन्ता शर्माले समाज रूपान्तरणमा साहित्यको अहम् भूमिका हुने बताइन्। सम्भाषण प्रस्तुत गर्दै शर्माले साहित्य लेखनको विषयवस्तु फराकिलो हुँदै गएको चर्चा गरिन्। उनले आफ्नो पालामा महिला कवि, साहित्यकार न्यून भए पनि पछिल्लो पुस्तामा यसको संख्या बढ्दो रहेको सुनाइन्।

उत्सवको पहिलो दिन दिवंगत कविहरूका कवितासमेत वाचन गरिएको थियो। ‘क्यानभासमा कविता’ नाम दिइएको उक्त सेसनमा विभिन्न जिल्लाका कविहरूले कविता वाचन गरे। उक्त कविताहरू मुकुन्द प्रयास, विनोदकुमार चौधरी, अभिषा घिमिरे, युवराज रिजाल, एलन शाक्य, महेन्द्र राई, सञ्जय धिताल (सयल), गणेश लामा, यशोदाकुमारी सिंह र रवि बस्नेतले क्यानभासमा उतारेका थिए।

त्यसैगरी ‘कता रुमलियो विराट् विरासत?’ शीर्षकमा बहससमेत आयोजना भयो। बहसमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, उद्योगी ताराचन्द खेतान र लेखक तथा विश्लेषक दिनेश श्रेष्ठ सहभागी थिए।

कार्यक्रमको सहजीकरण पत्रकार महाप्रसाद खतिवडाले गरेका थिए ।

त्यस्तै पत्रकार टेकेन्द्र अधिकारीले सहजीकरण गरेको ‘नेपाली भाषाको बहाव’ शीर्षकको बहसमा केदार शर्मा, लता पौड्याल निरौला र विष्णु एस राईले आआफ्ना धारणा राखे।

हेमन्त बुढाथोकी, सोनु जयन्ती र दीपा पोखरेल ‘मञ्चमा म’ शीर्षकको बहसमा सहभागी हुँदा सुमन लिङ्देनले सहजीकरण गरेका थिए।
यसैगरी ‘भोलि बास्ने कवि’ : सम्झनामा कृष्णभूषण बल प्रस्तुत गरिएको थियो। कवि मनु मञ्जिलले सहजीकरण गरेको कार्यक्रममा वरिष्ठ कवि जसराज किरातीले कृष्णभूषण बललाई स्मरण गरेका थिए।

‘नेपाली साहित्य सिर्जनाका नवीनतम् आयामहरू’ शीर्षकको बहसमा हाङ्युग अज्ञात, देवान किराती र शुभलक्ष्मी लम्साल आमुन्नेसामुन्ने भए। उक्त कार्यक्रमको सहजकर्ता कवि केजी सुब्बा थिए।

पहिलो दिनको अन्तिम सत्रमा कविहरू सुदीप पाख्रिन, हेमन यात्री, विमल वैद्य, रोशन परियार, मनु विश्वकर्मा, सुष्मा दाहाल, अनिशा रम्तेल, टीका आत्रेय, सविता गौतम दाहाल, जीवन आरोही, विनिता बोगटी र पराजित पोमुले प्रतिनिधि कविता वाचन गरेका थिए।

दोस्रो दिन शनिबार मातृभाषी कविता वाचन, राजनीति र साहित्य: साहित्यमा राजनीति, योगवाणी र योगमाया, आख्यानमा चरित्र निर्माण : परिकल्पना र प्रस्तुति, पात्र र लैंगिकता, समकालीन रचना वाचन, गजल गुञ्जनलगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + five =