आईपीएल : गिल र सुदर्शनको कीर्तिमानी साझेदारीले जित्यो गुजरात

हिमाल प्रेस २९ वैशाख २०८१ ७:०२
8
SHARES
आईपीएल : गिल र सुदर्शनको कीर्तिमानी साझेदारीले जित्यो गुजरात

काठमाडौँ- कप्तान शुभमन गिल र साई सुदर्शनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो विकेटका लागि सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान बराबरी गर्दा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई सजिलै हराउन सफल भएको छ।

शुक्रबार राति भएको खेलमा गुजरात ३५ रनले विजयी बनेको हो।

२ सय ३२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९६ रन मात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रममा चेन्नईले निकै खराब सुरुवात गरेको थियो। मात्र १० रनमा टोलीका शीर्ष तीन ब्याट्सम्यान पभेलियन फर्किसकेका थिए।

तर डेयर्ल मिचेल र मोइन अलीले शतकीय साझेदारी गर्दै टोलीलाई खेलमा फर्काएका थिए। मिचेलले ३४ बलमा ६३ रन बनाए । उनले ६ चौका र ३ छक्का हिर्काए। त्यस्तै, अलीले ३६ बलमा ५६ रन बनाए । उनले ४ चौका र ४ छक्का प्रहार गरे।

शिवम दुवेले १३ बलमा २१ रन तथा रवीन्द्र जडेजाले १० बलमा १८ रन जोडे। खेलको अन्त्यतिर पूर्वकप्तान महेन्द्र सिंह धोनीले ११ बलमा २६ रन बनाए पनि टोलीलाई जितसम्म डोर्‍याउन सकेनन्।

गुजरातका लागि मोहित शर्माले ३ विकेट लिए भने रासिद खानले २ तथा सन्दीप वारियर र उमेश यादवले १–१ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३१ रन बनाएको थियो। ओपनरद्वय गिल र सुदर्शनले पहिलो विकेटका लागि २ सय १० रनको साझेदारी गरे।

गिलले मात्र ५५ बलमा १ सय ४ रन बनाए। उनले यस क्रममा ९ चौका र ६ छक्का हिर्काए। त्यस्तै, सुदर्शनले ५१ बलमा १ सय ३ रन जोडे। उनले ५ चौका र ७ छक्का प्रहार गरे।

डेभिड मिरले १६ रनको योगदान दिए । चेन्नईका लागि तुसार देशपाण्डेले २ विकेट लिए।

पराजयपछि प्लेअफमा सजिलै पुग्ने चेन्नईको सपनामाथि ठूलो धक्का लागेको छ। १२ खेलपछि चेन्नई १२ अंकसहित चौथो स्थानमा रहेको छ।

गुजरात भने १२ खेलबाट १० अंकसहित आठौँ स्थानमा छ।

प्रकाशित: २९ वैशाख २०८१ ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =