![मनास्लुमा भेटिए १५ हिउँ चितुवा, अझै बढ्न सक्छ !](https://himalpress.com/wp-content/uploads/2024/05/snowleopard.jpg)
काठमाडौँ- गोरखाको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)भित्र १५ वटा हिउँ चितुवाको पहिचान भएको छ। हिउँ चितुवाबारे अध्ययन अनुसन्धान गरिरहेको एक टोलीको प्रारम्भिक अनुसन्धानबाट १३ वटा बयस्क र २ वटा बच्चा हिउँ चितुवाको पहिचान (गणना) भएको हो। मनास्लु संरक्षण क्षेत्रमा चेक रिपब्लिकको द चेक एकेडेमी अफ साइन्सको ग्लोवल चेन्ज रिसर्च इन्स्टिच्यूट (जिसिआरआई) मा आवद्ध अनुसन्धानकर्ता डा. विक्रम श्रेष्ठको टोलीले हिउँ चितुवाबारे अध्ययन गरिरहेको छ।
श्रेष्ठले समुद्री सतहबाट दुई हजार पाँचसय मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइमा क्यामेरा राखेर मनास्लु क्षेत्रलाई दुई भागमा विभाजन गरेर अध्ययन गरेको जानकारी दिए। श्रेष्ठसहित वन विज्ञान अध्ययन संस्थान हेटौंडाका स्नातकोत्तर अध्ययनरत विद्यार्थी सचेत तिमिल्सेना पनि मनास्लुमा हिउँ चितुवाको अध्ययनमा खटिएका छन्।
उनीहरूले यो अनुसन्धान मनास्लुको पश्चिम क्षेत्रमा पर्ने नुव्री उपत्यकाको बिहीदेखि साम्दोसम्म र पूर्वी क्षेत्रको चुम उपत्यकाको चुम्लिङदेखि मुगुम्बा-कालुङसम्म क्षेत्र छुट्याएर गरेका हुन्। यी भूभागलाई अनुसन्धानकर्ताहरूले हिउँ चितुवाको क्षेत्रको रुपमा पहिचान गरेका छन्।
‘चुम र नुब्री दुई भागमा बाँडेर हामीले अनुसन्धान सुरु गरेका थियौँ। पश्चिम (नुव्री) २०२० नोभेम्बरदेखि २०२१ को जनवरीसम्म र पूर्वी क्षेत्र (चुम)मा २०२१ डिसेम्बरदेखि २०२२ फेब्रुअरीसम्म अध्ययन गरेका हौँ,’ अनुसन्धानकर्ता डा.विक्रम श्रेष्ठले हिमालप्रेससँग भने, ‘दुवै ठाउँमा ६०–६० दिन अध्ययन गरेपछि १५ वटा हिउँ चितुवा रहेको पत्ता लगाइयो।’
श्रेष्ठ र उनका साथीहरू अहिले हिउँचितुवाका लागि खानाको अवस्था के कस्तो छ भन्ने अध्ययनमा लागेको छ। ‘१३ वयस्क र २ वटा बच्चा हिउँ चितुवा त भेटियो। तर यो ६ सय वर्ग किलो मिटर क्षेत्रफलको मनास्लु क्षेत्रमा यी हिम चितुवाको खानाको अवस्था के कस्तो छ भनेर हामीले अर्को अध्ययन गरिरहेका छौँ,’ उनले भने, ‘मुख्य गरी हिउँ चितुवा मनास्लुमा हिउँ चितुवाको खान्की नाउर र हिमालयन थार हो। यी दुवै जनावर मनास्लुमा छन्।’
हिउँ चितुवाले बसोबासका लागि आफ्नो क्षेत्र छुट्याएर बस्ने गरेको श्रेष्ठ बताउँछन्। ‘हिउँ चितुवाले अर्काको क्षेत्रमा बाधा पुर्याउँदैन। एउटा पोथी भएको ठाउँमा अर्को पोथी बयस्क पनि कमै मात्रामा जाने गरेको पाइन्छ,’ उनले भने, ‘भाले भने पोथी भएको क्षेत्रमा गइरहन सक्छ। त्यसैले अहिले हाम्रो अनुसन्धानअनुसार मनास्लुमा १५ वटा हिउँ चितुवा छन्।’ उनका अनुसार बच्चा हिउँ चितुवा ६ देखि ९ महिना उमेरका छन्।
हिउँ चितुवा ओहोरदोहोर गर्ने बाटो पत्ता लगाएर चुम र नुव्री दुवै उपत्यकामा गरेर १२० क्यामेरा जडान गरिएको थियो। श्रेष्ठले यसअघि पनि नेपालको हिमाली भेगमा हिउँचितुवाको अवस्थाबारे अध्ययन गरेका थिए। उनले सन् २०२१ मै सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा हिउँ चितुवाबारे अध्ययन गर्दै विद्यावारिधी पूरा गरेका थिए। श्रेष्ठले सन् २००४ देखि नेपालको हिमाली भेगको हिउँ चितुवाबारे अध्ययन थालेका थिए।
हिउँ चितुवा विशेषज्ञ डा.मधु क्षेत्रीले पनि मनास्लुमा अहिले भेटिएको भनिएको संख्या सन्तोषजनक भएको बताए। ‘अहिले १३ वयस्कसहित १५ वटा चितुवा भेटिएको भन्ने छ यो मनास्लुको क्षेत्रफलअनुसार ठिकै हो,’ उनले हिमालप्रेससँग भने, ‘यहाँ बासस्थान, आहाराको हिसाबले पनि हिउँ चितुवाको लागि राम्रो छ यो अझै बढ्न सक्छ।’