ए आमा! यो सेतो कपडा तिम्रै देन हो,
यो देशको सान हो, यो मृत्युसँग लडिरहेका कैयौँ मानिसको आस हो।
थाहा छ आमा? यो छोरी सेतो कपडा हो,
सेतो कपडामा दाग लागे जान्न आमा
तर यसमा रगत लागे पनि कैयौँ हाँसेको देखेकी छु।
थाहा छ आमा? जब देशमा बाढीपहिरो आउँछ,
भूकम्प आउँछ, महामारी आउँछ
कोही औषधि न पाएर मर्छन्,
कोही समयमा उपचार केन्द्र नभएर मर्छन्।
ए आमा किन रुन्छ्यौ?
मलाई सुमसुम्याउँदै तिमी
एकचोटि मेरो अनुहारको सेतो कपडा उठाएर त हेर
तिम्रो मनको आँखाले यो मन नियालेर त हेर।
मलाई थाहा छ तिमी म नबोल्दा नि सुन्छ्यौ
म नहाँस्दा नि तिमी मेरो खुसी महसुस गर्न सक्छ्यौँ
म नरुँदा नि मेरो दुःख बुझ्छ्यौँ
त्यसैले आमा
एकचोटि मेरो अनुहारको सेतो कपडा उठाएर त हेर
तिम्रो मनको आँखाले यो मन नियालेर त हेर।
थाहा छ आमा? आज महिनौँ अस्पतालमा बसेका
धेरै बिरामी सन्चो भएर घर गए
बिरामी निको भएर जाँदा म धेरै रोएकी छु
मलाई भेट्न कहिलेकाहीँ सबै अस्पतालमा आउनुहुन्छ।
आमा! बरु आँसु झर्दै गर्दा भन्न नसकुँला
हाम्रो गाउँको भाइले राम्रोसँग संसार देख्न नपाउँदै
आफ्नो ज्यान गुमायो।
आमा हेर न एक दिनकै आफन्त गुमाउनपर्ने
कस्तो महामारी आयो? भूकम्प आयो।
एकचोटि मेरो अनुहारको सेतो कपडा उठाएर त हेर
तिम्रो मनको आँखाले यो मन नियालेर त हेर।
आमा! जब अस्पतालमा महामारीको संख्या बढ्दै गर्दा
बिरामीको सेवा गर्दागर्दै कैयौँ
स्वास्थ्यकर्मीले आफ्नो ज्यान गुमाए
अनि तिम्रो ममतारूपी मनले भन्थ्यो
छोरी नजाऊ काममा
हामीलाई पैसा होइन तिमी भए पुग्छ।
मलाई याद छ आमा,
मेरो आठ घन्टाको ड्युटीमा सोधेको
छोरी मास्क लगाएकी छ्यौ नि?
हातमा पन्जा लगाएकी छ्यौ नि?
अनि त्यो प्लास्टिकले बनाएको कपडा
राम्रोरी लगाऊ है
तर आमा,
तिमीले सानैदेखि सिकाएको
देशप्रतिको माया
कामप्रतिको लगाव अनि
सेतो कोटको जिम्मेवारी
म कसरी भुल्न सक्थेँ र?
त्यसैले आमा
एकचोटि मेरो अनुहारको सेतो कपडा उठाएर त हेर
तिम्रो मनको आँखाले यो मन नियालेर त हेर।
ए आमा थाहा छ तिमीलाई?
जब अस्पतालमा बिरामी छटपटाउँछन्
अनि म तिमीलाई सम्झन्छु।
म बिरामी हुँदा तिमी छटपटिएको
सोच त आमा
जब छोराछोरी आमा आमा भनी रुँदा
नजिक बसी एक थोपा औषधि खुवाउन नपाउँदा
कति छटपटाउँछन् होला ती!
आमाबाबा भनी छोरी गुहार्दा,
नजिक बसी निधार सुमसुम्याउन नपाउँदा
कति टुटे होलान् ती बाबा!
त्यसैले आमा, मलाई आफ्नो ज्यानभन्दा
बिरामीको एक मुठी सास
ती आमाको आस अनि
छोरीको निधारसम्म पुग्न नसकेको
ती बाबाको हात बन्न मन लाग्यो।
अब भन आमा के यो ज्यान व्यर्थ गएको हो त?
त्यसैले आमा,
एकचोटि मेरो अनुहारको सेतो कपडा उठाएर त हेर
तिम्रो मनको आँखाले यो मन नियालेर त हेर।
आमा नरोऊ अब
बरु मुस्कुराउँदै भनिदिनू,
छोरी बिग्रे नर्स भन्नेहरूलाई
छोरी बिग्रे नर्स होइन, नर्स बने देश हो भनी
भनिदिनू छोरीलाई कमजोर भन्नेहरूलाई।
छोरी कमजोर होइन, घर बलियो बनाउने जग हो
भनिदिनू गर्भमा छोरी मार्नेहरूलाई।
छोरीलाई मार्न पर्दैन परिआएमा अरूको ज्यान जोगाउन आफ्नो ज्यान दिन्छन् भनी
त्यसैले आमा,
एकचोटि मेरो अनुहारको सेतो कपडा उठाएर त हेर
तिम्रो मनको आँखाले यो मन नियालेर त हेर।