ललितपुर- चित्रकार श्यामकृष्ण महर्जन (श्याम ज्यापू) को तीन दिने एकल पौभा चित्रकला प्रदर्शनी सुरु भएको छ। योङ पिकासोद्वारा ललितपुरको पाटन सङ्ग्रहालयमा बिहीबारबाट सुरु भएको प्रदर्शनी शनिबारसम्म सञ्चालन हुनेछ।
प्रदर्शनीमा ज्यापूले कोरेका ३२ वटा हिन्दू तथा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न देवदेवीका पौभा चित्र राखिएको छ। प्रदर्शनीले जनमानसमा कलाको महत्वलाई स्थापित गर्दै नेपालको मौलिक कला पौभा कलालाई अझ प्रचारप्रसार गर्ने उद्देश्य रहेको कलाकार ज्यापूले बताए।
प्रदर्शनीको उद्घाटन गर्दै नेपालका लागि श्रीलङ्कन राजदूत सुदर्शना पाथिरानाले एउटा तस्बिरले हजार शब्द बराबरको शक्तिको प्रतिनिधित्व गरेको हुन्छ भनिएजस्तै कलाकारले कोरेको चित्रकलाले धेरै शब्दहरु, सोच र धारणा व्यक्त गर्ने बताए।
उनले श्रीलङ्का र नेपालको लामो इतिहास रहेको स्मरण गर्नुहुँदै श्रीलङ्का बुद्ध धर्मको अनुशरण गर्ने देश र नेपाल बुद्धको जन्मथलो रहेको भन्दै दुवै देशको कलासंस्कृति, परम्परा र मूल्य मान्यतामा मिल्दोजुल्दो रहेको बताए।
यस्ता कला प्रदर्शनीलाई निरन्तरता दिँदै दुई देशबीचको कला क्षेत्रको माध्यमबाट सामीप्यतालाई अझै बढवा दिनुपर्ने उनको भनाइ थियो। उनले कला र संस्कृतिको विकास र संरक्षणले मात्रै मौलिकता बच्ने धारणा व्यक्त गरे।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै समाजसेवी शाक्य सुरेनले कलाका विभिन्न क्षेत्र छन् भन्दै सबैलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिए। योङ पिकासोका निर्देशक अजय देसार आफ्नो संस्थाले विभिन्न स्थानमा कला प्रदर्शनी गरेर चित्रकला क्षेत्रको विकास र विस्तारमा रचनात्मक कामहरु गर्दै आइरहेको बताए। उनले पाटन कलाको नगरी भएको तथ्यलाई स्मरण गर्दै कलाको सहरमा पाटन दरबार सङ्ग्रहालयबाहेक कला प्रदर्शनी गर्ने अन्य स्थान नहुनु दुःखद् भएको बताए।
पौभाः नेपालका नेवार जातिहरूको मौलिक परम्परागत चित्रकला हो। यो चित्रकला तामाङ, शेर्पा तथा गुरुङ जातिहरू तथा तिब्बती परम्परागत चित्रकला थान्कासँग मिल्दोजुल्दो हुन्छ। पौभाः चित्रकलामा कपडामा देवीदेवताका चित्र अथवा कुनै धार्मिक कथासँग सम्बन्धित चित्रहरू बनाउने गरिन्छ।
धार्मिक पुस्तकमा उल्लेख भएको उपदेश, कथाहरूको अध्ययन गरी तिनलाई प्रतीकका रूपमा विभिन्न मुद्रा, आसन तथा प्रतिमा लक्षण मिलाई पौभाःमा उतारिन्छ। पौभाः चित्रकलाका विषय धेरै हुन्छन्। यो महायान र बज्रयान दर्शनबाट पनि प्रभावित छ।
यसैगरी शाक्त, शैव र वैष्णव पनि पौभाः चित्रकलामा उतारिन्छ। धार्मिक आस्थाबाट आरम्भ भएको पौभाः अहिले आधुनिक र उत्तर आधुनिक चित्रकलाको दाँजोमा चर्चामा नआए पनि यसको महत्व घटेको छैन। खर्चिलो र बढी समय लाग्ने भएकाले यसमा लाग्नेहरू थोरै छन्।