पुराना शक्तिहरूलाई जतिसुकै दयामाया गरे पनि उनीहरू सच्चिनेवाला छैनन् : डा‍.भट्टराई

हिमाल प्रेस १९ वैशाख २०८१ १८:१०
32
SHARES
पुराना शक्तिहरूलाई जतिसुकै दयामाया गरे पनि उनीहरू सच्चिनेवाला छैनन् : डा‍.भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समिति संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मा चरम सत्तामोह देखिएको बताएका छन्। १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेसपाले बुधबार काठमाडौँको शान्तिवाटिकामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै डा.भट्टराईले सत्ताका लागि प्रचण्डले जोसुकैसँग पनि समीकरण गर्ने र तोड्ने गरेको बताए।

माओवादी आन्दोलनका केही नेताहरूको आग्रहमा प्रचण्डलाई यसअघिको निर्वाचनमा सहयोग गरेको र गोरखा क्षेत्र नम्बर २ बाट जित हासिल गराउन सफल भएको भन्दै डा.भट्टराईले चुनाव जितेपछि प्रचण्डले खोला तर्‍यो लौरौ बिर्स्याेजस्तो व्यवहार देखाएको बताए। संयोजक डा.भट्टराईले भने,‘चुनावपछि खोलो तर्‍यो लौरो बिर्सियो भनेजस्तो भयो। प्रचण्डजी चुनावअघि पानीमा भिजेको बिरालोजस्तो भएको मान्छे र चुनावपछि बाघजस्तो हुनुभयाे।’

उनले प्रचण्डप्रति आफ्नो विश्वास नरहेपछि माओवादीभित्रका केही व्यक्तिले नयाँ ढंगको आन्दोलनका लागि जानुपर्छ भनेकाले नै साझा चुनाव चिह्न लिएर निर्वाचन लडेको बताए। ‘अब फेरि माओवादी पार्टीलाई हामी समाजवादी पार्टीमा रूपान्तरण गछौं मिलेर जाऔँ भन्नुभयो। तर प्रचण्डजीमाथि मेरो विश्वास थिएन। उहाँ त सत्ताको लागि जे पनि गर्नुहुन्छ। तपाईं कुर्सीमा बस्ने हो भन्यो भने उहाँ जता पनि बस्दिनुहुन्छ भन्ने मलाई थाहा थियो।’

उनले पार्टीले नयाँबाटो तय गरेको भन्दै देशलाई विकल्प दिएरै छाड्ने जिकिर गरे। पुराना शक्तिहरूलाई जतिसुकै दयामाया गरे पनि उनीहरू सच्चिनेवाला नरहेको उनले बताए। उनले देशका पुराना पार्टीहरू भ्रष्टाचारमा डुबेको भन्दै सबै पुराना दल मक्कीसकेको र भ्रष्टाचारमा लिप्त भएको र जतिगरे पनि नसच्चिने बताए।

उनले भने,‘पुराना शक्तिहरूलाई जतिसुकै हामीले दयामाया गरेपनि यी सचिच्नेवाला छैनन्। त्यो भ्रममा नपरौं। अब झन् हुँदैन्। यी शक्तिहरूका हड्डीसम्म मक्कीसकेको छ। यी भ्रष्टाचारका काण्डहरू हिम नदीको एउटा टुप्पो मात्र हो। भरियाहरू समातिएका छन्। तर नाइकेहरू समातिएका छैनन्। आलोपालो सत्तामा जान्छन्। जब जनताले भ्रष्टाचारको आवाज उठाउँछन्। अनि रोक्छु भनेजस्तो गरेर अरूप्रति औंला देखाउँछन्।’

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नभएसम्म देशमा राजनीतिक स्थिरता र सुशासन कायम हुनै नसक्ने उनले बताए। उनले अब पार्टीभित्र कुनै पदाधिकारी नरहेको भन्दै प्रत्यक्ष निर्वाचित पदाधिकारी चयन गर्नेसहितको नयाँ पार्टी अभियानको घोषणा समेत गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =