बागलुङमा डढेलोबाट दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति

हिमाल प्रेस ११ जेठ २०८१ १०:२६ | Friday, May 24, 2024
बागलुङमा डढेलोबाट दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति फाइल तस्बिर

बागलुङ‍- डढेलोका कारण दुई महिनामा बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति भएको छ। फागुन ११ गते बरेङको सल्लेरी सामुदायिक वनबाट सुरु भएको डढेलो वैशाख १९ गतेसम्म ६८ वनमा फैलिएको थियो।

जिल्ला डिभिजन वन कार्यालयका अनुसार फागुन ११ गतेदेखि सुरु भएको डढेलो वैशाखको १९ गतेसम्म ६८ वनमा लागेको थियो। दुई महिनामा ६६ सामुदायिक वन तथा दुई राष्ट्रिय वनमा डढेलो लागेको डिभिजन वन अधिकृत सरोज पन्थीले जानकारी दिए।

राष्ट्रिय तथा सामुदायक वनमा आगलागीका कारण ठूलो क्षति भएको उनले बताए। दुई हजार एक सय ७४ हेक्टर वनमा देखिने क्षति भए पनि अप्रत्यक्ष रूपमा वन्यजन्तु र पर्यावरणमा ठूलो क्षति भएको उनले जानकारी दिए।

तमानखोला गाउँपालिका–२ स्थित रानीवन सामुदायिक वनमा वैशाख १३ गते लागेको डढेलोले एकजनाको मृत्यु, दुई घाइते भएका थिए। बागलुङ नगरपालिका–१२ अमलाचौर हिलेजुके सामुदायिक वनमा वैशाखको १९ गतेको डढेलोबाट एक घर, तीन गोठ जलेको थियोभने दुई भैँसी, तीन गाई, पाँच बाख्रा मरेका थिए। ताराखोला गाउँपालिका–१ स्थित राष्ट्रिय वनमा लागेको डढेलोबाट तीन घर, पाँच गोठ, छ बाख्रा, दुई भैँसी, एक राँगा मरेका थिए।

‘जंगली जनावर पनि मरेका छन्, केही बस्तीमा छिरेका पाएका छौँ, जनावारको क्षतिको तथ्यांक संकलन गर्न सकिएको छैन’, पन्थीले भने। जिल्लामा एक लाख पाँच हजार पाँच सय एक हेक्टर जमिनमा वन फैलिएको छ। जिल्लाको ३३ हजार नौ सय नौ हेक्टरमा पाँच सय २७ सामुदायिक वन छन्।

प्रकाशित: ११ जेठ २०८१ १०:२६ | Friday, May 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast