केन्याली नागरिक जोसुवा चेरुयोट किरुई। तस्बिर स्रोत : बीबीसी
काठमाडौँ– सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा निधन भएका एक केन्याली नागरिकको शव परिवारले नउठाउने भएको छ। सगरमाथाको चुचुरोमा पुग्ने अभियानमा रहेका जोसुवा चेरुयोट किरुईको आरोहणका क्रमममा गत साता मृत्यु भएको थियो।
बीबीसीका अनुसार ४० वर्षीय आरोही किरुई जेठ ९ गते आफ्ना नेपाली गाइडसँगै सगरमाथा आरोहणका क्रममा ४८ मिटर तल खसेका थिए। उनको निधन अक्सिजनका अभावमा भएको हो। उनी बिनाअक्सिजन शिखरमा पुग्ने अभियानमा थिए।
किरुईका परिवारले धेरै उचाइबाट शव निकाल्न उद्धारकर्मीहरूलाई जोखिम हुने बताएका छन्। नेपालको पर्यटन विभागका अधिकारीहरूले भने हिमाली क्षेत्रमा शव छाड्नु कानुनविपरीत हुने बताएका छन्।
सगरमाथा आरोहण अनुभवी आरोहीका लागि पनि कठिन र जोखिमपूर्ण मानिन्छ। नेपाली पर्वतारीही नवाङ शेर्पाका साथ आरोहण गरिरहेका किरुई अक्सिजन बिना सगरमाथा आरोहरण गर्ने पहिलो अफ्रिकी नागरिक बन्ने प्रयासमा थिए। उनीसँग खसेका शेर्पा भने हराइरहेका छन्।
किरुईको परिवारले बुधबार जारी गरेको वक्तव्यमा निकै परामर्श र सबै परिस्थितिलाई ध्यान दिएर उनको शवलाई हिमाली क्षेत्रमा आराम गर्न दिने कठिन निर्णय लिएको उल्लेख छ। ‘उनको शव निकाल्न उद्धारकर्मीका लागि पनि जोखिमपूर्ण हुनेछ। परिवार कसैको ज्यान जोखिममा पार्न चाहँदैन’, वक्तव्यमा भनिएको छ।
परिवारका अनुसार किरुई हिमाललाई असाध्यै माया गर्थे। बदलामा हिमालले पनि उनलाई माया गरेका वक्तव्यमा उल्लेख छ। ‘उनी आफूलाई खुसी लागेको ठाउँमा आराम गर्दैछन् भन्ने थाहा पाउँदा हामीलाई पनि सान्त्वना मिल्छ’, वक्तव्यमा परिवारका सदस्यले भनेका छन्।
वक्तव्यमा उनको शवलाई स्वदेश लैजान लाग्ने खर्चका बारेमा पनि चिन्ता व्यक्त गरिएको छ। बीबीसीका अनुसार उनको शव निकाल्न १९ हजार डलर (साढे दुई करोडभन्दा नेपाली रुपैयाँ) खर्च लाग्छ भने आठजना मानिसको सहयोग आवश्यक हुन्छ।
नेपाली पर्वतारोहण अधिकारीहरू भने किरुईको आरोही दलले आरोहणको अर्को सिजनमा शव निकाल्ने प्रतिबद्धतापत्र बुझाउनुपर्ने बताएका छन्। ती अधिकारीका अनुसार किरुईको शव भेट्न सकिने ठाउँमा थियो।
सगरमाथा आरोहणमा जानुअघि किरुईले आफू सबै तयारी गरेर अघि बढेको बताएका थिए। साथै आफ्नो पछिल्लो इन्स्टाग्राम पोस्टमा आफूले अक्सिजनबिना सजिलै शिखर चुम्ने विश्वास व्यक्त गरेका थिए।
परिवारले केन्याको राजधानी नैरोबी र उनको गाउँ रिफ्ट भ्यालीमा स्मारक बनाउने भएको छ।
पर्वतारोहण सञ्चालक संघ नेपालका अध्यक्ष डम्बर पराजुलीले सहज ठाउँमा हरेको शव तल ल्याउन आफूहरू सहमत रहेको बताए। सगरमाथामा मृत्यु भएका ३३० आरोहीमध्ये करिब २०० जनाको शव त्यहाँ रहेको अनुमान छ।




