आज अक्षय तृतीया, जाैकाे सातु खाएर तथा दान गरेर मनाइँदै

हिमाल प्रेस २८ वैशाख २०८१ ७:१५ | Friday, May 10, 2024
आज अक्षय तृतीया, जाैकाे सातु खाएर तथा दान गरेर मनाइँदै

काठमाडौँ- आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। हिन्दु सम्प्रदायमा जौको सातु र सर्वत खाएर यो पर्व मनाइँदै छ। आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ।

धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुआत भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ। त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ। यही दिन शिव–पार्वतीको विवाह भएको पनि मानिन्छ। त्यसैले आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्त्व छ।

यसैबीच मधेशका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा पनि यो पर्व मनाइँदै छ। ब्राह्मणलाई जौ, चनाको सातु र सक्खरको सर्वत दान गरेर मिथिलावासीले यी पदार्थ आफूले पनि सेवन गर्ने परम्परा छ।

पर्वमा जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत खुवाइन्छ त्यति नै बढी पुण्य पाइने हिन्दु विश्वासले आज हिन्दु मैथिल बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन्।

यस पर्वमा गरिबलाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको बर्दिबास–२ का पण्डित महेशकुमार झा बताउँछन्।

आज सुन, शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने शास्त्रमा वर्णन भएको उनकाे भनाइ छ।

प्रकाशित: २८ वैशाख २०८१ ७:१५ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast