भारतको लोकसभा निर्वाचनका कारण पूर्वी सीमानाका बन्द

हिमाल प्रेस ११ वैशाख २०८१ २१:३६
10
SHARES
भारतको लोकसभा निर्वाचनका कारण पूर्वी सीमानाका बन्द

झापा-  झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज (मंगलबार) साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन्।

भारतमा वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय आग्रहमा नेपाली नाका बन्द गरिएका हुन्। बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवतजावत निषेध हुने स्थानीय प्रशासनले जनाएको छ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा र गौरीगञ्ज नाका उक्त अवधिमा बन्द रहने जानकारी दिए। आज (मंगलबार) साँझ ६ बजे बन्द भएका ती नाका वैशाख १४ गते साँझ ६ बजे खुल्ने भएका छन्।

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन पश्चिम बंगालको दार्जीलिङ र विहारको किसनगञ्ज जिल्लामा वैशाख १४ गते एकैदिन हुँदैछ। भारतका दुवै जिल्ला झापासँग सीमा जोडिएका छन्।

उक्त अवधिमा नाकाबाट अति जरुरीबाहेक सर्वसाधारण र सवारी साधनको आउजाउ पूर्णतया बन्द हुने प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए। उनले मतदानबाहेकका दिनमा अत्यावश्यक एम्बुलेन्स र हवाई सेवा प्रयोगकर्तालाई भने छुट दिइने जानकारी दिए।

भारतको दार्जीलिङ जिल्लासँग झापासँगै इलामको समेत सीमाले छोएको छ। उक्त अवधिमा इलामको पशुपतिनगर र मानेभञ्ज्याङ नाका बन्द गरिने बताइएको छ। भारतीय सञ्चार माध्यमका अनुसार भारतको पश्चिम बङ्गालको दार्जीलिङ, रायगञ्ज र बलुरघाट निर्वाचन क्षेत्रमा वैशाख १४ गते मतदान हुनेछ। सोही दिन विहार प्रान्तको किसनगञ्ज, पूर्णिया, कटिहार, भागलपुर र बाङ्का निर्वाचन क्षेत्रमा मतदान हुनेछ।

प्रकाशित: ११ वैशाख २०८१ २१:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 4 =