माछापुच्छ्रे हिमालको सौन्दर्यलाई नजिकबाट नयन स्पर्श गर्ने उत्कट अभिलाषा थियो। त्यो चाहना तृप्त पार्न हाम्रो जोडी तयार भयो। पोखराबाट उत्तरतिर रहेको खुमैडाँडा पुग्न केही दिन छुट्ट्याएर हामी २०७९ चैत २७ बिहान नौ बजे आकाशमार्गमार्फत काठमाडौँबाट पोखरातर्फ लाग्यौँ। पोखराको नवनिर्मित विमानस्थलमा पाइला टेक्दा देखिएको माच्छापुच्छ्रेले हामीलाई नै स्वागत गरेजस्तो लाग्यो। हामी झन् लोभियौँ। कति बेला नजिक पुगूँझैँ भयो। विमानस्थलबाट सोझै एक वाहनमा चढेर हेम्जाबाट घाचोक हुँदै सरिपाखातर्फ लाग्यौँ हामी दम्पती।
१२ बजेतिर सरिपाखा पुगेपछि वाहनलाई बिदाइ गर्यौँ। अनि झोला बोकेर हिँड्न सुरु गर्यौँ उत्साह र थकान सँगसँगै लिएर उकालोे मार्ग हुँदै केही बेर हिँडेपछि बाटोको देब्रेतर्फ रहेको एउटा खाजापसलमा चिया खान भन्दै छिर्यौँ। करिब २० मिनट त्यहाँ बिताएपछि हामी अगाडि बढ्यौ।
सिमेन्ट र बालुवाबाट बनेको सिँढी उक्लनुपर्ने रहेछ। यस्तो बाटोमा झोला बोकी हिँड्दा सुरुमा केही गाह्रो महसुस भयो। बिस्तारै पाइला अघि सार्दै गएपछि बहिरहेको शीतल हावाले सहज हुन थाल्यो।
एकै रथका दुई पांग्रा हामीले एकैपटक प्रकृतिमा रमाउँदै गरिएको यात्रा वास्तवमै रोमाञ्चक महसुस हुँदै थियो। प्रिय मान्छेसँग उकालो चढ्दाको थकान पनि साटासाट गर्दा छुट्टै आनन्द पायौँ। अझ केही समय त बाटोमा रमणीय प्रकृति र हामी दुई प्राणी मात्र थियौँ। लाग्थ्यो, हामी निकै भाग्यमानी!
वरिपरि मनोरम हरिया डाँडा हेर्दै व्यवस्थित बाटोको दायाँबायाँ रहेका रूख, झाडी, बुट्ट्यान पछ्याउँदै हामी हिँडन थाल्यौँ। गुराँसका फूल हेर्दै पदमार्गमा पाइला लम्काउँदाको क्षण वास्तवमै आनन्ददायक थियो। पूर्ण गुराँसको मनमोहकता हेर्न त्यहाँ पुग्न केही दिन ढिलो भएको अनुभूत गरियो।
गुराँसलगायत अन्य वनस्पतिले हरियाली छाएको डाँडा, विभिन्न प्रजातिका वनस्पति, घाँसपात, बुट्ट्यानले सुसज्जित पाखापखेरोसँगको निकटता वास्तवमै रोमाञ्चक थियो। हिँड्दै गर्दा कतै ढुंगाको त कतै बाँस र काठको सहायतामा बनेका माटोका सिँढीमा पाइला राख्न पुग्थ्यौँ। हातैले भेटिने रूखका हाँगाबिँगा समाउँदै, पिङ खेल्दै र झुन्डिँदै फोटो खिच्दाको रमाइलोमा हामी आनन्दित भइरहेका थियौँ।
हिँड्दा लाग्ने थकाइ र जिउ भिजाउने पसिनालाई स्वच्छ हावाले बिर्साइरहेको थियो। नाकले वातावरणमा रहेको मिठो प्राकृतिक बासना महसुस गरिरहेको थियो। आँखाले प्राकृतिक सौन्दर्यको छटालाई दिमागभित्र पुर्याइरहेको थियो भने कानले सुमधुर प्राकृतिक सुसेलीलाई आफूभित्र समाहित गरिरहेको थियो।
कोही हामी जसरी नै अघि बढिरहेका भेटिए। कोहीकोही सोही मार्ग हुँदै फर्किरहेका थिए। यात्रामा उनीहरूसँग अर्कै प्रकारको हार्दिकता महसुस हुन थाल्यो। हामी झोला बोक्दै, चस्मा लगाउँदै, लठ्ठी टेक्दै हिँड्दा पक्का पदयात्रीझैँ भएका थियाैँ। अरूलाई पनि त्यही नजरले हेर्दै थियौँ।
खाना, खाजा खाने होटल हेर्दै अगाडि बढ्दा फर्कनेहरू प्रायः हतारमा देखिन्थे। खुट्टा खोच्याउँदै, गलेको एवं दुखेको भावमा अँध्यारो मुख लगाउँदै ओर्लिरहेका समेत देखिँदा हाम्रो अवस्था पनि त्यस्तै त होला नि भन्ने लागेको थियो।
हिलेखर्क पुग्दा करिब ३ बजेको थियो। यात्रा तालिकामा त्यस दिन हिलेखर्कमा बास बस्ने थियो। खान अनि बस्न पाइन्छ होला भनी बाटोको छेवैमा रहेको होटलमा सोधपुछ गर्यौँ। कोठा खाली नरहेको र बुक भइसकेको जानकारी प्राप्त भयो। चौरमा पालमा सुत्ने भएचाहिँ व्यवस्थापन गर्न सकिने कुराले हामी एकछिन त रनभुल्लमा पर्यौँ।
होटल सञ्चालकले एक घण्टा हिँड्नुभयो भने चिचिम्लेमा कोठा मिल्न सक्छ र यात्रा पनि पनि छोट्टिन्छ भनेर सल्लाह दिए। हामी लौ त भनेर उकालो लाग्न तयार भयौँ। त्यही बाटो भएर तल झर्दै गरेका केही यात्रुले माथि पानी नपाइने भएकाले पानी बोकेर जान सल्लाह दिए। यसैगरी बिजुली नभएकाले मोबाइल चार्ज गर्न नपाइने पनि सुनाए।
हामी होटलमा बगिरहेको धारामा बोतल भरेर अगाडि बढ्यौँ। चराचुरुंगीका चिरबिर अनि रूखपातले भरिएको स्थानमा बाटो अप्ठेरो थियो। साँझ पर्दै थियो। एकातिर बस्ने ठाउँमा कतिबेला पुगिन्छ भन्ने चिन्ता थियो भने अर्काेतिर अगाडि हिँडेको भन्दा अलिक ठाडो बाटोका कारणले हिँडाइको गति कम हुँदै थियो।
दुई पाइला अगाडि सरेपछि केही क्षण सुस्ताउँदै साथमा बोकेको पानी एवं केही खानेकुरा खाँदै करिब दुई घण्टामा हामी चिचिम्लेमा पुग्यौँ। होटलमा कोठा पाइयो। बास बस्ने निधो गर्यौँ। कालो चिया खाई केही बेर आराम गर्यौँ।
अँध्यारो भएपछि होटलमा सोलारको धिपधिपे बत्ती बल्ने रहेछ। हामी बस्दै गर्दा अन्य दुई समूहका करिब आठ जना यात्री पनि थपिए। हामीले छुट्टै कोठा पाएका थियौँ। रात परिसकेकाले चिसो बढ्दै थियो। सोलारको प्रकाशमा खाना खाई मोबाइलको उज्यालोका भरमा कोठामा सुत्यौँ। काठैकाठ भए पनि चिसो महसुस भयो। सिरकभित्र गुँडुल्किँदा केही समयपछि निदाएछौँ।
भोलिपल्ट बिहान निद्राबाट ब्युँझिई नित्यकर्मका लागि कोठाबाहिर निस्कँदा पछाडिपट्टि उत्तरतर्फ देखिएको सेतो हिमालको दृश्यले हामी पुलकित भयौँ। हिजोको थकाइ अन्त्य भएको अनुभूत भयो। शरीर ऊर्जाशील थियो।
चियानास्ता खाई सात बजे उकालो लाग्यौँ। केही बेर हिँडेपछि देउराली भन्ने स्थानमा एउटा काठको घर भेटियो। दुई युवा कोठाअगाडि मोबाइलमा केही हेरिरहेका थिए। दूधचियाको तलतल लागेको थियो। ती युवासँग दूध हालेको चिया पाइन्छ होला कि भनी सोध्दा कालो चिया मात्र पाइने जबाफ प्राप्त भयो। हामीले यात्रा अगाडि बढाइरह्यौँ।
केही स्थानमा भिरालो चट्टानमा जसोतसो बनेको सिँढीमा हिँड्नुपर्दा केही अप्ठेरो महसुस हुन स्वाभाविक थियो। फर्कँदै गरेका पदयात्रीसँग माथि पुग्न कति समय लाग्छ भनेर सोध्थ्यौँ। सबैले बिस्तारै जानुहोला, पुगिहालिन्छ नि भन्थे। अनि अधिकांशको कुरा एउटै हुन्थ्यो, पानी र मोबाइल चार्जको जतन गर्नुहोला। एकछिन त लाग्थ्यो, अन्य केही नबोकेर पानी मात्र पो लैजान पर्ने रहेछ कि! बाटो गुराँसलगायत विभिन्न वनस्पतिका रूखले सुसज्जित थिए।
करिब १२ बजे रेस्ट क्याम्पमा पुगी भात खायौँ। केही बेर घाममा आराम गरी पुनः उकालो लाग्दै गर्दा पहाडको रूप फेरिएको देखियो। हरिया रुखका सट्टा ससाना बुट्यान थिए। पलाउने क्रममा रहेका खैरा घाँसले छोपेको एकनाले धर्सोमा कुँदिएको बाटो थियो। ठाडो चट्टानमा बनेका सिँढीमा हिँड्दा यात्रा कठिन बन्दै थियो।
हामी साँझ चार बजे खुमै डाँडामा पुग्यौँ। त्यहाँ दुई तीनवटा ससाना होटल रहेछन्। हामी बस्ने भनिएको होटलमा हरियो रङको जस्ताको छानो थियो। बुक गरेकाले मात्र कोठा पाए। अरूका लागि चौरमा पालको कोठा थियो।
हिमालको काखमा, वरिपरि मन्त्रमुग्ध पार्ने प्रकृतिको बीचमा पालमै बसेर प्रकृतिको आनन्द लिन हामी तयार भयौँ। होटलको खाना खाने ठाउँमा यात्रुहरू कोही चिया कोही तातोपानी पिइरहेका थिए। हामी पनि सोही हुलमा मिसियौँ। स्वदेशी र विदेशी गरी त्यहाँ २० जनाजति थियौँ। समूहमा रही स्वदेशी एवम् विदेशीहरूसँग विभिन्न विषयमा बात मार्न थाल्यौँ। एकजना विदेशीको परिवार नै आएको रहेछ। काठमाडौँको लिंकन स्कुलका शिक्षक ती व्यक्ति बेलायतका रहेछन्। उनीहरूसँग बसेर गफ गर्यौँ। केही समय तास पनि खेल्यौँ। यसरी हामीले आनन्दपूर्वक समय बितायौँ।
खाना खाई करिब आठ बजे पालमा सुत्ने तरखर गर्दा सिमसिम पानी पर्यो। थप ओढ्ने मागेर सुत्ने प्रयास गर्यौँ। ३२५४ मिटरको उचाइमा रहेको खुमै डाँडामा चिसो मात्र ह्वात्तै बढेको थियो। टम्म लुगा लगाई दुईदुईवटा ब्ल्यांकेट ओढेर सुत्दा पनि निदाउन सकेनौँ। एकातिर भुइँबाट चिसो आइरहेको थियो भने बिहान चारै बजे उठेर हिँडनुपर्ने कुरा दिमागमा थियो।
जसोतसो बिहान चार बजे उठ्यौँ। झोलामा पानी, छाता र केही खानेकुरा लियौँ। टाउकोमा लाइट बालेर लठ्ठीको सहारामा हाम्रो यात्रा अघि बढ्न थाल्यो। बिहानीपख खुलेको आकाशमा पूर्णिमाको पाँचौँ दिनको चन्द्रमाको प्रकाशले बाटो उज्यालो देखियो। यात्रुले बोकेको प्रकाशका साधनले बाटो सजाइएको जस्तो देखिएको थियो।
कतै समथर केही ठाडो उकालो अनि केही ओरालो मिश्रित साँघुरो बाटोमा अन्य यात्रीसँगै हामी दुईजना सँगसँगै हिँड्न थाल्यौँ। सुस्तरीसुस्तरी हिँड्दै हामी बिहान छ बजेतिर क्रोचाङमा पुग्यौँ। त्यो हाम्रो यात्राको उच्चतम बिन्दु थियो।
पश्चिमबाट उदाउँदो घामको लाली क्रमशः उत्तरतर्फ लहरै हाँसेर उभिएका अन्नपूर्ण शृंखलाका माच्छापुच्छ्रे, मार्दीलगायतका हिमालमा छरिन थालेको थियो। तीन हजार छ सय बयासी मिटर उचाइबाट मनमोहक दृश्य देखियो। हिमालको काखमा ढपक्कै जमेको हिउँको सेतो आँगनमा हिँड्दा प्राप्त अनुपम आनन्दले त्यहाँ आइपुग्दाको दुःखलाई खर्लप्पै निलेर शरीरमा नयाँ स्फूर्ति उदय भयो। अगाडिपट्टि लहरै रहेका लालीमय हिमाललाई नजिकबाट नयन स्पर्श गर्दै क्यामरामा कैद गर्न थाल्यौँ। बाक्लो हिउँमा रमाउँदै घरी यता घरी उता गर्यौँ। त्यहाँ पाएको खुसी र आनन्द शब्दले बयान गरिसाध्य छैन। सायद स्वर्गीय आनन्द भनेको यही त होला! करिब आधा घण्टा त्यहीँ रमायौँ।
घाम लाग्दै गएपछि साँघुरो बाटोमा जमेका हिउँ पग्लेर चिप्लो हुने भएकाले सावधानीपूर्वक ओर्लनुपर्ने रहेछ। बिस्तारै खुमै डाँडामा बसेको होटलमा आइपुग्यौँ। केही नास्ता खायौँ। हिसाबकिताबका साथ दायित्व फछ्र्याैट गरी हामी तलतिर झर्न थाल्यौँ।
देउरालीमा आइपुगेपछि पोखरा पुग्ने दुइटा बाटामध्ये दहिनेतर्फ चिचिम्ले, हिलेखर्क हुँदै सरिपाखा पुग्छ। देब्रेतर्फ भाले डाँडा, मिर्सा, रुम्जा हुँदै तातोपानी (खारपानी) पुग्छ। हामी देब्रेतर्फ लाग्यौँ।
सुरुमा त बाटो सोझै भिरालो एवं घाँसपातले छोपिएको देखियो। एकजनामात्र हिँड्न मिल्दो रहेछ। बिस्तारै ओरालो लागेपछि जंगलको बीचमा हरियाली बुट्यान र झाडी भेटिन थाले। चराचुरुंगीको आवाजका साथै सुसाइरहेको हावा र मनमोहक वासनाले दिएको मनोरम अनुभवले ऊर्जा दिइरहेको थियो।
दिनभरजसो आधुनिकताबाट टाढा रह्यौँ। धेरैजसो भिरालो अनि कही समथर रहेका ढुंगाका साथै काठ र बाँसले आड दिई बनाइएका प्राकृतिक सिँढी ओर्लियौँ। जातजातका रूख, बोटबिरुवा, पातपतिंगर, झाडी एवम् बुट्यानका साथै कतिपय मार्गमा गेग्रान थिए। चराचुरुंगीका चिरबिर सुन्दै हिँड्दाको क्षणमा फेरिएको सास स्वच्छ हुँदो रहेछ।
दुरीका हिसाबले फेदीमा पुग्न छोटो भनी पछ्याइएको उक्त बाटोबाट तल आइपुग्दा केही गाह्रो भयो। उक्लँदा दुई दिन लागेको थियो। झर्दा एकै दिनमा फेदी आइपुग्यौँ। हाम्रै निर्णयको परिणाम थियो त्यो। त्यसलाई आत्मसात् गर्दै खाना खायौँ। तातोपानी जान सवारीसाधन पाइएन। हिँड्ने शक्तिको लगभग अन्त्य भइसकेको थियो। अन्य यात्रुहरूसँग भुर्जुङखोला, लामाचौर हुँदै पोखरा फर्कने सवारीसाधनको प्रतीक्षामा बस्यौँ।