न्याय क्षेत्रका चम्किला नक्षत्र : रत्नबहादुर बिष्ट

ध्रुवहरि अधिकारी १ वैशाख २०८१ १०:०९
134
SHARES
न्याय क्षेत्रका चम्किला नक्षत्र : रत्नबहादुर बिष्ट

‘ज्ञानगुन प्रकाशन’ र ‘ज्ञानगुन कानून प्रतिष्ठान’ का संस्थापक/सञ्चालक भएका कारण ज्ञानगुनका पर्याय बन्नुभएका शेषराज सिवाकोटीको साहित्यिक/प्राज्ञिक उपस्थिति भने आफ्नो प्रकाशनमा सीमित छैन। यसको नवीनतम् प्रमाण हो ‘आदर्श न्यायमूर्ति रत्नबहादुर बिष्ट’ शीर्षकको ८८ पृष्ठको पुस्तक। यसको प्रकाशक ‘पैरवी प्रकाशन’ हो तर यस ‘लघु कृति’ को सम्पादनकार्य भएको रहेछ शेषराज सिवाकोटीबाट। (लघु कृति सम्पादकले नै गरेको नामकरण)

अर्थशास्त्रका एमए र कानूनतर्फ एल्एल्‌बीको उपाधि प्राप्त गरेका रत्नबहादुर बिष्ट २०१३ सालमा न्यायालयमा प्रवेश गरेको उल्लेख यस पुस्तकमा समावेश भएका लेख,संस्मरणका लेखकहरूमा भएको छ। उहाँले २०२७ सालदेखि २०३३ सालमा प्रधानन्यायाधीशको हैसियतले नै सर्वोच्च अदालतमा काम गर्नुभएको थियो।

पहिले न्यायाधीश र त्यसपछि प्रधानन्यायाधीशको पदमा रहँदा निर्भीकताका साथ र इमान्दारीपूर्वक न्यायसम्पादन एवं न्यायपालिकालाई मार्गदर्शन गर्ने न्यायमूर्ति बिष्टबारे नेपाली समाजलाई जानकार तुल्याउन यो किताब छापिएको बुझिन्छ। सुदूर पश्चिम डडेलधुरामा जन्मे-हुर्केका रत्नबहादुर बिष्ट बाबुको प्रेरणा र आफ्नो मेहनतबाट उच्चशिक्षा प्राप्त गरेपछि वृत्तिविकासमा लागेको देखिन्छ।

पुस्तकको भूमिका खण्डमा बिष्टबारे न्यायमूर्तिद्वय टोपबहादुर सिंह र प्रकाश वस्तीका अलग-अलग लेखनद्वारा विशद चर्चा भएको छ। त्रि-चन्द्र कलेजमा अर्थशास्त्र पढाउँदाताका बिष्टका प्रिय शिष्यमा कमल दीक्षितको नाम पनि रहेछ जसको प्रसङ्‌ग दीक्षितकै कलमबाट भएको छ। अन्य १७ थान संस्मरण छन् जसमा निष्पक्ष न्यायको लागि बिष्टबाट भएका काम-कारबाही र दिशानिर्देशको उल्लेख छ।

हुप्रकै उपेक्षा

राजा महेन्द्रका ससुरा हरिशम्शेरको सम्पत्तिसम्बन्धी पहिले नै छिनिसकेकको मुद्दालाई दोहोर्‍याएर हेरिदिनू भन्ने राजाकै हुकुम प्रमाङ्‌गी (हुप्र) भएको रहेछ। तर हुप्रको पालना गरी हरिशम्शेरलाई जिताउने ठाउँ भेटिएनछ, र फैसला उनको विपक्षमा भएछ। भोलिपल्टै बिष्टलाई दरबारबाट बोलाहट आयो, शक्तिशाली राजाको अगाडि उभिँदा बिष्ट भयग्रस्त हुनु स्वाभाविक थियो। तर भलाकुसारीपछि राजाबाट हुकुम भयो:- ‘रत्नबहादुर हिजोको निर्णयबाट मेरो इज्जत बढ्यो,पक्षपातको लाञ्छनाबाट म बाँचें, धन्यवाद छ।’ (आर.डी. ‘प्रभास’ चटौतको लेख)

त्यो चर्चित मुद्दाको फैसलापश्चात् बिष्ट राजाबाट पुरस्कृत र विभूषित समेत भएका प्रसङ्‌ग यत्रतत्र भेटिन्छन्। केही महिनाअघि एक टेलिभिजन-भेटवार्तामा साबिकको राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीबाट पनि हरिशम्शेरसम्बन्धी यो मामिलाको पुष्टि भएको थियो।

अचेल त अदालतले फैसला गर्ने हो गर्छ, न्याय पर्छ कि पर्दैन भन्न नसकिने भयो- न्यायपालिकाबारे यसप्रकारको आलोचना आउन थालेको छ। न्यायपालिकाको स्वच्छता र निष्पक्षताबारे सर्वसाधारणलाई कसरी ढुक्क गराउने, त्यो ठूलै चुनौतीको विषय बनेको छ। अहिलेको न्यायपालिका नेतृत्व सोच्दै होला।

फेरि चर्चित लघु-कृतितिरै फर्कौँ। कूटनीतिक फाँटमा भए‍-गरेका कामकुरामा अभिरुचि राख्ने सज्जनहरूलाई घतलाग्ने एउटा घटनाको चर्चा प्रधानन्यायाधीश बिष्टका बेञ्च असिस्टेण्ट भई काम गरेका पूर्वन्यायाधीश कृष्णप्रसाद बस्यालको संस्मरणमा फेला पर्छ:- ”एउटा फैसलामा सही गराउँदा गराउँदै फोनको घण्टी बज्यो। मैले फोन उठाएँ। ब्रिटिश वा भारतीय राजदूत कसैको हुनुपर्छ। उनले Right Honorable लाई पाऊँ भनेपछि मैले प्रधानन्यायाधीशज्यूलाई फोन दिनैपर्‍यो, दिएँ। आशय के रहेछ भने सुदूरपश्चिमतिर कतै अदालत भवन भत्किन लागेको, उनले घुम्ने क्रममा देखेछन्। Right Honorable को अनुमति पाए हामी बनाइदिने थियौँ। प्रधानन्यायाधीशज्यूको प्रतिप्रश्न थियो:- तपाईंको सरकारलाई सोध्नुहोस्, के तपाईंको देशमा कुनै विदेशीले अदालत भवन बनाइदिन्छु भन्यो भने तपाईंको सरकारले अनुमति दिन्छ?” उहाँको मुद्रा केही गम्भीर र भाषा रोषपूर्ण थियो। बस्यालसँग बिष्टले भन्नुभएछ- प्रोटोकल थाहा नभएको मान्छे राजदूत ! परराष्ट्रका अधिकारीसँग गर्ने कुरा CJ सँग गर्छ। तर बस्यालको अनुमानमा त्यो राजदूतले पहिले परराष्ट्रमै कुरा गर्‍यो, त्यताकै सङ्‌केतअनुसार यता कुरा गर्न खोजेको हुनुपर्छ। बिष्टले बस्यालको यो तर्क मानेर परराष्ट्रका ‘अफिसियल’ले जिम्मेवारी पन्छाउन खोजेको निष्कर्ष निकाल्नु भएछ।

स्वाधीनता सर्वोपरि

आफू स्वाभिमानी र देशको स्वाधीनतालाई सर्वोपरि राख्ने रत्नबहादुर बिष्टको विशिष्टताको झलक दिने पाठ्यसामग्री समेटिएको यस कृतिका अन्य लेखकहरूको फेहरिस्त यो छः- भूपनिधि पन्त, हरिप्रसाद शर्मा, हरि बन्दी, जयराज पन्त, गौरीबहादुर कार्की, पद्‌मराज काफ्ले, दीपबहादुर खड्का, केशवप्रसाद मैनाली, विश्वदीप अधिकारी, भीमेन्द्रबहादुर कार्की, विशाल खनाल, काशीराज दाहाल,श्रीरामप्रसाद उपाध्याय,महेशसिंह कठायत र सम्पादक शेषराज सिवाकोटी।

सिवाकोटी ‘ज्ञानगुन कानून प्रतिष्ठान’ सँग आबद्ध हुनुलाई न्यायपालिकामा उहाँको पृष्ठभूमिसित जोड्न मिल्छ। आखिर उहाँले ४१ वर्षको सेवाअवधिमा न्यायाधीश भएर उच्च अदालतको नेतृत्वसम्मको भूमिका पटक‍-पटक निर्वाह गरेकै हो।

२०७९ भाद्रमा सेवानिवृत्त भएपछि सिवाकोटी फेरि अन्वेषण, लेखन, सम्पादन र प्रकाशन कार्यमा सक्रिय हुँदै आउनुभएको छ।अब कानून प्रतिष्ठान त क्रियाशील हुने नै भयो, त्यसको साथसाथै उहाँ न्यायिक काममा व्यस्त रहेका बखत केही निष्कृय रहेको ‘ज्ञानगुन प्रकाशन’ ले पनि हालै आएर आफ्ना गतिविधि तीव्र पारेको देखापर्छ। गएको चैत १६ गते सिवाकोटीले दुबै संस्थाका तर्फबाट एक दर्जन प्रकाशन लोकार्पण गराउनु भयो। त्यसै बखत सामाजिक जीवनका विविध क्षेत्रको प्रतिनिधित्व गराउँदै नौ जना विशिष्ट नागरिक (जसलाई ‘नवरत्न’ भनियो) लाई सम्मान अर्पण पनि गर्नु, गराउनु भयो। प्रकृतिदेखि संस्कृतिसम्मका विद्वान्, विदुषीको जमघट हुनगयो। त्यस दिनको कार्यक्रमको प्रेक्षासमाजले सिवाकोटीको लगन र जिज्ञासालाई अद्‌भूत ठहर्‍याएको थियो जसको कदर पनि यथासमय होला नै।

अहिलेलाई, यस कृतिमा झल्किएको सम्पादक सिवाकोटीको लगनशीलता आगामी दिनमा यस्तै ठूला-साना ग्रन्थहरूमार्फत प्रकट हुँदै जाने अपेक्षा गरौँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 12 =