स्तरीय हल, कमजोर फिल्म

सुस्मिता बजगाईं १ वैशाख २०८१ २०:०४
374
SHARES
स्तरीय हल, कमजोर फिल्म रञ्जना सिनेप्लेक्स।

काठमाडौँ- उच्च प्रविधियुक्त हल थपिने क्रम बढ्दो छ। संख्यात्मक रूपमा फिल्म निर्माण पनि धेरै भइरहेका छन्। गुणस्तरीय फिल्म निर्माण नहुँदा हलहरू मात्र घाटामा छैनन् त्यसको असर समग्र फिल्म उद्योगमा परेको छ।

५० को दशकसम्म राजधानीका विश्वज्योति, कुमारी, जय नेपाल, रञ्जना सिनेमा हलमा खचाखच दर्शक हुन्थे। कुनै फिल्म चल्दा त हलमा गएर हेर्न टिकट पनि पाइन्नथ्यो। ब्ल्याकमा किन्नुपर्थ्यो।  हल छुट्दाको लर्को परैबाट देखिन्थ्यो।

अब ती कुरा एकादेशको कथाजस्तै भए। फिल्मको टिकट किन्न लामो समयसम्म लाम लाग्नु पर्दैन। दर्शकको भीडभाड कम हुन थालेको छ। अनलाइनबाटै सिट रोजेर टिकट खरिद गर्न सकिन्छ। ढुक्कसाथ हलमा गएर फिल्म हेर्न पाइन्छ। थ्रीडी सिस्टम र फोरके प्रोजेक्सनजस्ता उच्च प्रविधि भित्रिएका छन्। त्यसैले हल सञ्चालकहरूले ६० सिटसम्मका हल सञ्चालनमा ल्याएका छन्। यद्यपि फिल्मले भने सोचेअनुसार व्यापार गर्न सकेको छैन।

पुराना हल धमाधम बन्द हुन थालेका छन्। पछिल्लोपटक फागुन १ देखि गोपीकृष्ण हल बन्द भयो। २०५२ सालदेखि सञ्चालनमा आएको यो हल सुरुमा जुम्ल्याहा थियो। एकातिर गोपीको पर्दा थियो भने अर्कापट्टि कृष्णको।

त्यति बेला एउटै परिसरमा दुईवटा पर्दा हुनु नयाँ कुरा थियो। यद्यपि गोपीकृष्णले पर्दा बढाउँदै लगेर सातवटासम्म बनाएको थियो। गोपीकृष्णले पर्दा मात्रै बढाएन, अत्याधुनिक सुविधासहितको प्रविधि पनि भित्र्याएको थियो।

हल सञ्चालक थिए, फिल्म निर्माता उद्धव पौडेल। उनको सफल फिल्म ‘गोपीकृष्ण’ बाट यो हलको नामकरण गरिएको थियो। निर्माता पौडेल राजनीतिमा आबद्ध छन्। हलचाहिँ इतिहास बनिसक्यो।

काठमाडौँ उपत्यकामा बन्द हुने हलको सूची लामै छ। २०५० अघिदेखि नै वर्चस्व रहँदै आएका कुमारी, जय नेपाल, नवदुर्गा, अशोकजस्ता हल अहिले छैनन्। साथै मनकामना, आराधना, पृथ्वी, सिद्धार्थ, अमर, ललित, हीरारत्न, पुष्पाञ्जली, आरती, गंगाजस्ता हल बन्द भएको पनि धेरै भयो।

कतिपय हल सञ्चालकले व्यवसाय परिवर्तन गरे भने केही हलचाहिँ प्रविधिसँगसँगै अघि बढ्न सकेनन्। अशोक हल पार्टी प्यालेसमा रूपान्तरण भएको छ। हीरारत्नको पनि अवस्था त्यस्तै छ। कोराना महामारी बहाना बन्यो हल बन्द गर्ने।

प्रविधिलाई आत्मसात् गर्दै चलिरहेका हल औँलामा गन्न सकिने मात्रै छन्। कतिपय हल प्रविधिमा अद्यावधिक भएर मल्टिप्लेक्स सिनेमाजमा गाभिएका छन्।

मल्टिप्लेक्सको विकास

राजधानीका अधिकांश हलमा एकभन्दा बढी पर्दा छन्। यस्ता हलका विशेषता हुन्, आधुनिक प्रविधिअनुसार थ्रिडी, फारेके प्रोजेक्सन, उत्कृष्ट अडियो क्वालिटी, अर्डरअनुसारको खाजाको व्यवस्था आदि।

नेपाल चलचित्र संघको विवरणअनुसार आव २०८०/८१ मा देशैभर १ सय ३८ हल सञ्चालनमा छन्। उपत्यकामा धेरै मल्टिप्लेक्स हल छन् भने उपत्यकाबाहिर सिंगल थिएटर बढी छन्।

क्यूएफएक्स सिनेमाज नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स हल हो। दरबारमार्गमा रहेको क्यूजलाई क्यूएफएक्समा जोड्ने तयारी छ। सामाखुसीमा बन्दै गरेको नयाँ सिटी स्क्वायर मलमा नयाँ ब्रान्ड खोल्ने घोषणा गरिएको छ। अब देशैभर क्यूएफएक्सको पर्दा संख्या ३६ र हलसंख्या १५ पुगेको छ।

आईएनआई सिनेमाज दोस्रो ठूलो मल्टिप्लेक्स हो। यसका देशैभर तीनवटा हल छन् काठमाडौँको नयाँ बानेश्वरस्थित एनबी सेन्टर, गोंगबु बसपार्कस्थित लोत्से मल र बुटवलको मिलनचोकस्थित क्युबक्स।

तेस्रो ठूलो मल्टिप्लेक्स वान सिनेमाजको नयाँ बानेश्वरको आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर गरी दुई हल छन्।

क्यूएफएक्समा दर्शकको चाप बढी हुने अन्य हल सञ्चालकको दाबी छ। यसअन्तर्गत उपत्यकाको सुन्धारामा सिभिल मल, ललितपुरमा लबिम मल, दरबारमार्गमा दरबार सिनेम्याक्स, भक्तपुरको राधेराधेको भाटभटेनी र ठमेलको छाया सेन्टर गरी पाँचवटा हल सञ्चालनमा छन्।

सिटी सेन्टरमा रहेको बिग मुभिज, केएल टावरमा रहेको एफक्यूब सिनेमाज, वान सिनेमाजको आइप्लेक्स मलमा दर्शकको चाप हुने गरेको हल सञ्चालक बताउँछन्।

प्रविधिसँग जोडिएका पुराना हल

विश्वज्योति, रञ्जना र अष्टनारायण हलले भने आफ्नो अस्तित्व कायमै राखेका छन्। जमलमा रहेको विश्वज्योति थ्रिडी सिस्टममा सञ्चालन भइरहेको छ। न्युरोडको रञ्जना सिनेप्लेक्सले नयाँ प्रविधि भित्र्याएको छ। रञ्जनामा एलडब्लू साउन्ड, आधुनिक थ्रिडी सिस्टम र फोरके प्रोजेक्सन छन्।

पहिले एउटामात्र पर्दा रहेको रञ्जनामा अहिले तीनवटा पर्दामा गरी सिटसंख्या ५ सय २३ सिट छ। ठूलो हलमा २ सय ५० सिट, दोस्रोमा १ सय ६० र तेस्रोमा १ सय १३ सिट छन्।

विश्वज्योतिमा पनि दुईवटा पर्दा छन्। ठूलो पर्दामा २ सय एक सिट छ भने सानोमा ८९ गरी हलमा दुई सय ८० सिट छ।

माछापोखरीस्थित अष्टनारायण हलमा चारवटा पर्दा छन्। जसमा १७ सय ३१ सिट छन्। पहिलो हलमा नौ सय ६८ सिट छन्। दोस्रोमा चार सय ९८, तेस्रोमा एक सय ८० र एक सय ३५ सिट छन्।

१४ वर्षदेखि सुन्धारामा सञ्चालन भइरहेको सिने डी चिफ अर्थात् सीडीसी सिनेमाजमा दुईवटा पर्दा छन्। ठूलो पर्दामा १ सय ६९ र सानोमा ६० गरी जम्मा सिट संख्या २ सय २९ सिट छ।

पुरानै ढाँचामा अष्टनारायण

अधिकांश हलमा घरबाटै सिट रोजेर फिल्म हलमा जान सकिन्छ। टिकट दर डेढ सयदेखि १४ सय रुपैयाँसम्म पर्छ। अष्टनारायणमा भने टिकट काट्न हल परिसरमै पुग्नुपर्छ। हलका सञ्चालक सोहित मानन्धर भन्छन्, ‘हामीले अनलाइन टिकट प्रणाली लागू गरेका छैनौँ। हलमै आउनुपर्छ। फोनबाट पनि बुकिङ गर्ने व्यवस्था छ।’

अष्टनारायणमा दिउँसो दर्शकको चाप हुन्छ। पहिलेजस्तो ब्ल्याकमा टिकट बिक्री हुने अवस्था नरहेको उनले बताए। उनी भन्छन्, ‘कसको फिल्म हो? कलाकार कोको छन् बुझेरमात्रै दर्शक हलमा आउँछन्।’ विगतको तुलनामा फिल्म हेर्ने दर्शक निकै कम भएको उनको अनुभव छ।

‘पहिले जुनसुकै फिल्ममा पनि दर्शकको चाप हुन्थ्यो’, उनले भने, ‘अहिले दर्शक आफूलाई मन पर्ने फिल्ममात्र हेर्न हलसम्म आइपुग्छन्। समीक्षाका आधारमा पनि दर्शक फिल्म कस्तो छ भनेर आकलन गर्छन्।’ साथै दर्शकको रुचि प्रविधिसहितको आरामदायी सिटमा रहेको मानन्धर बताउँछन्।

सपिङ मलमा नयाँ मल्टिप्लेक्स हल खुलिरहँदा पुराना हल प्रतिस्पर्धामा हुनु स्वाभाविक मान्छन् उनी। ‘फिल्म हल सपिङ मलमा सञ्चालन भइरहेको छ। मलमा चाप बढ्नु स्वाभाविक हो’, मानन्धरले भने, ‘दर्शक पनि नयाँमा दौडिरहेका हुन्छन्।’ समयअनुसार हललाई अद्यावधिक गर्न सकियो भने व्यवसाय घाटामा नजाने उनी बताउँछन्।

सन्तुष्ट छैनन् हल सञ्चालक

हलमा नयाँ प्रविधि जडान गर्ने योजनामा छन् सीने डी चिफ अर्थात् सीडीसी सिनेमाजका सञ्चालक जीवन शाक्य। पुराना हल यथावत् राख्न नयाँ हलकै मोडलअनुसार चल्नुपर्ने स्थिति आएको उनी बताउँछन्। दर्शक आकर्षित गर्न अत्याधुनिक साउन्ड सिस्टम भित्र्याउने योजनामा छन् उनी। यसैगरी नयाँ सिट राख्न र टिकट दर घटाउन लागिएको उनले बताए।

‘पुरानालाई नयाँ हलसँग प्रतिस्पर्धा गरेर अगाडि बढ्नुपर्ने स्थिति छ’, शाक्य भन्छन्, ‘बाहिरबाट हेर्दा नयाँ हल चिटिक्क देखिन्छन्। दर्शकले फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्छन्।’

नयाँ हल सञ्चालनमा आएपछि पुराना हलको व्यवसाय कमी भएको उनको अनुभव छ। ‘नयाँ हल खुलेपछि दर्शक बाँडिए। पायक पर्ने र सुविधासम्पन्न हलतिर आकर्षित हुँदै गए’, उनी भन्छन्। शाक्यका अनुसार विगतमा बिहानी सोमा दर्शकको भीड हुन्थ्यो। अचेल दिउँसो १ बजेदेखि राति ८ बजेसम्म दर्शकको चाप हुन्छ।

‘पहिले हल संख्या कम थियो र अहिले हल धेरै छन् दर्शक कम’, उनी भन्छन्, ‘पहिले हल कम दर्शक धेरै थिए। अहिले दर्शक कम हल बढी छन्।’

व्यापार नभएकाले हल बन्द गर्नुपर्ने अवस्था आएको गुनासो सञ्चालकहरूको छ। फिल्म निर्माताहरू वर्षमा चार महिना फिल्म प्रदर्शन गर्न चाहँदैनन्। असार–साउन खेतीपाती लगाउने समय भएकाले र मंसिर–पुस जाडो हुने भएकाले निर्माताहरू फिल्म प्रदर्शन गर्न अघि नसर्ने हल सञ्चालकहरू बताउँछन्।

वर्षभरिको आम्दानी सन्तोषजनक नहुने हल सञ्चालकहरु बताउँछन्। सीडीसी सिनेमाजका सञ्चालक शाक्य भन्छन्, ‘वार्षिक खर्च जोडेर हेर्ने हो भने प्रायः हलहरु घाटामै छन्।’ सोचेजस्तो दर्शक तान्न नसक्दा व्यवसाय नाफामा नरहेको उनले बताए।

शाक्य भन्छन्, ‘एउटा हलबाट यतिनै आम्दानी र खर्च हुन्छ भनेर यकिन गर्न मुस्किल पर्छ। कर्मचारीलाई दिनुपर्ने रकमसहित अन्य थुप्रै खर्च भइरहेको हुन्छ।’
पहिलेजस्तो जुनसुकै फिल्म हलमा नचल्ने उनको अनुभव छ। ‘पहिले जस्तोसुकै फिल्म हलमा चल्थे। तर अहिले उत्कृष्ट फिल्ममात्र हलमा राम्रो आम्दानी गरिरहेको हुन्छ।’ उनले भने।

फिल्म चल्दा राम्रै आम्दानी हुने अष्टनारायण हलका व्यवस्थापक मानन्धर बताउँछन्। ‘फिल्म चलेका महिनामा राम्रै आम्दानी हुन्छ’, उनी भन्छन् ‘नचल्ने महिनामा त गाह्रो पर्छ।’ युट्युबलगायतका प्लेटफर्मको विकासले पनि हलमा दर्शकको कमी भएको अनुमान उनको छ।

फिल्म निर्माण शैलीमा परिवर्तन गर्नुपर्छ : रमेश बुढाथोकी

नयाँ हल खुले पनि व्यवस्थापन गर्न सजिलो छैन। फिल्म बनिरहेका छन् तर दर्शकको रोजाइमा नपर्दा व्यवसाय धरापमा पर्ने स्थिति छ। हलमा गएर नेपाली फिल्म हेर्ने दर्शकको संख्या घटिरहेको बताउँछन् फिल्म निर्माता, निर्देशक एवम् कलाकार रमेश बुढाथोकी। उनको बुझाइमा हलमा नयाँनयाँ प्रविधि भित्रिएका छन् तर फिल्म निर्माण शैली पुरानै छ।

‘फिल्मको कथा कापीको पन्नामा पढ्दा ‘आहा!’ भन्ने हुन्छ। निर्माता, निर्देशक तथा कलाकार चुकिरहेको पर्दामा पुगेपछि मात्रै देखिन्छ’, बुढाथोकी भन्छन्।
फिल्मको कथा बलियो हुँदा पनि हलमा दर्शक तान्न नसक्नु विडम्बनाको विषय भएको बुढाथोकी बताउँछन्। अब फिल्म बनाउँदा कथामात्र बलियो भएर नहुने र यसमा निर्माता, निर्देशक र कलाकार सबैले ध्यान दिनुपर्ने उनको सुझाव छ।

‘वर्षमा ५० भन्दा बढी फिल्म प्रदर्शन भइरहेका हुन्छन्। सुविधासम्पन्न हल हुँदा पनि निर्माताले सोचेबमोजिम फिल्मबाट लगानी उठाउन सकिरहेका छैनन्। दर्शकलाई मात्र दोष दिएर हुन्न। निर्माताले पनि ध्यान दिनुपर्ने हुन्छ’, बुढाथोकीले भने।

बुढाथोकी विगतको तुलनामा नेपाली फिल्म बन्ने, हेर्ने वातावरण परिवर्तन भएको बताउँछन्। ‘पहिले थोरै फिल्म बन्थे। धेरै दर्शकले रुचाउँथे। दर्शक एकपटक मात्र होइन एउटै फिल्म हेर्न तीनचार पटक हलमा पुगेको भनेर खुसी व्यक्त गर्थे’, उनले भने।

नेपाली र विदेशी गरी प्रत्येक वर्ष हलमा एक सय हाराहारीमा फिल्म प्रदर्शन भइरहेका हुन्छन्। तुलनात्मक रूपमा मूल्यांकन गर्ने हो भने हलमा नेपाली कम र विदेशी फिल्ममा दर्शकको संख्या बढी देखिन्छ।

बुढाथोकी भन्छन्, ‘मनोरञ्जनमा नयाँ प्रविधि भित्रिएका छन्। विगतको तुलनामा फिल्म पनि धेरै बनिरहेको छ। हलमा आरामदायी सिटसहित दर्शकका लागि पर्याप्त सुविधा छ।’ त्यसैले फिल्मको प्रस्तुतिमा बढी ध्यान दिनुपर्ने सुझाव उनको छ।

अहिले दर्शक बलिउड र हलिउड फिल्मतिर बढी आकर्षित हुन थालेको उनको बुझाइ छ। ‘नेपाली दर्शकले नेपाली फिल्ममा पनि विदेशी फिल्मकै स्वाद खोज्छन्’, उनले भने, ‘विदेशमा फिल्म निर्माणका लागि बजेट पर्याप्त हुन्छ। नेपालीले धेरै लगानीमा फिल्म बनाउन सक्दैनन्। बजार पनि सानो छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =