के हो ए लेभल, कहाँ पढ्ने? शुल्क कति लाग्छ?

हिमाल प्रेस २८ चैत २०८० १६:३३
366
SHARES
के हो ए लेभल, कहाँ पढ्ने? शुल्क कति लाग्छ?

काठमाडौँ- बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको पाठ्यक्रम र परीक्षा प्रणालीका आधारमा पढाइ हुने एड्भान्स लेभल (ए लेभल) १२ कक्षासरह मान्यता प्राप्त शैक्षिक तह हो। दुई वर्षमा पूरा हुने यो तहमा पछिल्लो समय नेपाली विद्यार्थीको रुचि बढ्दो छ।

पहिलो त ए लेभल अध्ययनपछि क्याम्ब्रिज, हार्भर्ड, एमआईटी, लन्डन स्कुल अफ इकोनोमिक्सजस्ता विश्वका चर्चित विश्वविद्यालयमा स्नातक अध्ययनको अवसर पाइने सम्भावना बढी भएकाले विद्यार्थीको आकर्षण देखिएको हो। अर्को कुरा, पाठ्यक्रम कक्षा ११/१२ को भन्दा केही लचक भएकाले विद्यार्थीले ए लेभल रुचाएको कलेज सञ्चालकहरू बताउँछन्।

साढे एक देशकदेखि ए लेभल पढाउँदै आएको काठमाडौँको ट्रिनिटी कलेजकी प्रशासन प्रमुख संयोजक अर्चना श्रेष्ठ विषय छनोटमा लचक भएकाले यसमा विद्यार्थीको रुचि देखिएको बताउँछिन्।

ए लेभलमा विद्यार्थी आफैँले विषय छनोट गर्न पाउँछन्। विषय मिलाएर पढ्न उनीहरू स्वतन्त्र हुन्छन्। विषय छनोट गर्दा एकापसमा सम्बन्धितचाहिँ हुनुपर्छ। जस्तै : मेडिकल फिल्डमा जान चाहने हो भने भौतिक विज्ञान, रसायन विज्ञान र जीवविज्ञान छान्नुपर्छ। इन्जिनियरिङमा जान चाहनेले भौतिक विज्ञान, रसायन विज्ञान र गणित छान्नुपर्छ। मानविकी पढ्न चाहनेले समाजशास्त्र, अर्थशास्त्र, मनोविज्ञान रोज्न सक्छ।

‘१० वर्षअघिको तुलनामा ए लेभल पढ्न चाहने विद्यार्थीको संख्या दोब्बर बढेको छ’, ब्रिटिस कलेजका ए लेभल लिडर राजन राई भन्छन्। विद्यार्थी आकर्षित हुनुमा उनले दुई कारण देखेका छन्। पहिलो, विद्यार्थीमा कक्षा १२ को पढाइ सकेपछि उच्च शिक्षा अध्ययनका लागि विदेश जानुपर्छ भन्ने सोचाइ छ। अधिकांशले त्यहीअनुसार योजना बनाइरहेका छन्। अन्तर्राष्ट्रिय पाठ्यक्रम भएकाले युरोप, अमेरिका, अस्ट्रेलियाका विश्वविद्यालयमा सहजै स्नातकमा भर्ना हुन ए लेभल पढ्दा सजिलो हुने बुझाइ विद्यार्थीमा छ।

ए लेभलमा मानविकी, व्यवस्थापन र विज्ञान संकायमध्येबाट चारवटा विषय छनोट गरेर पढ्न पाइन्छ। नेपालमा १८ वटामध्येबाट छानेर चारवटा विषय पढ्नुपर्ने हुन्छ। त्यसमध्ये एउटा भाषाको विषय हुन्छ। नेपाली कलेजहरूमा जनरल पेपरअन्तर्गत अंग्रेजी अनिवार्य गरिएको छ।

न्यूनतम तीनवटा विषय लिनैपर्छ। भाषाको एउटासहित पहिलो वर्षमा चारवटा विषय र दोस्रो वर्ष तीनवटा विषय पढे पुग्छ। दुई वर्षमा गरी सात विषयमा स्कोर ल्याएपछि विश्वविद्यालय शिक्षाका लागि विद्यार्थी योग्य बनिन्छ।

विद्यार्थीले अलगअलग संकायका विषय पढ्न पाउनु यसको अर्को विशेषता हो। एउटा विद्यार्थीले अनिवार्य अंग्रेजीका साथै विज्ञानको भौतिकशास्त्र, मानविकीको समाजशास्त्र र व्यवस्थापनको लेखा पढ्न पाउँछ। यसपछि स्नातकमा जुन संकाय पढ्न पनि विद्यार्थीलाई सहज हुन्छ।

ए लेभलको पाठ्यक्रम निर्धारण, शिक्षण, परीक्षा र ग्रेडिङ प्रणाली सबै क्याम्ब्रिज विश्वविद्यालयले तय गर्छ। परीक्षा प्रत्येक वर्ष दुईपटक मे/जुन र अक्टोबर/नोभेम्बरमा विश्वभर एकसाथ हुन्छ। परीक्षा भएको ६ देखि ७ हप्ताभित्र विश्वभर एकसाथ नतिजा प्रकाशित हुन्छ।

परीक्षा पनि ६/६ महिनामा हुने भएकाले विद्यार्थीलाई सहज हुन्छ। ए लेभलमा तयारी छैन भने म यस वर्ष योचाहिँ विषयको परीक्षा दिन्नँ भन्न पाइन्छ। ए लेभलमा कुन विषयमा कुन ग्रेड ल्याएर उत्तीर्ण भयो भनेर मात्रै हेर्छ विश्वविद्यालयले।

ए लेभलमा विद्यार्थीलाई विषयवस्तुको गहिराइ बुझाउँदै विश्लेषणात्मक ढंगले अध्ययन गराइने दाबी कलेज सञ्चालकहरूको छ। वैज्ञानिक पाठ्यक्रम, व्यावहारिक शिक्षा, विश्वस्तरको मान्यता र उत्कृष्ट नतिजाका कारण पनि ए लेभल धेरैको रोजाइमा पर्ने गरेको श्रेष्ठले बताइन्। ए लेभलको कक्षामा प्रयोगात्मक अभ्यास, छलफल, सामूहिक क्रियाकलाप, अनुसन्धान, प्रस्तुतीकरण, समसामयिक अध्ययनलगायतका शैक्षिक क्रियाकलापमा निरन्तर सहभागी हुनुपर्छ। यसरी उनीहरू सिक्दै पढ्ने अवसर पाउँछन्।

१० कक्षा वा सोसरहको परीक्षा उत्तीर्ण गरेकाले ए लेभल पढ्न पाउँछन्। धेरै सुविधा र पूर्वाधारका कारण ए लेभल महँगो पर्छ। कक्षा कोठा व्यवस्थापन, प्रयोगशाला, पुस्तकालयजस्ता पूर्वाधार क्याम्ब्रिजको मापदण्डअनुसारको हुने भएकाले महँगो हुने गरेको हो।

दुई वर्षको कार्यक्रमका लागि कलेज हेरीहेरी शुल्क तोकिएको पाइन्छ। थोरैमा आठ लाख र धेरैमा २० लाख रुपैयाँसम्म शुल्क लिने कलेज राजधानीमा सञ्चालित छन्। कुनैले नौ, कुनैले १०, कुनैले १२ लाख र कुनैैले १६ लाख रुपैयाँसम्म लिने गरेका छन्। झम्सिखेलस्थित ब्रिटिस स्कुलमा र काठमाडौँ इन्टरनेसन स्टडी सेन्टरमा दुई वर्षको २० लाख रुपैयाँ खर्च हुन्छ। जेम्स, ब्रिटिस कलेज, एलएजस्ता कलेजमा आठदेखि १० लाख रुपैयाँसम्म खर्च हुन्छ।

ए लेभल कुनकुन कलेजमा पढाइन्छ भनेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूची नै सार्वजनिक गरेको छ। मन्त्रालयले सूचीबाहेकका कलेज/शिक्षण संस्थाहरूमा आफ्ना बालबालिकालाई भर्ना नगर्न- नगराउन अभिभावकलाई अनुरोध गरेको छ।

साथै अनुमति नै नलिई सञ्चालनमा रहेका भएमा यस प्रकारका कलेज र शिक्षण  संस्थाहरूलाई प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी पनि शिक्षा मन्त्रालयले दिएको छ। नेपालमा ३० वटा शिक्षण संस्थामा ए लेभल पढाइ हुन्छ।

यी हुन् ए लेभल पढाइ हुने कलेज

प्रकाशित: २८ चैत २०८० १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =