नुन किन्‍न नागरिकता अनिवार्य

हिमाल प्रेस २६ चैत २०८० १४:०२
2
SHARE
नुन किन्‍न नागरिकता अनिवार्य कबि

हुम्ला- हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नागरिकता पेस गर्दा १० किलो नुन पाउँदै आएका छन्।

सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकलाई १० किलोका दरले नुन वितरण गर्दै आएको हो।

उनीहरूलाई नागरिकताको आधारमा प्रतिव्यक्ति १० किलो नुन वितरण गर्दै आइएको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताए।

उनका अनुसार एक जनाबाट ९० रुपैयाँ लिने गरिएको छ। ‘यसरी प्रतिकिलो नौ पर्दछ। एक बोरामा पचास प्याकेट नुन हुन्छ। त्यसको मूल्य चार सय ५० मा बिक्री हुँदै आएको छ’, उनले भने।

प्रमुख लामाका अनुसार प्रत्येक साताको आइतबार शाखा कार्यालयको वितरण केन्द्रमा नागरिकता पेस गरेपछि नुन वितरण गरिन्छ। सदरमुकाम सिमकोटमा तीन पालिकासहित जिल्लाभरका नागरिक बसोबास गर्दै आएकाले वार्षिक कोटाले अपुग हुने देखिएपछि नागरिकताको आधारमा १० किलो वितरण गर्न थालिएको उनको भनाइ छ।

लामाका अनुसार आर्थिक वर्ष २०८०र८१ का लागि जिल्लामा एक हजार पाँच सय क्विन्टल नुन आइपुगेको छ। जिल्लामा आइपुगेको नुन सम्बन्धित पालिकाका जनप्रतिनिधिको जिम्मा दिएर वितरण गरिने उनले बताए।

झण्डै १८ दिन बसेर दक्षिण भेगमा रहेका पालिकाका नागरिकलाई नुन वितरण गरिएको भन्दै चंखेली गाउँपालिकामा तीन सय ८७, सर्केगाडमा चार सय ८५, अदानचुलीमा चार सय ८५ र ताँजकोटमा चार सय क्विन्टल नुन वितरण जानकारी दिए।

जिल्लामा पछिल्लो समय ढिके नुनको प्रयोग हट्दै गएको लामाले बताए। चंखेली–५ को नेप्का र उत्तरी नाम्खा–६ को लिमिमा मात्रै ढिके नुनको प्रयोग हुँदै आएको उनले जानकारी दिए।

जिल्लाका अन्य स्थानीय तहमा रहेका वडामा ढिके नुनको प्रयोगमा कमी हुँदै गएको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =