प्रधानमन्त्रीले गरे नेपाल-कोरियाको जुगल हिमाल आरोही संयुक्त टिमलाई विदाइ

हिमाल प्रेस २४ चैत २०८० ११:३३
4
SHARES
प्रधानमन्त्रीले गरे नेपाल-कोरियाको जुगल हिमाल आरोही संयुक्त टिमलाई विदाइ

काठमाडौँ- जुगल हिमालको आरोहण गर्न लागेको नेपाल-दक्षिण कोरियाको संयुक्त टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरी बिदाइ गरेका छन्।

तीन नेपाली र सात जना कोरियाली नागरिक सहभागी टिम आजै जुगल हिमालतर्फ जाने नेपाल पर्वतारोहण संघले जानकारी दियो। सिन्धुपाल्चोक जिल्लास्थित जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा गर्न लागिएको हो। जुगल काठमाडौँबाट सबैभन्दा नजिक पर्ने हिमालसमेत हो।

संघका महासचिव मोहन लम्सालले जुगल हिमाल आरोहणको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा योगदान गर्ने विश्वास व्यक्त गरे। उनले पर्यटन कूटनीतिसँग पनि जोडिएकाले यो आरोहणलाई निकै महत्वका साथ हेरिएको उल्लेख गरे।

विसं २०७९ चैत २८ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्को बैठक) ले सिन्धुपाल्चोकस्थित जुगल हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको थियो। जुगल हिमाल क्षेत्रका पाँच वटा हिमाल आरोहणका लागि खुला गरिएको छ । ‘यो आरोहण नेपाल र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा समेत गर्न लागिएको छ’ जारी विज्ञप्तिमा भनिएको छ।

आरोहण टोलीमा कोरियाली विख्यात आरोही तथा नेपालका मानार्थ नागरिक अमहोङ गिलले नेतृत्व गर्नेछन् भने नेपालको तर्फबाट कीर्तिमानी आरोही तथा सङ्घका प्रथम उपाध्यक्ष दावा याङ्जुम शेर्पाले नेतृत्व गर्ने जनाइएको छ।

यो टोलीले १३ वैशाख २०८१ मा चुचुरो चढी काठमाडौँ फर्कने योजना बनाएको छ । यो आरोहणलाई नेपाल सरकार, पर्यटन बोर्डले समेत सहयोग गर्ने जनाइएको छ। यसअघि सरकारले उक्त हिमाल आरोहणमा लाग्ने रोयल्टी दस्तुर मिनाहा गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 12 =